बलात्कार आरोपित सशस्त्रका एसएसपी पुर्पक्षका लागि थुनामा

समाधान संवाददाता २०७७ साउन २७ गते १७:१२

ईश्वर देवकोटा, पोखरा

बलात्कार आरोपित सशस्त्र प्रहरीका एसएसपी राजेन्द्रप्रसाद अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत कास्कीले आदेश गरेको छ । सोमबार र मंगलबार गरी २ दिनसम्म चलेको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दीपककुमार खरेलको इजलासले अधिकारीलाई थुनामा पठाउन आदेश गरेको हो ।

जिल्ला न्यायाधिवक्ताको तर्फबाट सोमबारै बहस सकिएपनि प्रतिवादी तर्फका ६ जना अधिवक्ताको बहस लामो भएका कारण मंगलबारसम्म चलेको थियो ।

Advertisement

‘मिसिल संलग्न तत्काल बुझेका प्रमाण काजगहरुसमेतबाट यी प्रतिवादी निर्दोष रहेछन् भन्ने विद्यमानता नहुँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने नै हुँदा हाल प्रतिवादी राजेन्द्र अधिकारीलाई मुलुकी फौजदारी संहिता २०७४ को दफा ६७ (१) बमोजिम मुद्दा पुर्पक्षको लागि थुनामा राख्न सोही संहिताको दफा ८० बमोजिमको थुनुवा पुर्जी दिई जिल्ला कारागार कास्कीमा पठाइएको,’ आदेशमा भनिएको छ ।

सरकारी वकिलको कार्यालय कास्कीका तर्फबाट जिल्ला न्यायाधीवक्ता गुरुप्रसाद वाग्ले, सहायक जिल्ला न्यायाधीवक्ताद्वय पूर्णप्रसाद शर्मा र महेन्द्रप्रसाद अधिकारीले बहस गरेका थिए ।

Advertisement

एसएसपी अधिकारीविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले अधिकतम् २१ वर्षसम्म सजाय माग गर्दै आइतबार अभियोगपत्र जिल्ला अदालतमा दायर गरेको गरेको थियो ।

मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा २ (ङ) अनुसार ७ देखि १० वर्ष कैद सजाय माग गरिएको र त्यसमा पनि संहिताको दफा २२३ को उपदफा २ को (१) बमोजिम ४ वर्षसम्म थप कैद मागदाबी गरिएको सहायक जिल्ला न्यायाधीवक्ता पूर्णप्रसाद शर्माले जानकारी दिए ।

‘सरकारी कार्यालयमा कसूर गरेकाले ४ वर्षसम्म थप सजाय मागदाबी गरिएको हो,’ उनले भने, ‘अपर दाबी २१ वर्षसम्म गरिएको छ । तल भनेको साढे १६ वर्षसम्म हुन्छ ।’

फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १५ को उपदफा २ (ङ) अनुरुप डेढी सजाय हुने व्यवस्थासहित ३ अभियोग दर्ता गरिएको हो । सरकारी कर्मचारीसहित उच्च पद धारण गरेको व्यक्तिलाई डेढी सजाय हुने व्यवस्था छ । क्षतिपूर्ति मनासिव दाबी गरिएको उनले बताए ।

‘वादी पक्षले थुनामा राखी कारवाही गर्नुपर्छ भन्ने बहस भयो । प्रतिवादीले साधारण तारेखमा राखेर मुद्दाको कारवाही पुर्पक्ष गरिपाउँ भन्ने बहस भयो,’ उनले भने । मुद्दाको प्रतिवादीतर्फबाट ६ जना अधिवक्ताले बहस गरेका थिए ।

कास्की प्रहरीले गत शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धानसहितको प्रतिवेदन बुझाएको थियो । ३ पटकसम्म जिल्ला अदालतबाट म्याद थप लिई कास्की प्रहरीले अनुसन्धान टुंग्याएको थियो ।

असार ३१ गते चितवनकी १ महिलालाई एसएसपीले सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखराको कार्यालयमा खाना खान बोलाएर बलात्कार गरेको आरोपसहित कास्की प्रहरीको कन्ट्रोल रुममा मौखिक रिपोर्ट दिएकी थिइन् ।

सोही दिन तत्कालै उनलाई कास्की प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको थियो ।

तपाईको प्रतिक्रिया