पाेखरामा स्कुटर चोर्ने गिरोह पक्राउ

समाधान संवाददाता २०७७ साउन २९ गते २०:०९

समाधान संवाददाता, पोखरा

पोखराका विभिन्न स्थानबाट स्कुटर चोरी गर्ने गिरोहलाई कास्की प्रहरीले पक्राउ गरेको छ । बुधबार दिउँसो १ बजे स्कुटर चोरेर भाग्दै गरेको अवस्थामा लेखनाथ क्षेत्रबाट गिरोहका ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट २ वटा चोरीका स्कुटर र ५ थान मोबाइल सेट बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी एवं प्रवक्ता सुवास हमालले जानकारी दिए ।

Advertisement

‘मोटरसाइकल र स्कुटर चोरी भएको सूचनाको आधारमा हामीले मातहतका इलाका प्रहरीलाई सर्कुलर गरिरहेका थियौं,’ उनले भने, ‘सोही क्रममा बुधबार इलाका प्रहरी कार्यालय डाँडाकोनाकको टोलीले स्कुटर चोरेर भाग्दै गरेको अवस्थामा पक्रन सफल भयो ।’

पक्राउ पर्नेमा गोरखा घर भएका पोखरा ३ नदीपुर बस्ने १९ वर्षीय सन्दीप श्रीमल र अन्य २ जना १५÷१५ वर्षीय किशोर रहेको प्रवक्ता हमालले जानकारी दिए । नाबालक भएकाले प्रहरीले २ जनाको परिचय सार्वजनिक नगरेको हो ।

Advertisement

चोरी भएका स्कुटरमध्ये ग६प ६३४२ नम्बरको स्कुटर पोखरा १२ फुलबारी सफामार्गबाट बरामद भएको थियो । ग१७प ३०५१ र ग५प ३९१५ नम्बरको स्कुटर पोखरा २६ बुढीबजारबाट बरामद गरेको प्रहरीले जनाएको छ ।

ग६प ६३४२ नम्बरको रातो डियो स्कुटर पोखरा ४ गणेशटोलकी सुकमाया कामीको घर कम्पाउन्डबाट साउन २५ गते बिहान ११ बजे चोरी भएको थियो । उक्त स्कुटर ज्ञानकुमारी गुरुङको नाममा रहेको प्रहरीले जनाएको छ । ग१७प ३०५१ नम्बरको रातो डियो स्कुटर साउन २६ गते राति १० बजे पोखरा ४ रामकृष्ण टोलबाट चोरी भएको थियो । उक्त स्कुटर धनमाया गुरुङको रहेको प्रहरीले जनाएको छ ।

बुढीबजारमै फेला परेको ग५प ३९१५ नम्बरको डियो स्कुटर साउन २८ गते राति साढे १२ बजे पोखरा ११ प्रगतिटोलबाट चोरी भएको थियो । उक्त स्कुटर सिर्जना मल्ल ठकुरीको रहेको कास्की प्रहरीले जनाएको छ ।

पक्राउ परेका ३ जनाविरुद्ध चोरी तथा डाँका कसूर अन्तर्गत अनुसन्धान गर्न कास्की जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी हिरासतमा राखिएको कास्की प्रहरी प्रवक्ता हमालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया