घरका ९ जना बिते, उनलाई कसरी सुनाउने ?

समाधान संवाददाता २०७७ असोज ८ गते २१:२४

अनुप आत्रेय
पोखरा, ८ असोज

कुन बेला घर पहिरोले निल्छ थाहा थिएन । त्यही डरले रात परेपछि ओत लाग्न कहिले छिमेक, कहिले आडैको विद्यालयमा बस्थे । बुधबारको रात जोखिम मोलेरै बस्ने निधो गरे । राति सबै मिलेर खाना खाए । गफैगफमा रात ढल्कँदै गयो । आकाश उज्यालिने बेला सुत्ने निधो गरे । वालिङ १४ तमादीकी ४८ वर्षकी माया परियारसहित १० जना एउटै घरमा सुतेका थिए ।

मायाकी बहिनी उमाकला पाहुना आएको ३ दिन भएको थियो । काइँला छोरा कुलदीप कामको सिलसिलामा परिवारसहित बुटवल जाने तयारीमा थिए । कुलदीप र विनीताको विवाह भएको ३ वर्षमात्रै पुगेको थियो । ६ महिनाका छोरा थिए ।

Advertisement

कान्छी आमा सानी पनि सँगै बस्थिन् । बुवा धनबहादुरको ९ वर्ष पहिल्यै मृत्यु भइसकेको थियो । धनबहादुरले मायाको पेटमा भएको बच्चा काखमा लिन पाएनन् । उनले धर्ती छोडेर किरिया गर्दा जन्मेका विवश पनि ९ वर्षका भइसके ।

हाँसीखुसी सुतेका १० जनामध्ये ९ जना एकाबिहानै आएको पहिरोमा पुरिए । मायाकी कान्छी छोरी मनीषा भाग्यले बाँचिन् । उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ । बिहान साढे ५ बजे निद्राले छोडेपछि उनी ढोकासम्म आइपुगेकी थिइन् । एक्कासि केही खसेजस्तो आवाज सुनिन् ।

Advertisement

‘पानी भर्न उठेकी थिएँ । ढोकामा आउनेबित्तिकै पहिरो गयो । मम्मी र छ्यामा पनि उठ्नुभएको थियो,’ मनीषाले बिहीबारको बिहान सम्झिइन् । २ आमा, सानिमा, २ दाइ, २ भाइ, भाउजु र ६ महिने भदाको अवस्थाबारे उनी बेखबर छिन् ।

दाहिने खुट्टामा चोट बोकेकी मनीषालाई कसैले केही भनेका छैनन् । बिहान पहिरोबाट निकाल्दा उनलाई घरको जस्ताले थिचेको थियो । ‘एक्कासि पहिरो खस्यो । खुट्टा ढुंगाले थिचेको थियो । ममाथि टिन थियो । तर त्यसले केही भएन,’ मनीषाले सुनाइन् ।

खुट्टामा चोट लागेकी मनीषालाई परिवारको सदस्य कहाँ छन् भन्ने चिन्ताले सताइरहेछ । कुरुवा बसेकी मामाकी छोरी कमलालाई मनीषा सोधिरहन्छिन्– घर अरुलाई के भयो होला ? घर केही नभएको भनेर कमला मनीषाको मन बुझाउँछिन् ।

पहिरोले वितन्डा मच्चाएको खबर सुन्दा कमला झसंग भइन् । वालिङ बस्ने उनलाई भाउजु नाता पर्नेले फोन गरेर घटना सुनाएकी थिइन् । फेरि आफ्नै दाइले फोन गरे ।

वालिङमा उपचार गराइरहेकी मनीषाको कुरुवा बस्न जानुपर्ने भएपछि उनी पोखरा आइन् । डाक्टरले भनेको औषधी लिएर ओहोरदोहोर गरिरहेकी उनी बिहानैदेखि भोकै थिइन् ।

अस्पतालमा कति दिन काट्नुपर्ने हो भन्ने अझै थाहा छैन । उनलाई लागिरहन्छ– मनीषालाई मृत्युको खबर कसरी सुनाउने ! घाइते मनीषाका माइलो दाइ भोजराज बम्बई छन् । ‘दाइ दसैंमा आउँछु भन्नुभएको थियो,’ मनीषाले सुनाइन् । भर्खर एसइई दिएकी उनी गाउँकै स्कुलमा कमर्स पढ्ने सोचमा छिन् ।

पहिरोको जोखिममा रहेपछि स्थानीय सरकारलाई त्यहाँका बासिन्दाले जानकारी गराइरहेका थिए । तर कसैले वास्ता गरेनन् । घरसँगै जोडिएको सडकले बिहीबार बिहानै ९ जनाको ज्यान लियो । वालिङ र पर्वतको हुवास जोड्ने सडकसँग जोड्ने गरी त्यहाँ अर्को बाटो बनाइँदै छ ।

‘त्यो पहिल्यै जोखिमपूर्ण ठाउँ हो । त्यो बाटोलाई अहिले माथि अर्को बाटोमा जोडिएको छ । त्यो बाटो पर्वतको हुवास पुग्छ,’ स्थानीय राजु खनालले भने, ‘अरु २ वटा घर छन् । ती पनि जोखिममा छन् ।’

सम्बन्धित निकायले अझै ध्यान नदिए त्यहाँ भएका अरु २ घरले दुर्घटना व्यहोर्नुपर्ने खनालले बताए । तमादी गाउँ भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालको माइती हो । ‘दुर्घटना हुनसक्ने भनेर सम्बन्धित ठाउँमा भनेका थियौं । यो विकासँगै निम्तिएको विनाश हो,’ खनालले भने, ‘मन्त्रीज्यूको घर १ सय मिटर टाढा पनि छैन ।’

वालिङ १४ का वडाध्यक्ष झम्मरबहादुर श्रेष्ठले त्यहाँ पहिला पनि पहिरो खस्ने गरेको र जोखिम रहेको सुनाए । ‘बाटोमुनि घर छ । नजिकै पानीको मुहान पनि छ । जोखिम भएकाले कहिलेकाहीँ अरुकोमा पनि बस्ने रहेछन् । पाहुना आएकाले हिजो त्यहीँ बसेछन्,’ वडाध्यक्ष श्रेष्ठले भने ।

पहिरोमा पुरिएर ४८ वर्षे माया परियार, ३० वर्षे दीपक परियार, ६० वर्षे सानी परियार, ९ वर्षे विवश परियार, १४ वर्षे विक्रम परियार, १९ वर्षे विनीता परियार, २१ वर्षे कुलदीप परियार, कुलदीपका छोरा कविर र २७ वर्षकी उमाकला परियारको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका डिएसपी राजेन्द्रबाबु रेग्मीले बताए ।

बिहीबार नै स्याङ्जामा भएको अर्को पहिरोको घटनामा १६ वर्षे किशोरको मृत्यु भएको छ । कालीगण्डकी गाउँपालिका ४ गौतमडाँडाका विष्णुबहादुर परियार (दमै) को पहिरोमा पुरिएर मृत्यु भएको स्याङ्जाका प्रहरी प्रवक्ता एवं डिएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

साढे ३ महिनामा १२६ को मृत्यु

मनसुन सुरु भएपछि गण्डकी प्रदेशमा बाढीपहिरोका घटनामा परेर १ सय २६ जनाको ज्यान गएको छ । जेठ २७ पछि बुधबारसम्म प्रदेशका १० जिल्लामा भएका घटनामा ६३ पुरुष र ६३ महिलाको ज्यान गएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

ती घटनामा हराएका २३ जना अझै नभेटिएको कार्यालयकी सूचना अधिकारी एवं एसएसपी किरण रानाले जानकारी दिइन् । पहिरोले सबैभन्दा धेरै बागलुङमा ३६ जनाको ज्यान लिएको छ । म्याग्दीमा ३१, स्याङ्जामा १५, तनहुँमा १३, कास्कीमा ११, पर्वतमा १०, लमजुङमा ४, गोरखामा ३, नवलपुरमा २ र मुस्ताङमा १ जनाले ज्यान गुमाएका छन् ।

बागलुङका १६, म्याग्दीका ५, स्याङ्जा र गोरखाका १ जना बेपत्ता भएको एसएसपी रानाले जानकारी दिइन् । बाढीपहिरोका घटनामा ८९ जना घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया