पदयात्रा खुल्यो, व्यवसायीको दिल खुलेन

समाधान संवाददाता २०७७ असोज १६ गते १०:२४

घान्द्रुकले पर्यटन नभित्र्याउने, मर्दीमा आन्तरिक पर्यटक लक्षित प्याकेज
पर्यटकले बढीमा ७२ घन्टाअघिको पिसिआर परीक्षण रिपोर्ट देखाउनुपर्ने, गाइडसहित आफ्नो पनि बिमा गर्नुपर्ने झन्झट

अनिष भट्टराई, पोखरा

कोरोनाको त्रास हुँदैनथ्यो भने यति बेला घान्द्रुकका होटल भरिभराउ हुन्थे । स्वदेशी र विदेशी पर्यटकको चहलपहल हुन्थ्यो ।

Advertisement

अन्नपूर्ण पदयात्रामा निस्केका पदयात्रीले त्यहाँको माहोल जमाउँथे ।चैतदेखि घान्द्रुकले कुनै पनि पर्यटकलाई आतिथ्यता दिन पाएको छैन ।

पर्यटकको चहलपहल छैन, गाउँ सुनसान जस्तै छ । व्यवसाय चौपट छ, आम्दानी छैन ।

Advertisement

सरकारलेमंगलबार पर्वतारोहण र पदमार्गमा यात्राका लागि अनुमति दिने निर्णय ग¥यो । तर अन्नपूर्ण फेरो पदयात्रा अन्तर्गत पर्ने गाउँघान्द्रुक भने ती पाहुनालाई आतिथ्यता दिन तयार छैन ।

कोरोना त्रासका कारण व्यवसायको माया मार्न घान्द्रुकेली बाध्य छन् । सरकारले पदमार्ग र पर्वतारोहण खोलेपनि घान्द्रुकका ५ दर्जन होटल व्यवसायीले गाउँमा पर्यटक आउन नदिने सामूहिक निर्णय गरेका छन् ।

घान्द्रुकको होटल गुरुङ केटका सञ्चालक किसन गुरुङ गाउँमा कोरोना फैलिन नदिन कुनै पर्यटकलाई सेवा नदिने निर्णय गरिएको बताउँछन् ।

‘गाउँमा वृद्ध बुबाआमा धेरै हुनुहुन्छ, हामी पर्यटक बोलाएर उहाँहरु माथि कुनै खतरा बढाउन चाहन्नौँ,’ गुरुङले भने, ‘उहाँहरुका लागि हामीले व्यवसायको माया मारेका छौँ । हामी बाँचे पो हाम्रो व्यवसाय बाँच्ला ।’

घान्द्रुकका होटल व्यवसायीले असोजभर होटल खोल्नेछैनन् । कात्तिकमा खोल्ने नखोल्ने बारे बैठक बसेर निर्णय गर्ने गुरुङले बताए । ‘हामी पनि पर्यटक मिस गरेका छौँ, तर स्वास्थ्यमाथि खेलवाड गर्दैनौँ । थप एक महिना बन्द रहेर ज्यान जोगिन्छ भने बन्दै गर्छाैं,’ गुरुङले भने ।

सरकारले मंगलबार स्वीकृत गरेको पर्वतारोहण तथा पदयात्रामा नेपाल आउने पर्यटकले पालना गर्नुपर्ने सर्तसम्बन्धी मापदण्ड २०७७अनुसार नेपाल भित्रिएका पर्यटकले बढीमा ७२ घन्टाअघिको कोरोनाको पिसिआर परीक्षण देखाउनुपर्नेछ ।

नेपाल आउने विदेशी पर्यटकलाई अनअराइभल भिसा दिइनेछ । उनीहरुले ७ दिन क्वारेन्टिनमा बस्नुपर्ने र ५ हजार अमेरिकी डलर बराबरको बिमा गरिएको हुनुपर्ने प्रावधान छ।

होटल क्वारेन्टिनमा रहँदा पाँचौं दिन कोरोना परीक्षणपछि नेगेटिभ रिपोर्ट देखाउनुपर्नेछ । पर्यटकले गाइडको समेत प्रतिव्यक्ति १ लाख रुपैयाँको कोरोना बिमा गर्नुपर्नेछ।

सरकारका यी मापदण्डले भने व्यवसायीमा निराशा छाएको छ । यसैकारण मर्दी हिमाल पदमार्गका होटलका व्यवसायी भने विदेशी पर्यटक आउलान् र व्यापार बढ्ला भन्ने नलागेको बताउँछन् ।

सरकारले विदेशबाट आउने पयर्टकका लागि धेरै सर्त राख्दा विदेशी पर्यटकलाई मार पर्ने र उनीहरु नेपाल आउन नचाहने मर्दी पदयात्राका होटल व्यवसायी सुदीप गौतमले बताए ।

‘पर्यटकलाई सरकारको सर्तले मार पार्ने निश्चित छ, यसले हामी व्यवसायीलाई निराश गरायो,’ उनले भने,‘बन्द कोठामा बस्न पर्यटक आउँदैनन्, आन्तरिक पर्यटनमा पनि समस्या छ ।’

मर्दी पदमार्गका व्यवसायीले विदेशी पर्यटक नआउने भन्दै आन्तरिक पर्यटक लक्षित प्याकेज असोज मैसार्वजनिक गर्ने भएका छन् । मर्दी क्षेत्रमा पर्यटक लक्ष्य गर्दै खोलिएका होटल अहिले बन्द छन् ।

ती होटलमा कोही पनि नबस्ने भएकाले सञ्चित गरी राखिएका सामान बिग्रिएका छन् । राम्रा सामान चोरिने डर व्यवसायीमा छ । ‘भएका सामान चोरीको खतरा छ, व्यवसाय सञ्चालनका लागि आन्तरिक पर्यटन लक्षित प्याकेज ल्याउँछौं,’ गौतमले भने।

यसअघि पर्यटन विभागले ल्याएको प्रोटोकलले आफूहरुलाई समस्या पारेको गौतमले सुनाए ।

प्रोटोकल केवल तारे होटलका लागि लक्षित देखिएको र हिमाली भेगका होटललाई नसमेटेको उनको गुनासो छ ।

प्रोटोकल अनुसार एउटा पर्यटकले कोठा छाडेको २४ घन्टा खाली राखेर स्यानिटाइज गर्नुपर्नेछ भने ‘स्वाइप मनी’ को प्रयोग गर्नुपर्नेछ ।

‘थोरै कोठा भएका होटल र हिमाली भेगका होटलमा स्वाइप मनी सम्भव छैन, प्रोटोकलको केही बुँदा सुधार्नुपर्छ,’ गौतमले भने ।

नेपालमा पदयात्राका लागि सेप्टेम्बर देखि नोभेम्बर र फेब्रुअरीदेखि अप्रिलको समय उपयुक्त मानिन्छ ।

अन्नपूर्ण र मर्दी जस्ता पदमार्गमा भारत, इजरायल, जर्मनी, तथा फ्रान्सका बढी पर्यटक आउँछन् । ती पर्यटकले पोखरामा साढे २ दिन बस्ने र गण्डकीका सबै पर्यटकीय स्थलमा गरी पर्यटकको बसाइ १ हप्ताको हुन्छ ।

सरकारले पदयात्रा र पर्वतारोहणका लागि अनुमति दिएपछि ‘इन्क्वायरी’ गर्ने पर्यटकको संख्या उल्लेख्य रहेको ट्रेकिङ एजेन्सिस अफ नेपाल, (टान)पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेलले बताए ।

अघिल्लो वर्ष टानमार्फत ५६ हजार ८ सय ५३ जना पर्यटकले सेवा लिएका थिए । अहिले त्यसको २० प्रतिशत पर्यटकले अनलाइनमार्फत इन्क्वायरी गरेको उनले जनाए ।

तर सरकारले राखेको मापदण्डले अनुमति दिएपनि बन्द गरिएको जस्तो भान पर्यटकमा पारेको उनको बुझाइ छ ।

‘राजतन्त्र फालेर हिमागृहमा जान बन्धित गरेझैँ, सरकारले पदयात्राका लागि अनुमति दिएपनि झन्झट सिर्जना ग¥यो,’ उनले भने ।

इन्क्वायरी आएपनि होटल तथा अन्य पर्यटनका जनशक्ति कास्की बाहिर रहेकाले उनीहरुलाई पूर्ण जानकारी दिन नसकिएको उनले बताए ।

अहिले टानमा १ सय ६० कम्पनीले पर्यटकका लागि सेवा दिन आवद्ध छन् । यसले ७ महिनादेखि थलापरेका पर्यटन व्यवसायीलाई केही राहत दिएको बताए ।

कुनै ठाउँका व्यवसायीले पर्यटक भित्र्याउन नचाहे पर्यटकलाई क्याम्पिङको विकल्प दिन सकिने उनी बताउँछन् ।

फाइल फोटो

तपाईको प्रतिक्रिया