काम सकिनुपर्ने बेला ठडिँदै आकाशे पुलको पिल्लर

समाधान संवाददाता २०७७ असोज २३ गते २०:५५

अनुप आत्रेय, पोखरा

प्रहरी भन्छ – पोखरमा दैनिक साढे ३ लाख हाराहारीमा गाडी गुड्छन् । ट्राफिक कार्यालय कास्कीको तथ्यांकअनुसार पृथ्वीचोकमा लकडाउनअघि पिक आवरमा (बिहान ९–१०) १२ हजारसम्म गाडी गुड्थे ।

अहिले दैनिक गुड्ने सवारीको चाप ३० प्रतिशत कम रहेको जिल्ला ट्राफिक कार्यालय, कास्कीका प्रमुख इन्स्पेक्टर सन्तोष रोका बताउँछन् ।

Advertisement

विद्यालयका गाडी, सार्वजनिक सवारी पनि पूरै नचलेकाले अहिले लकडाउनअघिको तुलनामा सवारीको चाप केही कम भएको हो । तर ट्राफिक प्रहरीको जिम्मेवारी भने घटेको छैन ।

सवारी र पैदलयात्रुको बढ्दो चापले समस्या खेपिरहेको पोखरामा गत वर्षदेखि आकाशे पुल बनिरहेको छ ।

Advertisement

यात्रुको चाप घटाउन र सवारी आवतजावतलाई सहज बनाउन गत वर्ष मंसिरदेखि काम थालिएको थियो ।

पोखरा महानगरपालिकासँग निर्माण कम्पनी केएम.जेबी.एनएसले गत साउनमा काम सक्ने गरी २०७६ साल जेठमा सम्झौता गरेको थियो ।

महानगरपालिकाको २ करोड ३० लाख लागतमा आकाशे पुल बनाउने सम्झौता भएको थियो ।

पुल निर्माणका लागि कास्की क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य एवं तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व. रवीन्द्र अधिकारीले पूर्वाधार विकास कार्यक्रममार्फत् ५० लाख रुपैयाँ विनियोजन गरेका थिए ।

निर्माण सम्पन्न गर्न तोकिएको समयावधि सकिएको १ महिना हुँदा बल्ल पिल्लर हाल्ने काम सुरु भएको छ । पुलको जग भने लकडाउन अघि नै खनिएको थियो ।

निर्माण कम्पनीले ४ दिन पहिलामात्रै सिर्जनाचोकको ४ ठाउँमा पिल्लर ठड्याएको छ । सडकको बीच भाग र अरु ३ दिशामा पिल्लर ठडाइएको हो ।

मेट्रोसिटी हस्पिटल अघिको गणेशमान स्मृति पार्कमा रहेको पिपलको रुखले गर्दा एक ठाउँमा पिल्लर गाडिएको छैन ।

‘पिपलको रुखको हाँगो काट्नुपर्छ । त्यो नकाटी पिल्लर ठड्याउन मिलेन,’ निर्माण कम्पनीका प्रतिनिधि सोम थापाले भने, ‘त्यसका लागि वडामार्फत महानगरमा जानकारी गराइएको छ । महानगरले वन कार्यालयसँग समन्वय गर्छु भनेको छ ।’

४ दिन पहिले पिल्लर ठडाइए पनि अरु काम कहिले अघि बढ्छ भन्ने अन्योल छ । बिजुलीको तार नहटाइ काम अघि बढाउन नसकिने प्रतिनिधि थापाले बताए ।

उनका अनुसार तारको व्यवस्थापन भए बढीमा २ महिनामा आकाशे पुल सम्पन्न हुनेछ ।

‘पोल र तारको विषयमा पहिल्यै जानकारी गराएको हो । त्यो काम भयो भने मेजर फिटिङको काम १ महिनामा भ्याइन्छ,’ थापाले भने, ‘अवरोध हटे २ महिनाभित्र पुल बन्छ ।’

कोरोना संक्रमणका कारण भएको लकडाउनले कामलाई निरन्तरता दिन नसकेको कम्पनीले जनाएको छ । निर्माण अवधि थप्दिन महानगरलाई निवेदन पठाइसकेको उनले बताए ।

उक्त पुलको जमिनमुनि कंक्रिट र माथि फलाम प्रयोग गरिएको छ । पुलको ४ वटै दिशामा चढ्ने र झर्ने ठाउँ हुनेछ । ‘१ ठाउँबाट चढेपछि जता पनि झर्न मिल्छ,’ प्रतिनिधि थापाले भने ।

आकाशे पुल निर्माण भइरहेको ठाउँमा पिक आवरमा ५ हजार सवारी गुड्ने गरेको प्रहरीको तथ्यांक छ ।

‘आकाशे पुल बन्यो भने दुर्घटना पनि कम हुन्छ । माथिबाट हिँड्ने भएपछि जाम पनि हुँदैन । त्यसले गर्दा ट्राफिक प्रहरी खटाइरहनु पनि पर्दैन,’ ट्राफिक कार्यालय कास्की प्रमुख सन्तोष रोकाले भने ।

पोखरा महानगरपालिकाले विद्युत प्राधिकरणसँग पोल सार्ने विषयमा छलफल गरेको छ । प्राधिकरणसँग खर्च इस्टिमेट मागे पनि प्राप्त भइनसकेको महानगरका योजना महाशाखा प्रमुख शारदामोहन काफ्लेले बताए ।

‘उहाँहरुले ८ वटा पोल सिफ्ट गर्नुपर्छ भन्नुभएको छ । त्यसको इस्टिमेट आइपुगेको छैन । त्यो आएपछि बजेट व्यवस्था गर्दिन्छौं,’ उनले भने ।

२७ मंसिरमा आयोजित पुल शिलन्यास कार्यक्रममा मेयर मानबहादुर जिसीले अरु चोकमा पनि आकाशे पुल बनाउनेबारे अध्ययन भइरहेको बताएका थिए । तर अरु ठाउँमा आकाशे पुल बनाउनेबारे कुनै योजना नरहेको महाशाखा प्रमुख काफ्लेले जानकारी दिए ।

पोखराको अत्यधिक भीड हुने अरु चोकमा आकाशे पुल बनाउने कुनै योजना छैन ।

‘तत्काललाई अरु ठाउँमा छैन । पृथ्वीचोक, महेन्द्रपुल, बिपीचोक लगायतका ठाउँमा माग भएका छन् । बजेट विनियोजनचाहिँ भएको छैन,’ प्रमुख काफ्लेले भने ।

तपाईको प्रतिक्रिया