‘बरु जान्दिन भन, झुट नबोल’

समाधान संवाददाता २०७७ कार्तिक २१ गते ११:२६

भरत कोइराला, पोखरा

– विश्वभर कोरोना महामारी फैलिइरहेका बेला केही महिनाअघि मलेसियाका स्वास्थ्यमन्त्रीले त्यहिँको चल्तीको टिभीमा अन्तवार्तामा भनेका थिए, ‘तातो पानी पिउँदा घाटीबाट कोरोना भाइरस पेटमा जान्छ र मर्छ ।’ लामो समय चिकित्सा अभ्यास गरेका ती मन्त्रीको भनाइप्रति पत्रकारले कुनै प्रतिक्रिया जनाएनन् बरु स्वीकारोक्तिमा टाउँको हल्लाइरहे । त्यहि अभिव्यक्तिका कारण ती स्वास्थ्य मन्त्री भोलिपल्ट बर्खास्त भए ।

– भारतको आसाम राज्यकी एक विधायिकाले गोमुत्र सेबनबाट कोरोना निको हुने भनाइ राज्यसभाकै बैठकमै राखिन् । उनको उक्त हावादारी भनाइको खण्डन गर्न सरकारले आवश्यक नै ठानेन ।

Advertisement

– अखिल भारत हिन्दू महासभाले कोरोना भाइरसबाट सुरक्षित रहन भन्दै पार्टी नै गरेर गोमुत्र सेवन गर्न लगायो । मुत्र सेवन र पानीमा गोबर घोलेर नुहाउँदा पनि कोराना भगाउन सकिने प्रचार त्यहाँ गरियो ।

जनप्रतिनिधि र राजनीतिक दलका अगुवाले दिने अभिव्यक्तिबाट जनता प्रभावित हुन्छन् । जनता उनीहरुबाट साँचो र आधिकारिक सूचना चाहान्छन् । अझ महामारीका बेलामा त उनीहरुको थप दायित्व हुन्छ समयमै सही सूचना प्रवाह गर्ने ?

Advertisement

यस्तो अवस्थामा जनप्रतिनिधिले कसरी प्रभावकारी सञ्चार गर्ने भन्नेबारेमा विश्व स्वास्थ्य संगठनको सहयोगमा गण्डकी प्रदेश सभाका सांसदसँग बुधबार पोखरामा अन्तरक्रिया गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय संसदको आयोजनामा कार्यक्रम भएको हो ।

यही विषयमा केन्द्रित अन्तरक्रियामा कोरोना भाइरसले महामारीको रुप नलिँदै यसको बारेमा फैलिएका भ्रम र अफवाह अनि जनताको सूचनाका केन्द्र समेत रहेका जनप्रतिनिधिले निभाएको भूमिकाको बारेमा लामै चर्चा भयो ।

विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. सुनुर वर्माले जनप्रतिनिधिले नै अफवाह फैलाएको देखि सूचना प्रवाहमा भएका गल्तीहरुको बारेमा प्रस्तुति गरे । सूचना प्रवाहमा भएका गल्तीलाई रोक्नेबारेमा सुझाव पनि दिए ।

विकसित देशका टेलिभिजनले कोरोना भाइरसको बारेमा त्यहाँको सरकारले देखाएको गतिविधि हेरेपछि जनताले पनि सोही अनुसारको अपेक्षा गरेको तर गरिब देशहरुमा स्रोत साधनको अभावले जनताहरु आफ्ना प्रतिनिधिसँग खुसी छैनन् ।

डा. वर्माले भने, ‘अपेक्षा अनुसार हाम्रो देशमा पूर्वाधार छैनन् । अर्को कुरा हाम्रो जस्तो देशमा असन्तुलन छ, उमेरको असर छ । संस्कारमा ठूलो मानिसले भनेको नकार्दैनौं । हजुरबुबाले मास्क हटाउन भनेमा हामी मान्छौं । हाम्रो घरमा काम गर्ने सहयोगी छन भने उनीहरुले हामीलाई त्यो नगर भन्दैनन । हामीबिचको सन्तुलन एउटै छैन ।’

कोरोना भाइरसको सावधानी पूर्ण रुपमा अपनाउनका लागि हाम्रा संस्कारहरुले पनि नकारात्मक प्रभाव पारेको उनले जनाए ।

यसबाहेक आर्थिक रुपले कमजोर वर्गको बारेमा उपल्लो वर्गले जानकार रहेको सोच राख्ने धारणा गलत छ । जनप्रतिनिधिहरुले आफ्ना जनताका बारेमा सबै जानकार रहेकोजस्तो धारणा राख्न नहुने उनको सन्देश थियो ।

गतवर्षको अर्थशास्त्रका नोबेल पुरस्कार विजेताले गरेको खोजको दृष्टान्त दिँदै उनले भने, ‘मुख्य समस्या भनेको हामीले गरिबले के सोचेका छन् भन्ने थाहा छ जस्तो व्योहोरा गर्छौं । गतसाल अर्थशास्त्रमा नोबेल पुरस्कार जितेका उनीहरुले गरिबहरुले कसरी सोच्छन भन्ने अध्ययन गरेका थिए । त्यो अध्ययनका लागि हार्वडका ५० विद्यार्थीलाई अफ्रिकाका गरिब परिवारको बारेमा अध्ययन गर्न पठाइएको थियो । उनीहरुले गरिबलाई केही सोध्न पाउँदैनथे, मात्र अवलोकन गर्थे । उनीहरुको क्रियाकलाप । त्यसले हामीले गरिबहरुको बारेमा सोच्ने धारणा गलत छ ।’

अहिले संकटको अवस्था बढ्दै छ । सुरुवातमा स्वास्थ्य मन्त्रालयका अधिकारीले नै नेपालमा सयको आँकडामा संक्रमण हुनसक्ने प्रक्षेपण गरेका थिए । सो अनुसार पूर्वाधार चुस्त हुने अपेक्षा थियो । तर, अनपेक्षित रुपमा लाखौँको संख्यामा संक्रमण पुगेको छ र यो बढ्दो क्रममा छ । यस्तो अवस्थामा जनताले जिम्मेवार प्रतिनिधिलाई ध्यान दिएर सुन्ने गर्दछन् ।

हार्वडका विद्यार्थीले गरेको अनुसन्धानको प्रतिवेदनले भन्छ, ‘संकटका बेलामा जनप्रतिनिधिलाई नियालेर, विचार गरेर सुनिरहेका हुन्छन्, आधिकारिक स्रोतको विकल्प नभएका कारण जनप्रतिनिधिलाई हेरिरहेका हुन्छन् ।’ डा. वर्माले सांसदहरुलाई सुझाव दिँदै भने, ‘नागरिकले २ तरिकाले जनप्रतिनिधिलाई जज गरेका हुन्छन्, कति छिटो जानकारी दिने र दिएको जानकारी सत्य छ कि छैन । तौलिरहेका हुन्छन ।’

आधिकारिक व्यक्तिले नै गलत सूचना दिने घटनाहरु नेपालमा मात्र नभई विश्वमा नै भएका छन् । अझ मिश्रित सूचनाले त नकारात्मक प्रभाव पार्ने गर्दछन् । वर्माले जनप्रतिनिधिले आपतकालमा गरेका सञ्चारका ५ वटा गल्तीहरु औंल्याए ।

उनले सुझाव दिए, ‘मिश्रित र अस्पष्ट सन्देश प्रवाहले नकरात्मक प्रभाव पार्ने गरेको छ । कोभिडको परिवर्तनकारी गुणले पनि हरदिन, हरहप्ता नयाँ कुराहरु आइरहेका छज । आज के सत्य हो भने अर्को हप्ता त्यो सत्य नहुन सक्छ । दिनहुँ जानकारी फेरिएका छन् । सुरुमा नै जनतालाई आज भनेका कुरा सत्य नहुन सक्छ, भोलि फरक कुरा आउन पनि सक्छन भनेर भन्नुपर्छ ।’

९ महिनाअघि विश्व स्वास्थ्य संगठन नै मास्क लगाउने वा नलगाउने भन्ने बारेमा आफैमा अनिश्चित थियो । सोही अनिश्चितताका कारण कोभिडलाई बिजनेस बनाइएको आरोप पनि लाग्यो । सोही आरोप सहभागी सांसदले सत्य हो कि नाइँ भनेर सोधेका थिए ।

उनले भने, ‘यो कुनै बिजनेस होइन, विश्व स्वास्थ्य संगठन त्यतिबेला मास्कको बारेमा ढुक्क थिएन । जनप्रतिनिधिले सही कुरा नभनेपछि उहाँको ठाउँ अरु कसैले लिन सक्छ । यसले त्यहाँ खाली ठाउँ बन्छ, अरुले नै ठाउँ लिन्छन, फाइदा लिन्छन् ।’

विज्ञानले प्रमाणित नगरेका विषयमा आधिकारिक व्यक्तिले नै त्यस्ता सूचना प्रसारण गर्नु झनै घातक हुने उनले बताए । यस्ता खालका सूचनाले झनै अनिश्चितताको सन्देश दिने र जनप्रतिनिधिबाट जनताको भरोसा उड्ने हुँदा आधिकारिक र आफूलाई जानकारी भएकोमात्र सूचना प्रवाह गर्न उनले आग्रह गरे ।

सकेसम्म छिटो, आफूले गरिरहेको कार्यको जानकारी र आफूले गर्ने प्रतिबद्धता पनि स्पष्ट पार्न उनले सुझाव दिए ।

‘पुष्टि भइसकेका तथ्यमा मात्र दिनुहोला, सँगै केके गर्न सकिन्छ, चाल्न सकिने कदमको बारेमा पनि भन्नुहोस, जनतामा आफ्नो भरोसा बढोस भन्ने चाहानुहुन्छ भने थाहा नभएको कुरा थाहा छैन भनिदिनुहोस,’ उनले भने । मलाई थाहा छैन भनेपछि त्यतिमै नरोकिएर त्यसबारेमा तथ्य पत्ता लगाउन पनि उनले आग्रह गरे ।

उनले भने, ‘एउटा ठुलो चुनौती यसकारणले पनि हो कि, हामी निकै व्यस्त हुन्छौं,’ आफूले गरेका कुरा भन्न पनि भ्याउँदैनौं, जनताले प्रतिबद्धता सुन्न चाहान्छन्, तपाइले के गर्दै हुनुहुन्छ, गरिराख्नुभएको छ त्यो पनि भन्नुहोस्, केही भन्नेबित्तिकै तपाइले थप जानकारी कहाँ पाउन सकिन्छ भन्ने बारेमा पनि आधिकारिक जानकारी पाउने स्रोत भन्नुहोस् ।’

सांस्कृतिक समस्याका कारणलाई उनले तेश्रो समस्यामा राखे । ‘यो चाहिँ समस्या के हो भने, शक्तिमा भएपछि शक्तिमा नभएका मानिसहरुलाई के चाहिन्छ भन्ने हामीलाई थाहा छ भन्ने सोच हो । विकसित देशका डाक्टरमा पनि त्यो छ,’ उनले उल्लेख गरे ।

डाक्टरहरु बिरामीलाई के भएको छ भन्नेभन्दा पनि के गर्ने भन्नेतर्फ सोच्ने भए पनि जनप्रतिनिधि आफ्नो निष्कर्षमा कसरी पुगेको हो त्यसबारेमा जनतालाई पनि बताउन पनि उनले आग्रह गरे ।

संकटको बेलामा नकारात्मक नै सही तर वास्तविकता बताउनुपर्नेमा उनले जोड दिए । नआत्तिनुहोस, केही भएको छैन भनेर जनप्रतिनिधिले सूचना प्रवाह गर्दा जनताले सत्य थाहा छैन अथवा झुट बोलेका छन् भन्ने सोच्न सक्ने हुँदा वास्तविकतालाई बताउन उनले सुझाव दिए ।

गलत सूचनाको तत्कालै प्रतिकार र खण्डन गर्नुपर्ने, खण्डन नगर्दा अर्को व्यक्तिले फाइदा उठाउनसक्ने तर्फ ध्यान दिन उनले आग्रह गरे । आपत्कालीन अवस्थामा शक्तिसंघर्षको खेल हुँदा जनताले मन नपराउने अर्को सुझाव उनको थियो ।

प्रमाणित सूचना, सोसल मिडिया वा प्लेटफर्मबाट छिटो प्रवाह, सहानुभूति देखाउनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा डा. विनोदप्रसाद गुप्ताले कोरोना भाइरसको उत्पत्तिदेखि लक्षणहरुको बारेमा बताए ।

सुरुआती चरणमा कोरोना भाइरसको लाक्षणिक परिचय दिइएपछि सांसदले प्रश्न गरेका थिए, ‘आठ महिनापछि आएर लक्षण बताएर के फाइदा हुन्छ ?’ सोही प्रश्नकर्तासहित अन्तरक्रियामा सहभागी सांसदहरुलाई पछि भनियो, ‘तपाईंहरुले प्रवाह गर्ने सूचना कत्तिको प्रभावकारी छन् त ?’

अन्तरक्रियामा सहभागी राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यस्ता कार्यक्रम फलदायी र प्रभावकारी हुने बताए । गण्डकीका सभामुख नेत्रनाथ अधिकारीले ढिलै भएता पनि सही कार्यक्रम ल्याइएको बताए ।

कार्यक्रममा सहभागी प्रदेश नम्बर २ का सभामुख सरोजकुमार यादवले आफ्नो प्रदेशको तुलनामा गण्डकीका जनताहरु सचेत देखेको र यस्ता कार्यक्रमले थप सचेतना फैलाउन सहयोग पुग्ने बताए ।

सुरुआती चरणमा हटस्पट बनेको प्रदेश २ मा पहिले नै यस्तो अन्तरक्रिया राखिएको भए तुलनात्मक रुपमा कोभिड न्यूनीकरणमा सचेतनामूलक प्रभाव पर्ने उनले बताए ।

गण्डकी प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले सचेतना फैलाउन सहयोग गर्ने तर सरकारले भने जनताको स्वास्थ्यलाई त्यति चासो नदिएको प्रतिक्रिया दिए । सरकारकै अकर्मण्यताले जनप्रतिनिधिप्रति जनताको विश्वास गुम्ने खतरा रहेको हुँदा सरकारले बेलैमा सही कदम चाल्न उनले सुझाव दिए ।

गण्डकीका सामाजिक विकासमन्त्री नरदेवी पुनमगरले उपकरण खरिद गर्न खोजिएको तर अन्तर्राष्ट्रियस्तरमा नै सामान अभाव रहेका कारण ढिलाइ भइरहेको र सरकार गम्भीर रहेको जवाफ दिइन् ।

तपाईको प्रतिक्रिया