शववाहन किन्न ११ लाख संकलन

समाधान संवाददाता २०७७ कार्तिक २६ गते ११:२६

रामशरण नेपाली, लेखनाथ

शववहान खरिदका लागि आर्थिक सहयोग संकलन अभियान अन्तर्गत मंगलबार ३ लाख ८६ हजार ४ सय ४२ रुपैयाँ सहयोग जुटेको छ ।

नागरिक परोपकार समन्वय संस्था पोखरा–३० को अुगुवाइमा पावरहाउसमा भएको कार्यक्रममा उक्त रकम जुटेको संस्थाका अध्यक्ष राजेन्द्र ओझाले जानकारी दिए ।

Advertisement

गण्डकी प्रदेश सभाका सदस्य विन्दुकुमार थापाले १ महिनाको तलब भत्ताबापतको ५५ हजार रुपैयाँ प्रदान गरे । उनले अहिलेसम्मको तलब भत्ता सामाजिक काममा खर्च गरेको बताए ।

कार्यक्रममा एनआरएन बेल्जीयमका अध्यक्ष चित्र सुवेदीले १ लाख, नेपाली सेनाका पूर्वकर्णेल मदन केसीले ५१ हजार १ सय ११, सनबहादुर गुरुङ (कालु) ले २५ हजार ७ सय ७७, वडा नम्बर २९ का अध्यक्ष चेतबहादुर गुरुङले २५ हजार ५ सय ५५, पोखरा ३० निवासी शेरबहादुर गुरुङले २५ हजार १ सय २५ सहयोग गरेका छन् ।

Advertisement

संस्थाका अध्यक्ष ओझाले अभियानमार्फत १ करोड संकलन गर्ने लक्ष्य रहेको बताए । संकलित रकम मध्ये ४० लाख शववाहन खरिदमा खर्च गर्ने जानकारी दिँदै उनले ६० लाख शववाहन सञ्चालन तथा व्यवस्थापन कोषमा राख्ने उल्लेख गरे ।

संस्थाका आर्थिक उपसमितिका संयोजक उपेन्द्र सुवेदी (राजु) ले अभियानको पहिलो दिनमा ७ लाख रुपैयाँ संकलन भएको बताए । उनले मंगलबारसम्ममा करिब ११ लाख संकलन भएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया