मूल्यवृद्धि घटाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

समाधान संवाददाता २०७७ फागुन ६ गते २०:२१

समाधान संवाददाता, पोखरा

एक हप्तामै २ पटक अस्वाभाविक हिसाबले पेट्रोलियम पदार्थको मूल्य बढाइएको भन्दै उपभोक्ता मञ्च गण्डकी र जागौं नेपाल राष्ट्रिय अभियानले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

उपभोक्ता मारमा परेकाले मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरिएको छ । उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले १५–१५ दिनमा मूल्य घटबढ हुनु स्वाभाविक भए पनि एक हप्तामै मूल्य बढाएर सरकार नीतिगत निर्णयको बर्खिलाप गएको बताए ।

Advertisement

१५–१५ दिनमा मूल्य समायोजन गर्न सकिने गरी सरकारले २०७३ सालमा स्वचालित मूल्य प्रणली लागु गरेको थियो । तर अहिले १५ दिन नपुग्दै आफ्नै नीतिगत निर्णयविरुद्ध सरकारले निर्णय गरेको ज्ञापनपत्रमा उल्लेख छ ।

६ महिना अगाडि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा मूल्य नघटाउने र अहिले नियमविपरीत मूल्य बढाइएको ज्ञापनपत्रमा उल्लेख छ ।

Advertisement

मञ्चका अध्यक्ष कोइराला, सचिव दीपेन्द्र अर्याल, कोषाध्यक्ष मीना रानाभाट, अभियान संयोजक दीपक आचार्य, अभियन्ता शिवराज बस्ताकोटी लगायत ज्ञापनपत्र बुझाउन प्रशासन पुगेका थिए ।

नेपाल आयल निगमले पछिल्लोपटक ४ फागुनमा डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको थियो ।त्यसअघि गत २८ माघमापनि खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ तथा पेट्रोल र डिजेलमा प्रतिलिटर २ रुपैयाँ मूल्यवृद्धि गरेको थियो ।

तपाईको प्रतिक्रिया