मौसम बिग्रिँदा पोखरा–सिमरा पहिलो उडान स्थगित

समाधान संवाददाता, पोखरा
आजदेखि हुने भनिएको पोखरा–सिमरा उडान स्थगित भएको छ । धुँवा र धुलोले भिजिविलिटी कम हुँदा बाराको सिमरासम्म आजबाट सुरु गर्ने भनिएको सिधा उडान हुन नसकेको पोखरा विमानस्थल प्रमुख विक्रम गौतमले जानकारी दिए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पर्यटनमन्त्री विकास लम्साल सहित २५ जनाको टोली आज सिमरा जाने तयारी थियो । सिमरा पुगेर सामान्य होली खेल्ने र दिउँसो ३ बजे फर्किने तयारी भए पनि आजको कार्यक्रम स्थगित भएको छ ।
‘बिहानैदेखि मौसमले साथ दिएन । पोखरा–सिमरा अब वैशाख ५ गते जाने भन्ने कुरा भएको छ,’ उनले भने।’
यति एअरको २९ सिट जहाजले आजदेखि उडान गर्ने गरी गत २९ माघमा प्रदेश सरकारसँग एअरलाइन्स प्रतिनिधिको छलफल भएको थियो । तर, डेढ महिना पहिला विशेष दिनमा सुरु गर्ने भनिएको उडान स्थगित गर्न प-यो ।
मौसमकै कारण आज पनि पोखराबाट उडान हुने सम्भावना निकै कम रहेको प्रमुख गौतमले सुनाए ।
पोखराबाट शनिबार काठमाडौँ, जोमसोम, भैरहवाका लागि तय भएका २७ उडान भिजिविलिटी कम हुँदा रद्द भएको थियो । शुक्रबार ६ उडान हुन सकेनन् । टेकअफ र ल्यान्डिङसहित पोखराबाट ५० उडान हुने गरेको छ ।
उडान भर्न भिजिविलिटी सामान्यतय पाँच किलोमिटर हुनुपर्छ । अरु बेलाचाहिँ पोखरामा १० किलोमिटरभन्दा बढी भिजिबिलिटी हुन्छ । आकाशमा धुँवा धुलोको मात्रा अत्यधिक भएको र पानी नपर्दा पोखराको मौसम शुक्रबार दिउँसोदेखि खुल्न सकेको छैन ।
तपाईको प्रतिक्रिया