जनमोर्चा पनि अविश्वासकै पक्षमा, चमत्कार नभए ढल्ने छ ‘गुरुङ सरकार’

समाधान संवाददाता २०७७ चैत २९ गते १४:३९

अमृत सुवेदी, पोखरा

गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्व सरकारको विकल्प खोज्न नेपाली कांग्रेस, माओवादी र जनता समाजवादी पार्टी एक ठाउँमा उभिएका छन् । कार्यदल नै बनाएर सत्ता समीकरणको प्रयास थालेका ३ दलको राजनीतिक एजेन्डा एउटै छ, ‘यो सरकारको विकल्प खोज्ने ।’

सरकारलाई समर्थन कायमै राखेर माओवादीले २ मन्त्रीलाई फिर्ता बोलाएपछि दलहरुले नयाँ सरकारको निर्माणको छलफल गरिरहेका छन् । मुख्यमन्त्री गुरुङ र सरकारको विकल्प खोजिरहेका ३ दलको आशा अब जनमोर्चातर्फ नै छ ।

Advertisement

३ सांसद रहेको जनमोर्चाका सांसद यही सरकारमा जाने/नजाने भन्नेमा अलमलमै छ । जनमोर्चाका सांसद कृष्ण थापा सुरुदेखि नै मुख्यमन्त्री गुरुङकै सरकारतर्फ लचिलो देखिएका थिए भने सांसद पियारी थापाले यो सरकारको विकल्प खोज्नुपर्ने बताइरहेकी छन् ।

कांग्रेस, माओवादी, जसपाले जनमोर्चालाई समेत सहभागी गराएर शनिबार छलफलसमेत गरे । ‘यो सरकार ठिक कि बेठिक ? अब कसरी अगाडि बढ्ने भन्ने मुख्य विषयमा छलफल भयो,’ जसपा सांसद हरिशरण आचार्यले भने, ‘३ दल यो सरकारको विकल्प खोज्ने बिन्दुमा एकै ठाउँमा छ भने जनमोर्चाले तत्काल सरकारमा सहभागी नहुने बताएको छ ।’

Advertisement

एमालेका २७, मनाङका स्वतन्त्र सांसद राजीव गुरुङ दीपक मनाङे र जनमोर्चाका ३ सांसदको समर्थन कायमै राखेर मुख्यमन्त्री गुरुङ यो सरकारलाई बचाइराख्न चाहन्छन् । जनमोर्चाले समर्थन कायमै राखेको खण्डमा सरकार बचाउन पुग्ने संख्या ३१ जना आफ्नो पक्षमा हुने मुख्यमन्त्रीको विश्वास छ ।

कांग्रेस, माओवादी र जसपा भने जनमोर्चालाई पनि मोर्चामै सामेल गराएर नयाँ सरकार निर्माण गर्ने दाउमा छन् । गण्डकीमा कांग्रेसका १५, माओवादीका १२ र जसपाका २ सांसद छन् । सबै दललाई साथ लिएर कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन प्रस्ताव गरिसकेको छ ।

‘कांग्रेसको नेतृत्वमा नयाँ सरकार निर्माण गरौं भन्ने हाम्रो प्रस्ताव हो,’ कांग्रेस वार्ता कमिटीका संयोजकसमेत रहेका सांसद कुमार खड्का भन्छन्, ‘यो सरकारको विकल्प खोज्ने भन्नेमा ३ दल एक ठाउँमा छौं । शनिबारको बैठकमा जनमोर्चा पनि सकारात्मक देखियो ।’

सरकार बनाउन र भत्काउन दुबैतिर निर्णायक मानिएको जनमोर्चा कतातिर जाला अहिले चासोको विषय बनिरहेको छ । समर्थन कायमै राख्ने कि अर्को विकल्पमा जाने भन्ने सांसद अलमल भइरहेका बेला जनमोर्चाकै अध्यक्ष चित्रबहादुर केसीले भने यो सरकारको विपक्षमा उभिने बताएका छन् ।

समर्थन कायमै राख्ने र अविश्वासको प्रस्ताव कसैले ल्याइहाले त्यसको पक्षमा मतदान गर्ने बताउँदै आएको जनमोर्चाका अध्यक्ष केसीले अब अविश्वासको प्रस्तावमै हस्ताक्षर गरेर जाने जिकीर गरेका छन् ।

‘अब हस्ताक्षर गरेनौं भने अरुलाई पनि शंका हुने अवस्था आयो । यिनीहरुको कतै सत्ताधारीसँग साँठगाँठ छ कि भन्ने प्रश्न उठ्न थाल्यो,’ अध्यक्ष केसीले समाधानसँग कुराकानी गर्दै भने, ‘त्यसकारण अब अविश्वासको प्रस्तावको पक्षमै हस्ताक्षर गरेर जाने स्थिति आइसकेको छ ।’

प्रस्तुत छ, राजमो अध्यक्ष केसीसँग गरिएको कुराकानीः

गण्डकीमा सत्ता समीकरणको खेल सुरु भएको छ । यसमा निर्णायक देखिएको जनमोर्चा पार्टीको धारणा के हो ?

केन्द्र सरकारमै यो हालत छ । जति काँध थापेका थियौं, थाप्यौं । अब काँध थप्न सकिँदैन । अब हामी विपक्षमै जान्छौं । वामपन्थी सरकार बन्नुपर्छ भन्ने थियो । तर, प्रतिगमनलाई सधैंभरि काँध थापेर बस्न सकिने कुरा भएन ।

झन्झन् विकृति उजागर हुँदै गइरहेका छन् । केन्द्रमा एउटा पार्टीले कारबाही गरेपछि तुरुन्तै भटाभट मन्त्रिमण्डलमा भर्ती गर्ने काम भयो । यस्तो जात्रा पनि कहीँ हुन्छ ? त्यसकारण जुन घटना घटिरहेका छन्, अब ओली सरकारलाई समर्थन गर्ने त सकिइहाल्यो नि ।

जनमोर्चाकै सांसदले अहिले पनि समर्थन कायम रहने बताइरहनु भएको छ नि ?

समर्थन त हामीले केन्द्रमा पनि ग-यौं, प्रदेशमा पनि गरेकै हो । अब समर्थन गर्ने कुरा भएन ।

त्यसो भए तपाईंहरुले अविश्वासको प्रस्तावमै हस्ताक्षर गर्नुहुन्छ कि अरुले ल्याएको अविश्वासको प्रस्तावमा मतदानमात्र गर्नुहुन्छ ?

हामीले पहिले अविश्वासको प्रस्ताव ल्याउन हस्ताक्षर पनि नगर्ने र त्यसको पक्षमा मतदान पनि नगर्ने भनेका थियौं । अब हस्ताक्षर गरेनौं भने अरुलाई पनि शंका हुने अवस्था आयो ।

यिनीहरुको कतै सत्ताधारीसँग साँठगाँठ छ कि भन्ने प्रश्न उठ्न थाल्यो । त्यस कारण अब अविश्वासको प्रस्तावको पक्षमै हस्ताक्षर गरेर जाने स्थिति आइसकेको छ, त्यहाँ पनि साथीहरुले त्यसै गर्नुहोला ।

सरकारका विषयमा प्रदेशको राजमो सांसदसँग छलफल भइसकेको हो कि पार्टीले यस हिसाबले निर्णय गरिसकेको छैन ?

मैले पनि बोल्ने त पार्टीको नीति नै हो, मेरो आफ्नो विचार त होइन । पार्टीको नीतिअनुसार चल्ने कुरा हुन्छ । पार्टीले त्यहीअनुसारको निर्देशन जारी गर्छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र तपाईंका बीचमा पनि भएको कुराकानी सकारात्मक छ भन्ने कुरा थियो नि ?

सरकारलाई समर्थन कायम राख्नुप-यो भनेर मुख्यमन्त्रीले पनि फोन गर्नुभएको थियो । अहिलेसम्म सकारात्मक भएकै कारणले समर्थन कायम राखिएको हो । अब जतिजति केन्द्रमा विकृतिहरु थपिँदै गएका छन्, प्रदेशमा पनि त्यस्तै हो ।

केन्द्रको सरकार जे भए पनि प्रदेश सरकारलाई किन अस्थिरतातिर लैजाने भन्ने हो । केन्द्रमा त जे पनि हुन थाल्यो । केन्द्रमा जे पनि गर्ने नेतृत्वको निर्देशनअनुसार प्रदेश पनि चल्ने भएकाले अब काँध थाप्ने स्थिति हरायो ।

गण्डकी प्रदेशबाट वा केन्द्रमै सरकार विपक्षीका दलसँग पनि तपाईंहरुको छलफल भएको छ कि ?

अरु दलसँग छलफल गरे पनि नगरे पनि हाम्रो पार्टीको नीति र धारणा बेग्लै छ । कसैले कर बल गरे हामी मोर्चा बन्दीमा जाने होइन । पुस ५ गतेसम्म ओलीलाई बोकेरै हिँडेका थियौं ।

उहाँले संसद नै विघटन गर्नुभयो, हामीले नेकपालाई हो समर्थन दिएको, ओलीलाई होइन । संसद विघटन गर्नेबित्तिकै केन्द्रमा समर्थन फिर्ता लियौं । प्रदेशमा बनिराखेको सरकारलाई किन भत्काउने हो र भनेर हो, अब दिउँसै तारा खसाउन थालेपछि अन्त पनि अर्को समर्थन रहँदैन । केन्द्रको असर प्रदेशतिर पनि पर्दै गएको हुनाले अब काँध थापिरहन सकिँदैन ।

जनमोर्चाले समर्थन कायमै राखे मन्त्रालयकै जिम्मेवारी पनि पाउनु होला, मन्त्रालय लिएर सरकारमा जानेबारे सोच्नुभएको छैन ?

घुस खाएर सत्तामा बार्गेनिङ गर्ने पार्टी जनमोर्चा ? त्यो काम अरु पार्टीहरुको हो, एमालेको हो । कांग्रेस, माओवादीले त्यसो गर्लान्, राष्ट्रिय जनमोर्चाले त्यसो गर्दैन ।

राष्ट्रिय जनमोर्चा २०५१ सालदेखि संसदमा छ । नाकाबन्दी गरेको विशेष परिस्थितिमा सरकारमा आउनुप-यो, समर्थन गर्नुप¥यो, इन्डियाको सामना गर्नुप¥यो भनेर हामी सरकारमा गएको हो । त्यसकारण पदको, मन्त्रीको बार्गेनिङ हुँदै होइन ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विपक्षमा गण्डकीमा ३ दलले मोर्चाबन्दी थालेका छन्, तपाईंहरु त्यही मोर्चामा लाग्नुहुन्छ कि बेग्लै रहनुहुन्छ ?

संयुक्त मोर्चामै हामी सामेल हुने भयौं । नगरौं भनेर अहिलेसम्म अडिएका हौं । कमसेकम अविश्वासको प्रस्ताव आएपछि त्यसको पक्षमै मत हाल्ने कुरा थियो । अब अविश्वासको प्रस्तावमा हस्ताक्षर नै नगरी नहुने स्थिति देखा प¥यो ।

तपाईको प्रतिक्रिया