मुस्ताङलाई स्वास्थ्य सामग्री

समाधान संवाददाता २०७८ वैशाख २९ गते ९:१०

जिल्ला अस्पतालमा भएका भेन्टिलेटर र आइसियु चलेका छैनन् भने अक्सिजन प्लान्ट भए पनि बुस्टर नहुँदा सिलिन्डरमा भर्न सकिएको छैन

समाधान संवाददाता, जोमसोम

सरकारले मुस्ताङका लागि इलेक्ट्रोनिक अक्सिजन उपकरणसहित स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

Advertisement

संघीय सांसद प्रेमप्रसादको तुलाचनको पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागले मुस्ताङका लागि कोरोना रोकथाम नियन्त्रण तथा कोरोना परीक्षण गर्ने एन्टिजेन किट, भिटिएम लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ ।

सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्री संघीय सांसद तुलाचनको जिम्मामा मुस्ताङ पठाइदै छ ।

Advertisement

जिल्लामा अक्सिजन अभाव, परीक्षण किट तथा नमुना स्वाब संकलन गर्ने भिटिएम र कोरोना रोकथाम लगायतका स्वास्थ्य सामग्रीको अभाव हुँदै गएको अवस्थामा ती सामग्री मुस्ताङ पठाउने तयारी भएको सांसद तुलाचनले जानकारी दिए ।

माग अनुसार स्वास्थ्य सामग्री उपलब्ध हुन नसके पनि प्राप्त सामग्रीले तत्कालका लागि जिल्लाका लागि केही राहत मिल्ने संघीय सांसद तुलाचनको भनाइ छ ।

सरकारले मुस्ताङका लागि ३ थान इलेक्ट्रोनिक कन्सेटेटर अक्सिजन उपकरण, १ सय थान एन्टिजेन परीक्षण किट, ५ सय थान भिटिएम, ५ सय थान सेनेटाइजर, ५ सय थान सर्जिकल माक्स, ५० थान फेस सिल्ड र १० थान पिपिई उपलब्ध गराइने भएको छ ।

ती सामग्री जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङलाई हस्तान्तरण गरिने सांसद तुलाचनले जानकारी दिए । कोरोना भाइरसको दोस्रो लहरसँगै मुस्ताङमा कोरोना संक्रमितको संख्या वृद्धि हुन थालेको छ । कोरोनाका कारण मुलुक आक्रान्त भइरहेको बेला मुस्ताङमा परीक्षण किट अभावमा आवश्यक जति कोरोना परीक्षण हुन सकेको छैन ।

जिल्लाका ५ वटै स्थानीय तहमा कोरोना लक्षण भएका बिरामी बढे पनि परीक्षण किटको अभावमा चेकजाँच हुन नसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले मुस्ताङमा जनसंख्या कम भएको जनाउँदै किट पठाउन कन्जुस्याइ गरेको सरोकारवालाको आरोप छ ।

मुस्ताङको घरपझोङ, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकामा मात्र आंशिक रुपमा कोरोना परीक्षण गरिएको छ । कोरोनाको दोस्रो लहरपछि पछिल्लो २ सातामा मुस्ताङमा ५० भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला अस्पताल मुस्ताङमा प्रदेशको सामाजिक विकास मन्त्रालयले २ थान भेन्टिलेटर र २ थान आइसियु उपलब्ध गराएको छ । तर दक्ष जनशक्ति नहँुदा भेन्टिलेटर र आइसियु अस्पतालकै स्टोरमा थन्किएका छन् । जिल्ला अस्पताल मुस्ताङमा हालै ५५ लाख लागतमा अक्सिजन प्लान जडान भएको छ ।

प्लान्ट जडान भए पनि अक्सिजनको खाली सिलिन्डर भर्ने बुस्टर नहुँदा अस्पतालभित्र मात्र अक्सिजन सेवा सीमित हुन पुगेको छ । गम्भीर प्रकृतिका बिरामी आएमा आइसियु, भेन्टिलेटर र अक्सिजन नहुँदा बाटैमा बिरामीको ज्यान जान सक्ने जोखिम पनि छ ।

पछिल्लो साता कोरोनाका जटिल बिरामीलाई मुस्ताङमा पर्याप्त स्वास्थ्य सेवा, सुविधा नहुँदा पोखरा र काठमाडौं पठाइएको छ । आधा दर्जन बढी बिरामीलाई हेलिकोप्टर चार्टर गरी पठाइएको छ ।

कोरोनाको दोस्रो लहरसँगै मुस्ताङमा पर्यटकीय यामको सुरुआत र चाडपर्व कारण कोरोना जोखिम बढेको थियो । जिल्ला अस्पताल मुस्ताङले कोरोना भाइरस समुदाय स्तरमै फैलिएको दाबी गरेको छ ।

मुक्तिनाथ मन्दिर बन्द र पर्यटक नभए पनि मुस्ताङमा कोरोना व्यवस्थापनमा चुनौती देखिएको छ । तर, कोरोना संक्रमण फैलिए पनि यसको व्यवस्थापनमा स्थानीय तह र जनप्रतिनिधिले पहल गर्न नसकेको स्थानीयको गुनासो छ ।

तपाईको प्रतिक्रिया