बत्ती लिएकी केटी अर्थात फ्लोरेन्स नाइटिंगेल

समाधान संवाददाता २०७८ वैशाख २९ गते १२:००


झपट रानाभाट


फ्लोरेन्स नाइटिंगेलको जन्म १२ मे १८२० मा बेलायतको टस्कानी प्रान्तको ग्राण्डडुचे भन्ने स्थानमा भएको थियोे । फ्लोरेन्सलाई आधुनिक नर्सिङ आन्दोलनको जन्मदाता मानिन्छ । उच्च मानवीय मूल्य र मान्यतामाआधारित दया, माया, विवेक, सहयोग, भाइचारा, विश्वबन्धुत्व, मिलनसारिता र सेवाकी प्रतिमूर्ति फ्लोरेन्स नाइटिंगेललाई द लेडी विद द ल्याम्प, (बत्ती लिएकी केटी) भनेर पनि चिनिन्छ ।
फ्लोरेन्स नाइटिंगेलको जन्म एक समृद्ध र उच्चवर्गीय बेलायती परिवारमा भएको थियो । तर, उच्च घरानामा जन्मेकी फ्लोरेन्स नाइटिंगेलले सेवाको मार्ग चुनिन् । परिवार भित्र विरोध हुँदाहुँदै पनि १८४५मा उनले अभावग्रस्त मानिसहरूको सेवा गर्ने बाचा लिइन् । डिसेम्बर १८४४ मा उनले चिकित्सा सुविधाको सुधार्ने कार्यक्रम ल्याइन् । पछाडि रोमका प्रखर राजनेता सिडनी हर्बर्टसँग उनको मित्रता भयो ।
नर्सिङको अतिरिक्त लेखन र एप्लाइड स्ट्याटिस्टिक्सको क्षेत्रमा समेत उनको निपूर्णता थियो । फ्लोरेन्सको सबैभन्दा महत्वपूर्ण योगदान क्रिमिया युद्धमा रह्यो । अक्टोबर १८५४मा उनले ३८ महिलाहरूको एउटा दल तयार गरी घाइतेको सेवामा टर्की पठाइन् । उनको यसै समयको सेवाका कारण उनलाई बत्ती लिएकी केटी अर्थात् लेडी विथ द ल्याम्प उपाधिले सम्मानित गरियो ।
पहिलेको समयमा घाइते, दुःखी, रोगी आदिलाई सहयोग गर्ने र तिनको सेवा सुश्रुसा गर्ने कार्य उतिसारो हुँदैनथ्यो । त्यसमा पनि उच्च घरानियाँ मानिसले नर्सिङको काम गर्न त बर्जित अथवा जात जाने किसिमको काम ठानिन्थ्यो, फ्लोरेन्सले त्यसबेलाको पुरातनबादी र सामन्तबादी सोचलाई चिर्दै नयाँ युगको शुरूवात गरेकी थिइन् ।
उनी आफ्ना कोही स्याहार्ने नभएका घाइतेहरूको सेवा गर्दथिन् । उनले तिनलाई दिएको स्पर्श तथा ढाडसले जादूमा बिश्वास गर्दा जादूको जस्तै शक्ति पैदा गर्दथ्यो । बिरामीको उपचार गर्ने चिकित्सकहरू घर फर्किसकेपछि रातको अँध्यारोमा पनि फ्लोरेन्स सेवामा जुटिरहेकी हुन्थिन् । रातभर जजाग्राम बसेर हातमा लालटिन लिई सेवामा तत्पर रहने भएकाले नै उनलाई लेडी विथ द लेम्प भनिएको हो ।
युद्धका घाइतेको सेवा गर्दागर्दै उनलाई गम्भीर संक्रमणले समात्थ्यो तर उनी कहिले पनि विचलित हुन्नथिन् । सन् १८५९मा फ्लोरेन्सले सेन्ट थोमस अस्पतालमा एक नाइटिंगेल प्रशिक्षण विद्यालयको स्थापना गरिन् । यसै बेला उनले नोट्स अन नर्सिङ पुस्तक लेखिन् । जीवनको बाँकी समय उनले नर्सिङको कार्य बढाउने वा यसलाई आधुनिक रूप दिनमा व्यतित गरिन् । सन् १८६९मा उनलाई महारानी भिक्टोरियाले रोयल रेडक्रस सम्मानबाट सम्मानित गरिन् । ९० वर्षको उमेरमा १३ अगस्त, १९१०मा पार्कल्याण्ड, लण्डनमा उनको निधन भयो ।
फ्लोरेन्स नाइटिंगेलकै प्रेरणाबाट महिलाहरूलाई नर्सिङ क्षेत्रमा आएने प्रेरणा प्राप्त भएको हो भन्न सकिन्छ । आजको २०१ औं फ्लोरेन्स र अन्तर्राष्ट्रिय नर्सिङ दिवसमा उनीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उच्च मानवीय भावनाका साथ आफ्नो जीवनको कुनै प्रवाह नगरी जीवन र मरणको दोसाँधमा छटपटाइरहेका मानिसहरूलाई नयाँ जीवन प्रदान गर्न एवं कोभिड –१९ जस्तो भयावह महामारीबाट मानिसलाई जोगाउन अहोरात्र फ्रन्टलाईनमा रहेर सेवा गर्ने विश्वभरिका नर्स, चिकित्सक लगायत सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछु ।

Advertisement

तपाईको प्रतिक्रिया