मणिपालमा बच्चाको उपचार नपाएका दम्पतिको कथाः मुलुक हाम्रो होइनजस्तो लाग्छ, रिस उठ्छ, मुटु चुँडिन्छ

समाधान संवाददाता २०७८ जेठ २२ गते १३:५५


अमृत सुवेदी
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसुति तथा बच्चा वार्ड बाहिर केही मानिस मोबाइल हेरिरहेका थिए । उनीहरु चर्चा गर्दै थिए, ‘राजेन्द्र महतो पनि उपप्रधानमन्त्री भए है, अनि एमालेका को–को बाँकी बचेछन् मन्त्रीहरु ?’

बाहिर सरकारबारे चासो चलिरहँदा शुक्रबार साँझ भित्र बच्चा वार्डमा भने सन्नाटा थियो । बच्चा वार्डमा एनसियुको एउटा क्याभिनको ढोकाबाट भित्र चिहाइरहेका थिए, जानबहादुर बुढा । भित्र उनका दूधे बच्चा र श्रीमती रहेछन् ।

बच्चालाई दूध चुसाइरहेकी थिइन्, जानबहादुरकी श्रीमती कामना । अक्सिजनको मास्क निकालेर कामना दूध चुसाइरहँदा यता जानबहादुर भुइँमा थचक्क बस्छन् ।

Advertisement

‘आज ठ्याक्कै २७ दिन भो बच्चा जन्मेको । जन्मिँदा ठिक थ्यो । पछि जन्डिस् भयो, निमोनियाले समात्यो,’ सुस्केरा सुसेल्दै जानबहादुरले भने ‘जन्डिस्, नोमोनियापछि कोरोना पनि देखियो । धन्न यहाँ बेड पाइयो र बच्चाको सास चलिरहेको छ, हेर्नुस् न ।’

जानबहादुर घरि भक्कानिन्छन्, घरि रिसले मुठी कस्छन् । भन्छन्, ‘यो मुलुक त हाम्रो होजस्तै लाग्दैन । नत्र पैसा तिर्न नसक्दा कुनै अस्पतालले दूधे बच्चालाई निकाल्छ त ? अनि त मलाई लडौं कि मरौं भएको थियो ।’

Advertisement

जुन अस्पतालमा जानबहादुर दम्पतीले बच्चा जन्माए, त्यही अस्पतालले बच्चाको उपचार गर्न नसक्ने बतायो । पैसा बुझाउन नसक्दा कोरोना संक्रमण देखिएपछि जन्डिस् र निमोनियाले समेत ग्रस्त २१ दिने बच्चालाई पोखराको मणिपाल शिक्षण अस्पतालले उपचार गर्न नसक्ने बताएको उनीहरुको रोदन छ ।

‘गरिबले त खुसी हुनमात्रै होइन, सन्तान बचाउन पनि नसक्ने रहेछ नि,’ जानबहादुरको ज्यान काँप्छ, ‘जति पैसा थियो, त्यही अस्पतालमा सकियो । बच्चालाई कोरोना देखिएपछि धरौटी र दैनिक तिर्ने पैसा नहुँदा अस्पतालबाट निकालिनुप¥यो ।’

सरकारले कोरोना संक्रमितको निशुल्क उपचार गर्न सक्झौता गरेकै अस्पताल मणिपालबाट धरौटी र दैनिक तिर्नुपर्ने पैसा नहुँदा अवोध बालकले उपचार नपाएको हो । अस्पतालले ९० हजार रुपैयाँ धरौटी मागेको थियो । त्यसमा दैनिक २० देखि २५ हजार रुपैयाँ लाग्ने अस्पतालले बतायो ।

‘मसँग भएको पैसा जति त्यही श्रीमती र बच्चाको दबाइ गर्न खर्च भइसकेको थियो । अब मैले त्यत्रो पैसा कताबाट तिर्न सक्नु । म त सक्दिन हजुर ! भनेको पैसा नभइ हुँदैन भने,’ जानबहादुरले भने, ‘पैसा खोज्न सकिन्छ कि भने फोन लगाएको पनि हो तर यो बिरानो सहरमा को नै पो थियो र हाम्रो ।’

पैसा नभएकै कारण उपचार गर्न नसक्ने बताएपछि जन्डिस्, निमोनिया र कोरोनाले संक्रमित बच्चा च्यापेर उनीहरु अस्पतालबाट बाहिरिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार पाइन्छ भनेपछि ५ सय रुपैयाँ तिरेर ट्याक्सीमा आइपुगेको उनले सुनाए ।

जानबहादुर दम्पतीको टना सुन्न र बुझ्न झण्डै एक महिना अगाडि फर्किनुपर्छ । रोल्पा सुनछहरी गाँउपालिका वडा नं–७ जेलबाङका जानबहादुर दम्पती पोखरामा मजदूरी गर्छन् । पोखरा–११, फुलवारी मणिपाल अस्पताल नजिकै मासिक २८ सय रुपैयाँ तिरेर भाडामा लिएको टिनको कोठामा उनीहरु बस्दै आएका छन् ।

जानबहादुरकी श्रीमती कामनाको सुत्केरी हुने दिन नजिकिँदै थियो तर २२ गतेसम्म पनि उनीहरु सँगै घर बनाउने काममा मजदूरी गर्दै थिए । २३ गते कामनालाई ब्यथाले च्याप्यो र नजिकै भएकाले मणिपालमा उनीहरु हिँडेरै पुगे । त्यही दिन बच्चा जन्मियो । दुबैको अवस्था ठिकठाक थियो । आमा र बच्चा दुबैको अवस्था स्वस्थकर छ भनेर कोठा फर्किएको एक हप्तापछि फेरि बच्चामा समस्या देखियो ।

उनीहरुले बच्चा जन्मिएकै अस्पतालमा पु¥याए । ३ दिन एनआइसियुमा उपचार गराउपछि उनी घर फर्किए । बच्चाको स्वास्थ्यमा समस्या देखिन छाडेन र फेरि १२ गते मणिपालमा भर्ना गरे ।
बच्चाको कोरोना परीक्षण गरियो । रिपोर्ट पोजेटिभ आयो । ‘जब बच्चामा कोरोना देखियो । अस्पतालले यहाँ उपचार हुँदैन भन्यो पछि उपचार भए पनि धेरै महंगो छ भन्यो,’ जानमबहादुर भने, ‘९० हजार धरौटी र २५ हजारसम्म दैनिक खर्च लाग्न सक्ने अस्पतालले बतायो । त्यत्रो पैसा मैले कहाँबाट ल्याउने ?’

मणिपालले नसक्ने बताएपछि जानबहादुर बाहिर निस्किएर भौंतारिए । तर, सीप लागेन । मणिपाल बाहिर अरु बिरामीका आफन्तसँग उनले दुख पोखे । सरकारी अस्पतालमा खर्च नलाग्ने र त्यहाँ बेड पनि उपलब्ध हुने सुझाव पाए । ट्याक्सीमा उनी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुगे । जुन दिन बच्चालाई उच्च ज्वरो थियो र सास फेर्न पनि गाह्रो भइरहेको जानबहादुर दम्पति बताउँछन् ।

अहिले बच्चाको एनसियुमा राखेर उपचार भइरहेको छ । पश्चिमाञ्चल अस्पताल आएको ४ दिनपछि जानबहादुर दम्पतीलाई पनि कोरोना पोजेटिभ देखिएको छ । बच्चा वार्ड नजिकै उनीहरुलाई अस्पतालले बेड उपलब्ध गराएको छ, सेमिक्याभिन नं. ११८ ।

‘हामीलाई कोरोना देखिए पनि खासै समस्या छैन । बच्चालाई अझै सास फर्ने गाह्रो भइरहेको छ । अक्सिन लगाइराखेको छ,’ आमा कामना भन्छिन्, ‘बेला बेला दूध चुसाउन गइरहन्छु । बच्चालाई केही नभइदिए, हामी जस्तो दुख पनि सहन तयार छौं ।’

जुन दिन मणिपालमा धरौटी र दैनिक खर्चको बिल जानबहादुरहरुलाई बतायो, त्योभन्दा एक हप्ता अगाडि जेठ ५ गते नै अस्पतालसँग निशुल्क उपचारका लागि सम्झौता भएको सरकारले सूचना सार्वजनिक गरेको थियो । पोखराको गण्डकी मेडिकल कलेजसँगै मणिपाल शिक्षण अस्पतालसँग सरकारले सम्झौता गरेको छ ।

जानबहादुरलाई यो बारे जानकारी छैन । न सरकारबारे जानकारी छ न त जनताका लागि कहाँ कस्तो सुविधा छ भन्ने नै थाहा छ । उनलाई यति थाहा छ, बच्चाको ज्यान बचाउनु छ र भोलि बाँच्न फेरि मजदूरी गर्न निस्कनु छ । ‘औषधिसहित गरेर २० हजार रुपैयाँ मणिपालमै खर्च गरेपछि अरु पैसा मसँग थिएन । कोरोना लाग्नेबित्तिकै धरौटी र अरु दिनको खर्च भनेर पैसा माग्न थालेपछि म आत्तिएँ,’ जानबहादुरले भने, ‘यस्तो बेला केही सोच्न सकिँदो रहेनछ, हजुर ।’

जेलबाङको समान्य परिवारमा हुर्केका उनले गाउँमा पढ्न पनि पाएनन् । कोरियन भाषा सिक्न पोखरा आएका जानबहादुरले नाम निकाल्न सकेनन् । रोल्पाकै ठेकेदारको सम्पर्कमा आएपछि उनले पोखरामै मजदूरी गर्न थालेका थिए ।

३ वर्षअघि मजदुरीकै क्रममा भेटिएकी कामनासँग उनले विवाह गरेका थिए । ‘मजदूरी गरेर बाँचिरहेकै थियौं । बच्चा जन्मिएपछि झनै खुसी थियौं । तर, बच्चा एकदम बिरामी हुँदा अस्पतालले ठूलो पैसा माग्दा मुटु नै चुँडियो । डर लाग्यो,’ उनले ओंठ कमाउँदै भने, ‘यो त सरकारी अस्पताल हो, पैसा लाउँदैन भन्छन् ।’

पैसा नभएकै कारण कोरोना संक्रमित २१ दिने बालकको उपचार नगरेको भन्दै पोखरामा आलोचना भइरहेको छ । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव विनोदबहादुर कुँवरले घटनाबारे जानकारी नभएको बताए ।

‘यो घटनाबारे जानकारी भएन । तर, कुनै पनि अस्पतालले धरौटी भनेर रकम लिन पाउँदैन । आइसियुमा उपचार भइरहेको बिरामीको दैनिक १५ हजार रुपैयाँसम्म सरकारले बेहोर्ने सहमति भएको हो,’ सचिव कुँवरले भने, ‘पैसाकै अभावमा कुनै पनि बिरामीको उपचार गर्दिन भन्न पाइँदैन, समन्वय गर्ने हो ।’ घटनाबारे अध्ययन गर्ने उनले बताए ।

मणिपाल शिक्षण अस्पतालका निर्देशक डा. कृष्ण वाग्नेरले बाहिर सार्वजनिक भएजस्तो घटना अस्पतालमा नघटेको र आफूले यसबारे आइतबारमात्र बोल्ने बताए ।

अस्पतालले अमानीय व्यवहार गरेको घटनाको छानबिन गर्न माग भइरहेको छ । केही युवाले जानबहादुरलाई सहयोग पनि गरिरहेका छन् । आफूहरुको पहलमा ३० हजार रुपैयाँ शिशुको उपचारमा सहयोग गरिएको नेवि संघका केन्द्रीय सदस्य भानु ढकालले बताए । जानबहादुरको परिवारलाई अस्पतालबाट घर फर्किएपछि पनि सहज जीवन यापनका लागि सहयोग पुग्ने ढकालको विश्वास छ ।

तपाईको प्रतिक्रिया