सँधियारबाट कुटिएका कुमाल विक्षिप्त

सञ्जय रानाभाट २०७८ साउन १२ गते १९:३२

पश्चिमाञ्चल क्षेत्रीय अस्पतामा उपचार हुँदै

सञ्जय रानाभाट
पोखरा
-तनहुँको घिरिङका ४५ वर्षीय भीमबहादुर कुमाल अहिले पश्चिमाञ्चल अस्पतालमा छन् । सँधियारबाट कुटिएका उनी अहिले विक्षिप्त अवस्थामा छन् । असार १६ गते कुटिएका उनी साउन ५ गते बल्ल अस्पताल ल्याइएका थिए ।


भीमबहादुरलाई डाक्टरले ढाडको अप्रेसन गर्नुपर्छ भनेका छन् । सुरुमा गण्डकी मेडिकल कलेज(जिएमसी)मा उपचार गरिएका कुमाललाई पछि गण्डकी अस्पताल लगियो । आर्थिक अवस्था कमजोर भएका उनलाई जिएमसीले गण्डकी पठाइदिएको बुहारी खुममायाले बताइन् । जिएमसीमा उपचारका लागि ६ हजार खर्च भएको थियो ।

Advertisement


‘बैशाख ५ गते नै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्यायौं । डाक्टरले ढाडको अप्रेसन गर्नुपर्छ भनुभएको छ । ६० हजार खर्च भइसक्यो,’ खुममायामा भन्छिन् ‘आमाले रिङ धितो राखेर निकालेको पैसा पनि सकियो । अब अप्रेसन गर्दा ७५ हजार लाग्छ भन्नुभएको छ, साथमा १ पैसा छैन ।’


भीमबहादुरले सँधियारको विवादमा अनाहकमा कुटाइ खाएका थिए । उनले १० वर्षअघि तनहुँको गडौँलीटारमा रहेको आफ्नो ६ रोपनी जग्गा चन्द्र कुमाललाई १० लाखमा बेचेका थिए । अहिले साँधमा सिँचाइबारे विवाद भएपछि उनी पुगेका थिए । भीमबहादुर भन्छन्, ‘१६ असारमा म घरमै थिएँ । चन्द्र कुमाल मलाई लिन घरमा आउनुभयो । १० वर्षअघि बेचेको खेतमा पानी लगाउन पाइन मिलाइदिनु प¥यो भन्नुभयो, म गएँ ।’

Advertisement


चन्द्रको आग्रहमा खेतमा पुगेका भीम पहिला आफूले बेचेको खेतामा पानी लगाउन लागे । अकस्मात उनीमाथि ३ जनाले आक्रमण गरे । सँधियार मंममाया कुमाल र उनका २ छोराले आफूलाई ढुंगाले प्रहार गरेको कुमालले दाबी गरे । सँगै रहेका चन्द्र कुमालले पनि पिटाइ खाए ।


‘यस दिन मंममायाको रोपार्इं रैछ । मैले पानी यसरी लगाउँथे भनेर देखाउदा मलाई ढुंगाले ५ मिनेट जति जथाभावी हाने, म कसोकसो गरेर भागेर घरमा आएँ । टाउको, शरीर एकदम दुखेको थियो,’ उनले भने, ‘तर अस्पताल गइनँ । शरीरले होस केही पाएको थिएन ।’


कुटाइ खाएका भीम अस्पताल नगई घरै बसे । घटनाको १ सातापछि मंममायाले गाउँमा बैठक राखिन् । २३ असारको बैठकमा सकिनसकी पुगेका भीमबहादुर बैठकको बीचैबाट हराए । कुटिएपछि विक्षिप्त बनेका उनी भन्छन्, ‘त्यहाँबाट कता गएँ, मैलाई केही थाहा छैन ।’


बैठकमा गएपछि भीमबहादुर घर नआएको श्रीमती फूलमायाले बताइन् । भनिन्, ‘हामीले सबैतिर खोज्यौं तर कहीँ भेटिएन । ३–४ दिनसम्म खोज्यौं ।’ भीमबहादुर घर नआएकोबारे कसैले प्रहरीमा खबर गरेन । बैठक चल्दाचल्दै हिडेका उनी ५ दिनपछि बल्ल घर आएको बुहारी खुममाया बताउँछिन् । ‘घरबाट मिटिङमा एक्लै जानुभएको थियो । मिटिङ चल्दै गर्दा कता जानु भयो, थाहा भएन ।’


२८ गते हातखुट्टा दुवै टेकेर भीम घर आए । उनको शरीरभरी घावैघाउ थियो । ‘घर आउँदा बुबाको सबैतिर घाउँ नै घाउँ थियो । शरीरभरी काटेको थियो । हिँड्न सक्नु भएको थिएन,’ उनी भन्छिन् । २९ गते भीमबहादुरको घरमा प्रहरी पुग्यो । प्रहरीले शरीरमा भएका घाउको फोटो खिच्यो ।

घटनाबारे सोधखोज ग¥यो । ‘त्यसपछि हामी कल गछौं भन्नुभयो तर अहिलेसम्म प्रहरीले केही भनेको छैन्,’ खुममाया भन्छिन् ‘बुवा मन जे आयो। त्यही बोल्नु हुन्छ । केही सुर पाउनुभएको छैन ।’ ढाउकोमा चोट लागेकाले ससुराले सुर नपाएको उनी दाबी गर्छिन् । डाक्टरले खुट्टामा कीरा परेको जानकारी दिएको उनी बताउँछिन् ।


भीमबहादुरसँग चन्द्रबहादुरले २०७२ सालमा जग्गा किनेका थिए । त्यो जग्गामा मंममायाले पानी लगाउन नदिएको चन्द्रका छोरा प्रकाश बताउँछन् । ‘खेतमा पानी लगाउने विषयमा विवाद चल्दा मंममायाले ढुंगाले हानेकी हुन् ।

बुवाको पनि दाहिने गालामा २ टाँका लगाएको छ । पछि भीमबहादुरलाई नि ढुंगाले टाउकोमा लाग्यो,’ प्रकाशले भने, ‘हामीले संयक्त रुपमा प्रहरीमा जाहेरी दिएका थियौं ।’


प्रकाशले जाहेरी दिएको जनाए पनि प्रहरी भने यसबारे कुनै जाहेरी नपरेको बताउँछ । जिल्ला प्रहरी कार्यालय तनहुँ डिएपी युवराज तिमिल्सिनाले यसबारे अहिलेसम्म जाहेरी नपरेको जनाए । २३ गतेको बैठकमा प्रहरी पनि सहभागी रहेको प्रकाशले बताए । उनले भने, ‘मैले भीमबहादुरलाई पनि बोलाएको थिएँ, मिटिङबाटै हराउनुभयो ।’


बैठकले मंममायाले उपचार खर्च दिनुपर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार चन्द्रबहादुरलाई उनले उपचार खर्च ५ हजार दिएको छोरा प्रकाशले जानकारी दिए । बैठकमा पनि भीमबहादुरले सुरको कुरा गरेका थिएनन् । कुनै बेला मेरो गल्ती भयो भन्ने त कुनै बेला मलाई कुटे भनेका थिए । बैठक चल्दै गर्दा उनी उठेर हिडेका थिए ।

प्रकाश भन्छन्, ‘कति खेर मेरो गल्ती भयो भन्नुहुन्थ्यो, कतिखेर मलाई हिर्काए भन्नुहुन्थ्यो । मिटङ चल्दै थियो । एक्कासि ट्वाइलेट जान्छु भनेर हाराएपछि ४÷५ दिनपछि २८ गते घर आउनुभयो ।’


२८ असारमा घर फर्किएका भीमको स्वास्थ्य अवस्थ झन नाजुक थियो । उनी बेहोसीमै बर्बराउने गरेको बुहारी खुममायाले सुनाइन् ।
यता, सँधियार मंममाया १६ गते हात हालाहालामात्र भएको जिकिर गर्छिन् । त्यो दिन भीमबहादुरको अवस्था सामान्य रहेको उनको दाबी छ । ‘सुरुमा उहाँले मलाई हात हाल्नुभयो ।

मैले पनि हिलोले हिर्काए, टाउकोमा टुटुल्को उठेको छ भन्थे । मिलापत्र गर्न जाँदा भाग्नुभयो,’ मंममायाले भनिन्, ‘हराएपछि घर आउँदा अवस्था बिग्रिएको हो । गाउँले सबैले देखेका छन् ।’

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया