पश्चिमाञ्चल अस्पतालमा भरिए कोभिडका बिरामी

सञ्जय रानाभाट २०७८ साउन १४ गते १३:१७

इमर्जेन्सीमा बसेर बेडको पर्खाइ

सञ्जय रानाभाट
पोखरा – पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोभिडका बिरामीका लागि ७६ बेड उपलब्ध छन् । अहिले संक्रमित बढ्दा बेडहरु भरिभराउ छन् । कोभिड वार्ड भरिएर इमर्जेन्सी वार्डमा समेत ८ कोभिड संक्रमितलाई राखिएको छ ।


बेड पाउने आशमा उनीहरु अस्पतालको इमर्जेन्सी वार्डमै बसेर पर्खिरहेका छन् । सरकारले लकडाउन खुकुलो बनाएसँगै क्षेत्रीय अस्पतालमा कोरोना संक्रमणका बिरामी बढेका हुन् । उपचारका लागि आउने संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका कोभिड फोकल पर्सन डा. शरद बरालले जानकारी दिए ।

Advertisement


सरकारले लकडाउन खुकुलो बनाएसँगै मानिसले अनुशासन र साधारण सुरक्षा मापदण्ड पालना नगर्दा संक्रमण बढेको बरालको ठम्याइँ छ । उनी भन्छन्, ‘बिरामी भेट्न आउँदा गु्रपमा आउने, बिरामीका आफन्तले हेलचेक्र्याई गरी सुरक्षाका आधारभूत नियम पालना नगर्ने, बहिर हिँड्दा सुरक्षाका मापदण्ड पालना नगर्दा अवस्था जटिल बन्दै गएको हो ।’


संक्रमण बढ्दै जाँदा व्यवस्थापकीय पक्षमा स्तरोन्नति, स्वास्थ्यकर्मी र चिकित्सकलाई उत्प्रेरणा नभएको बराल बताउँछन् । ‘गण्डकीको हकमा न सञ्चारकर्मी बोल्छन्, न कुनै सामाजिक व्यक्त बोल्छ । फेरि कोरोना संक्रमण बढ्दै जादा स्वास्थ्यकर्मीको मनोबल एकदमै कमजोर भइसकेको छ,’ उनले भने, ‘बजारदेखि अस्पतालसम्म भीड छ । संक्रमित बढ्दा बेड व्यवस्थापन गर्न कठिन भएको छ ।’

Advertisement


गण्डकी अस्पतालमा दैनिक सरदर ७ सय मानिस उपचारका लागि आउने गरेका छन् । संक्रमण बढ्दा अस्पतालमा बोझ थपिएको उनी बताउँछन् । केही दिनदेखि देशैभरि संक्रमितको संख्या बढ्दै छ । गण्डकी प्रदेशमा मंगलबार पनि संक्रमण दर बढेको छ । मंगलबार देशभर २४ घण्टामा ३ हजार ८ सय ९९ संक्रमित थपिए । त्यसमध्ये गण्डकी प्रदेशमा ५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालमा अहिले अक्सिजन अभाव भने नरहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. भरत खत्रीले बताए । अस्पतालमा दैनिक २ सय सिलिन्डर अक्सिजन खपत हुने उनले जानकारी दिए । खत्री भन्छन्, ‘असारमा संक्रमण दर कम भए पनि साउनयता कम भएको छैन । संक्रमण दर कम नहुँदा बेड खाली छैनन् । अस्पतालमा दैनिक ७० जनाको कोरोना टेस्ट गरिन्छ ।’

डा. खत्रीले खोप लगाए पनि सुरक्षा मापदण्ड अपनाउन र सुरक्षित हुन अनुरोध गरेका छन् । खोप लगाएकाहरु कोरोना सर्दैन भनी बेपरवाह बजार डुलिरहनु जोमिखपूर्ण हुने खत्री बताउँछन् । उनी भन्छन्, ‘खोप लगाएकाहरुले पनि संक्रमण भएर उपचार गराइरहेका छन् । खोपले जोखिम कम गर्नेमात्र हो ।’ खोप लगाए पनि कोरोना सर्न सक्ने भएकाले सावधान रहन र सुरक्षा मापदण्ड सधै पालना गर्न उनले आग्रह गरे ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया