पोखरामा कुखुराकाे मासु अन्तभन्दा किलोमै १०० रुपैयाँ महँगो

सञ्जय रानाभाट २०७८ साउन २६ गते १३:५५

कास्कीमा अन्तबाट कुखुरा ल्याउनै दिइन्न

सञ्जय रानाभाट
पोखरा
– काठमाडौं र चितवनमा बोइलर कुखुराको मासुको मूल्य प्रतिकेजी ३ सय ५० रुपैयाँ छ । तर, पोखराको हकमा भने यस्तो छैन । त्यही मासु किन्न पोखरेलीले प्रतिकेजी ४ सय ५० रुपैयाँ तिर्नुपर्छ । कारण हो कुखुरा आयातमा लगाइएको सिन्डिकेट ।


जानकारहरु भन्छन्, ‘बोइलर कुखराको मासु पाइने चितवनबाट कुखुरा आयत गर्न दिइँदैन । आयातित कुखुरा मुग्लिङ कट्न नै नदिने अवस्था छ ।

स्थानीय उत्पादनमा धेरै लागत देखाइन्छ । सिन्डकेट लगाएर बजारमा प्रतिस्पधा गर्न दिइँदैन र बजार भाउ महँगो बनाइन्छ ।’ स्थानीय उत्पादनले धानिएको पोखराको मासु अन्य जिल्लाभन्दा किलोको १०० रुपैयाँले महँगो छ ।

Advertisement


पोखरामा सिधै मासु पसलेले कुखुरा किन्न पाउँदैनन् । कृषकबाट सप्लायर्सले किन्छ । सप्लायर्समार्फत पसलमा बेचिने पोल्ट्री व्यवसाय संघ कास्कीका अध्यक्ष गुरुप्रसाद पौडेलले बताए । ‘कृषकबाट सिधै पसलेले पाउने अवस्था थियो । तर यस्तो अवस्था अहिले छैन । ‘पहिला कुखुरालाई झुन्ड्याएर बाइकमा हालेर हिँड्दा कुखुरालाई धेरै कष्ट भयो, बजार कुरुप र फोहोर भयो,’ उनले भने ‘पुलिस प्रशासनले पनि काबाही अगाडि बढायो, अहिले सप्लार्यसको माध्यमबाट किनबेच हुन थालेको छ ।’
कुखुराको उत्पादन हुने केन्द्र चितवन हो तर काठमाडौंमा पनि पोखराको भन्दा सस्तो छ ।

बजार अनुगमन नहुँदा पनि मूल्य महँगो भएको हुनसक्ने उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइराला बताउँछन् । भन्छन्, ‘मूल्य निधारण भएको एक सातासम्म नियम लागु हुन्छ । त्यसपछि फेरि मनपरि चल्छ । अब फेरि बजार अनुगमन तीब्र बनाउनुपर्छ ।’

Advertisement


स्पेसल मासु बिक्री गर्दा महँगो पर्न जाने व्यापारीहरुले दाबी गरे । एक मासु व्यवसायी भन्छन्, ‘पशु सेवा कार्यालयका कर्मचारीको आफ्नै फर्म छ । नियगमन गर्ने निकायले नै मनपरी चलाउँछन् । जो जहाँ नियमन गर्न बसेको छ, त्यसलाई कारबाही नहँुदा हैरान परेका छौं ।’
पोखरामा उपभोक्तासम्म मासु पुग्न ४ वटा सिँढी पार गर्नुपर्ने हुन्छ । कुखुरा पालक हुँदै, सप्लायर्स, ह्याचरी संघ, बिक्रेता संघ र अन्तिममा उपभोक्ता यसरी बिक्री हुँदा महँगो पर्ने गरेको उपभोक्ता हित संरक्षकर्मी कोइराला बताउँछन् । कास्कीमा व्यवसायीले नै मूल्य निर्धारण गर्ने गर्दा पनि महँगो हुन गएको कोइरालाको भनाइ छ । मासु जस्ता उपभोग्य वस्तुको मूल्य सरकारी निकायले तोकिदिनुपर्ने उनले बताए । ‘राज्यबाट करोडौं अनुदान लिने, अनि उल्टो उपभोक्तालाई राहत दिनुपर्नेमा झनै आहात दिने गरिएको छ,’ उनले भने ।


मूल्य निर्धारण बजारको मागका आधारमा भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रकी वरिष्ठ पशु सेवा अधिकृत डा. शोभा शर्मा बताइन् । उनका अनुसार कास्कीमा २०७७÷८८ मा वार्षिक ९ हजार २ सय ९१ टन मासु बिक्री हुन्छ । बजारमा मासुको माग जति बढी भयो उति महँगो हुँदै जाने उनी बताउँछिन् । मासुको मूल्य अस्वाभाविक हुनुमा सप्लायर्सको हात प्रमुख रहेको उनले सुनाइन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया