पर्वतको जलजला गाउँपालिका अध्यक्ष मल्ललाई पक्रेर जेल हाल्न पत्राचार

समाधान संवाददाता २०७८ भदौ ३ गते १०:३६

समाधान संवाददाता, पोखरा

पर्वतको जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ललाई पक्रेर जेल चलान गर्न कास्की जिल्ला अदालतले पुर्जी काटेको छ । अध्यक्ष मल्ललाई ठगी मुद्दामा पक्राउ गर्न अदालतले जिल्ला प्रहरी कार्यालय पर्वतलाई पत्र लेखेको हो ।

जिल्ला अदालतले चैत २७ गते मल्लाई लेनदेन मुद्दामा ६ महिना कैद सजाय सुनाएको थियो । गाउँपालिका अध्यक्ष मल्ललाई ४ महिना बितिसक्दा पनि पक्राउ नगरेपछि अदालतले जिल्ला प्रहरी कार्यालय पर्वतलाई फैसला पत्र लेखी पक्राउ गरी अदालतमा पेश गर्न आदेश दिएको हो ।
ध्रुववहादुर थापा र गाउँपालिका अध्यक्ष मल्लबीचको लेनदेन विवाद अदालत पुगेको थियो । अदालतको ताकेतापछि जिल्ला प्रहरी कार्यालय पर्वतले गाउँपालिका अध्यक्ष मल्ललाई पक्राउ गर्न खोजी थालेको छ ।

Advertisement

अदालतको पत्रमा उनलाई जिल्ला काराकार कास्की चलान गर्न समेत भनिएको छ । मल्ल नेपाली कांग्रेस पर्वतका प्रभावशाली नेता हुन् । निर्माण व्यवसायीसमेत रहेका उनी आगामी महाधिवेशनमा जिल्ला सभापतिका दावेदार हुन् ।

पर्वतका डिएसपी शिवराज बुढाथोकीले मल्ललाई पक्रन भनी हिजो बुधबार पत्र आइपुगेको पुष्टि गरे । “हामीले उहाँको खोजतलास गरिरहेका छौं, डिएसपी बुढाथोकीले समाधानसँग भने, उहाँ आफ्नो व्यवसाय भएको ठाउँ, घर र गाउँपालिकामा पनि हुनुहुन्न, मोबाइल पनि अफ छ ।

Advertisement

तपाईको प्रतिक्रिया