कृस्तीमा सहलगानी खानेपानीमा ढिलासुस्ती भएको गुनासो

समाधान संवाददाता २०७८ भदौ ११ गते १९:१६

समाधान संवाददाता
पोखरा- पोखराको कृष्तिमा निर्माणाधीन सहलगानी खानेपानी आयोजनाको काममा ढिलासुस्ती भएको भन्दै स्थानीयले गुनासो गरेका छन् । खानेपानी ट्यांकी निर्माणको काममा स्वेच्छाचारी गरेको र काम नै रोकेर ढिलासुस्ती गरेको भन्दै राजनीतिक दलका नेताहरुले समेत विरोध जनाएका छन् । नेकपा एमाले पोखरा २१ का अध्यक्ष कृष्णबहादुर थापा र नेपाली कांग्रेस वडा सभापति केवल गिरीले संयुक्त विज्ञप्ति जारी गर्दै डिपिजार बमोजिम ट्यांकी निर्माण कार्य अगाडि नबढाएकोमा आफूहरुको ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।


‘वडा नं २१ बासी आम जनसमुदायको चाहना बमोजिम सञ्चालित भरतपोखरी, कृस्ती, निर्मलपोखरी सह–लगानी खानेपानी आयोजना पोखरा २१ र ३३ ले पोखरा २१ को साबिक नाच्नेचौर गाविसतर्फ हिमालय टोल विकास संस्था अन्तर्गत मेलडाँडामा डिपिआर बमोजिम खानेपानी ट्यांकी निर्माण गर्ने कार्य अगाडि नबढाएकोमा पोखरा २१ का राजनीतिक पार्टीहरुको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
स्थानीयको भेलाले तत्काल निर्माण अघि बढाउन सुझाव दिँदासमेत स्वेच्छाचारी ढंगले निर्माणमा ढिलाइ गरिनु दुखद भएको विज्ञप्तिमा छ ।

निर्माणमा भएको ढिलाईका कारण जनताहरु पानी पाउने अधिकारबाट बञ्चित भएको उनीहरु बताउँछन् । ‘खानेपानीको मूल समस्या समाधान गर्नका लागि जिम्मा लिएको सहयोग समितिले डिपिआर बमोजिमका ठाउँमा दवाडी निर्माण, पाइप लाइन बिस्तार कार्य अगाडि नबढाई विभिन्न बहानाबाजी गरेर काम रोकिरहनु घोर आपत्तिजनक छ,’ विज्ञप्तिमा भनिएको छ । ट्यांकी निर्माण सम्पन्न गरी खानेपानीको व्यवस्थापन सहज बनाउन उनीहरुको माग छ ।

Advertisement


कृस्तीको मेलडाँडामा १ लाख लिटरको पानी ट्यांकी निर्माण गरी कृस्तीतर्फको भूभागमा पाइपलाइनबाट पानी वितरण गर्ने निर्णय गर्दै काम अगाडि बढाउन गरिएको अनुरोधलाई हदैसम्म बेवास्ता गरेपछि विज्ञप्ति जारी गर्न बाध्य भएको एमाले पोखरा २१ सचिव राजेन्द्र थापाले बताए । ‘हामीले बारम्बारभन्दा पनि विभिन्न बहानामा काम नगर्ने ?’ उनले भने, ‘कामलाई व्यवस्थित तरिकाले अगाडि नबढाएपछि हामी मिडियामा जान बाध्य भयौं ।’


यस विषयमा सहलगानी खानेपानी आयोजनाका अध्यक्ष दाताराम आचार्यले भने विज्ञप्ति जारी गर्नेहरुले विकास निर्माणको चाहना नै नराखेको आरोप लगाए । काममा ढिला नभएको र काम चलिरहेको उनको भनाइ छ । आयोजनाको अन्तिम म्याद मंसिरसम्म रहेको अध्यक्ष आचार्यले सुनाएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया