आयुर्वेदबाट पर्यटक तानौं : मुख्यमन्त्री

समाधान संवाददाता २०७८ भदौ १७ गते १३:४४

समाधान संवाददाता
पोखरा-गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशलाई आयुर्वेद चिकित्साको केन्द्र बनाउनुपर्ने बताएका छन् । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले मंगलबार पोखरामा गरेको वार्षिक समीक्षा गोष्ठीमा उनले विश्वभरका पर्यटक तान्न सफल गण्डकीमा आयुर्वेद चिकित्सको प्रचूर सम्भावना रहेकाले त्यसै अनुसार विकास गर्दैै लैजानुपर्नेमा जोड दिए ।


सानो भूगोल भए पनि गण्डकी प्रदेशमा धेरैथरी औषधीजन्य जडिबुटी रहेको सन्दर्भ उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले आयुर्वेद चिकित्साका माध्यमबाट पनि पर्यटक तान्न सकिने भनाइ राखे । पोखरा र आसपासका पदमार्गमा नियमित योग सञ्चालन गर्न सकिने भन्दै उनले युुरोप, अमेरिका लगायतका मुलुकबाट आएका पर्यटकको बसाइ लम्ब्याउन पनि यो विधि सहयोगी हुने बताए ।


राणाकालको समाप्तिसँगै तनहुँको बन्दीपुरका कविराज कृष्णकान्त अधिकारीलाई आयुर्वेद चिकित्सा हेर्नेगरी महानिर्देशकको जिम्मेवारी दिइएको स्मरण गर्दै पोखरेलले नेपालमा आधुनिक चिकित्सा भित्रिनुभन्दा पहिला सरकारी चिकित्साको क्षेत्रमा आयुर्वेदलाई नै अवलम्बन गरिएको बताए ।

Advertisement


गण्डकी प्रदेशका ८५ मध्ये ७६ स्थानीय तहमा आयुर्वेदका स्वास्थ्य संस्था रहेको र बाँकी पालिकामा पनि पूरा गरिँदै लगिने मुख्यमन्त्री पोखरेलले बताए । उनले भने, ‘प्रदेशभित्र सय शड्ढयाको आयुर्वेद चिकित्सालय बनाउने काम पनि सुरु भइसकेको छ, यसै वर्ष डिपिआर तयार हुन्छ ।’ जिल्लास्थित आयुर्वेद केन्द्रको भौतिक पूर्वाधार स्तरोन्नती गर्दै लैजान प्रदेश सरकार क्रियाशील रहेको उनले उल्लेख गरे ।


गण्डकी प्रदेशमा रहेका बहुमूल्य जडिबुटी संरक्षण र अधिकतम उपयोगका साथै किसानलाई जडिबुटी खेतीतर्फ आकर्षित गरी आर्यआर्जनको व्यवस्था मिलाउन सके उनीहरुलाई आत्मनिर्भर बनाउन सकिने मुख्यमन्त्री पोखरेलको भनाइ थियो । प्रदेशले स्वास्थ्य नीति ल्याउन लागेको जानकारी दिँदै उनले त्यसमा पनि आयुर्वेद र वैकल्पिक चिकित्साका विविध क्षेत्रलाई समेट्ने खालका नीति ल्याउन थालिएको बताए ।

Advertisement


कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या सचिव डा. विनोदबिन्दु शर्माले आयुर्वेद चिकित्सालाई पर्यटनसँग जोड्ने अगाडि बढ्न गण्डकी सरकार आतुर रहेको बताए । पदमार्गहरुमा प्राकृतिक उपचार केन्द्र स्थापना गर्नुपर्ने उनको भनाइ थियो ।
आयुर्वेद तथा चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले जहिल्यै पनि जडिबुटी र जलस्रोतको सम्भावनाका बारेमा चर्चा भएजति उपयोग गर्न नसकिएको भनाइ राखे । स्वास्थ्य जीवनशैली, सुरक्षित मातृत्व, ज्येष्ठ नागरिक उपचार, विद्यालयस्तरमै नैतिक शिक्षा र योगलाई समेट्दै विभागले काम गरिरहेको बताए ।


पञ्चकर्म र योग शिक्षालाई चालु पञ्चवर्षीय योजनाले समेटेको, संविधानले पनि सुनिश्चितता गरेको भए पनि यो क्षेत्र जनशक्ति र इच्छाशक्तिको कमीका कारण सँधै ओझेलमा परेको भनाइ उनको थियो । कोभिड महामारीमा आयुर्वेद चिकित्साको महत्व असाध्यै बढेको भन्दै उनले योग, प्राणायमका साथै गुर्जोको प्रयोग बढ्दै जानुले आफूहरु उत्साही रहेको भनाइ राखे ।


आयुर्वेद तथा वैकल्पिक चिकित्सा महाशाखा प्रमुख डा. मुनकर्ण थापाले संघीय सरकारको सशर्त अनुदानबाट विभागले अहिले वार्षिक रुपमा १८ वटा कार्यक्रम सञ्चालन गर्दै आएको बताए । हाल ३ सय पालिकामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा रहेकामा अब विस्तारै बढाउँदै लैजाने जनाए । ‘निरोगी नेपाल’ को नारालाई साकार पार्न ३ तहकै सरकारको सहकार्य जरुरी रहेको उनको भनाइ थियो ।

३ दिनसम्म चल्ने उक्त कार्यक्रममा गण्डकी र बागमती प्रदेशका आयुर्वेद कार्यालयका प्रमुख सहभागी छन् ।

तपाईको प्रतिक्रिया