वडामा कांग्रेसको अधिवेशन आज

समाधान संवाददाता २०७८ भदौ १८ गते १३:१६

समाधान संवाददाता
पोखरा- नेपाली कांग्रेसको १४ औं महाधिवेशनको सन्दर्भमा शुक्रबार कास्कीका ५ पालिकाका ७२ वटा वडामा पार्टीको अधिवेशन हुँदैछ । अधिवेशनले वडाको नयाँ नेतृत्वसहितको कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरु निर्वाचित गर्नेछ ।


अधिवेशनका लागि सबै ७२ वडामै मतदान अधिकृतहरु निर्वाचन सामग्रीसहित पठाइसकिएको जानकारी कास्कीलाई जिल्ला निर्वाचन अधिकृत तोकिएका अधिवक्ता आरसी विमल पौडेलले जानकारी दिए । मतदान अधिकृतहरुलाई पार्टीको विधान, नियमावली, निर्देशिका र क्रियाशील सदस्यहरुको नामावलीसहितका निर्वाचन सामग्रीहरु उपलब्ध गराएर वडावडामा पठाएको पौडेलले समाधानलाई बताए ।


सबै क्रियाशील सदस्यले प्रत्यक्ष मतदान गरी वडा कार्यसमिति र प्रतिनिधि चयन गर्ने विधानमा व्यवस्था छ । वडा अधिवेशनले वडा कार्यसमिति, क्षेत्रीय प्रतिनिधि र नगर प्रतिनिधि चयन गर्नेछ । वडा समितिमा १ सभापति, २ उपसभापति, २ सचिव, २ सहसचिव र सदस्यहरु निर्वाचित हुनेछन् ।

Advertisement


कांग्रेसको विधान अनुसार १ सय ५० क्रियाशील सदस्य भएको वडा इकाइ समितिबाट १६ क्षेत्रीय अधिवेशन प्रतिनिधि चयन हुनेछन् । १ सय ५० माथि थप प्रत्येक १ सय क्रियाशील सदस्यबाट १० जनाका दरले क्षेत्रीय अधिवेशन प्रतिनिधि चयन हुने विधानमा व्यवस्था छ । २ सय ५० भन्दा धेरै क्रियाशील सदस्य भएको इकाइले २६ जना, ३ सय ५० भन्दा बढी सदस्य भएको इकाइले ३६ जना क्षेत्रीय अधिवेशन प्रतिनिधि चयन गर्ने छन् ।

जति धेरै क्रियाशील सदस्य रहे पनि १ इकाइबाट ७६ जनाभन्दा बढी क्षेत्रीय प्रतिनिधि चयन गर्न पाइने छैन ।
यही वडा अधिवेशनबाट १ महिलासहित ३ जना नगर वा पालिका कार्यसमिति सदस्य निर्वाचित हुने छन् ।

Advertisement

वडा अधिवेशनपछि पालिकाको इकाइ नेतृत्व चयनका लागि निर्वाचन हुनेछ । पालिका समितिका लागि वडा समितिका सभापति, पालिका भित्रका वडा इकाइबाट चयन भएका क्षेत्रीय प्रतिनिधि र वडाबाट निर्वाचित पालिका कार्यसमितिका सदस्यले मतदान गर्ने छन् ।


पालिका अधिवेशनबाट २ जना अपांग क्षेत्रीय अधिवेशन प्रतिनिधि चयन हुनेछन् भने पालिका इकाई समितिका सभापति पदेन क्षेत्रीय अधिवेशन प्रतिनिधि हुनेछन् । यसपछि प्रदेश सभा क्षेत्रीय अधिवेशन हुनेछ ।

यो अधिवेशनले प्रदेश सभा क्षेत्रीय कार्यसमिति र प्रदेश अधिवेशन प्रतिनिधि चयन गर्नेछ । यो अधिवेशनमा वडा र पालिकाबाट चयन भएका क्षेत्रीय अधिवेशन प्रतिनिधिमात्र सहभागी हुन पाउनेछन् ।


प्रदेश सभा क्षेत्रबाट १६ जना प्रदेश अधिवेशन प्रतिनिधि छनोट हुनेछन् । प्रदेश अधिवेशनमा प्रत्येक प्रदेश सभाबाट प्रदेश सभापति र १६ जना प्रतिनिधि गरी १७ जना सहभागी हुनेछन् । त्यसपछि प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गर्ने कार्यक्रम छ । केन्द्रीय महाधिवेशन प्रतिनिधि यही प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट चयन हुने भएकाले यसले धेरै नेताको ध्यान तान्छ ।


क्षेत्रीय कार्यसमितिका साथै प्रत्येक निर्वाचन क्षेत्रबाट २५ जना महाधिवेशन प्रतिनिधि यही अधिवेशनबाट चयन हुने भएकाले केन्द्रीय राजनीतिमा जान खोज्ने कांग्रेस नेताका लागि यो दिन विशेष हुनेछ । यिनै २५ जना केन्द्रीय महाधिवेशनका सहभागी हुनेछन् ।

तपाईको प्रतिक्रिया