एमाले फुटेको हैन, काँचुली फेरेको : गोकुल बाँस्कोटा

श्याम कुँवर २०७८ असोज ५ गते १६:५६


पोखरा, ५ असोज

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोकुल बास्कोटाले वर्तमान सत्ता गठबन्धनका कालो धनलाई सेतो बनाउन प्रतिस्थापन विधेयक ल्याएको आरोप लगाएका छन् ।


उनले त्यस्तो कार्यले आर्थिक सुशासनलाई चुनौती दिएको टिप्पणी गरेका छन् । प्रेस चौतारी नेपाल कास्कीले मंगलबार गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता बास्कोटाले केपी शर्मा ओलीको नेतृत्वको सरकारलाई विस्थापित गरी नयाँ सत्ता गठबन्धनको लागि कालो धनको प्रयोग भएको संकेत गरे । उनले केही क्षेत्रमा लगानी गर्दा स्रोत देखाउन नपर्ने व्यवस्था ल्याएर कालो धनलाई सेतो बनाउने प्रयास भएका आरोप लगाए । ‘कालो धनलाई सेतो बनाउन कानुन संशोधन गर्नु पर्छ । यस्को तात्पर्य सीधा छ । सत्ताका गठबन्धनको कसैको अवैध पैसा छ,’नेता बास्कोटाले भने, ‘सत्ताका गठबन्धनको कालोधनलाई सेतो बनाउनुपर्‍यो?’ उनले सरकारी तवरबाट कालो धनलाई सेतो बनाउदा नेपाल कालो सुचीमा पर्न सक्ने संकेत गरे ।

Advertisement


उनले माओवादीको अर्थमन्त्री हुनासाथ अवैध धनको स्रोत देखाउन नपर्ने व्यवस्था गरिएको टिप्पणी गरे । ‘हामीले प्रश्न उठाउनुपर्ने भयो कि हिजो बैंक लुटेको पैसा कहाँ छ ?,‘उनले भने, ‘सशस्त्र द्वन्द्वकालमा किसानसित, कुखुरा र भैंसी व्यापारिसित पनि चन्दा उठाइयो । हिजो माष्टरले तलब बुझ्न पाएनन् । जसले तलब बुझ्छ, माओवादी पुगिहाल्थ्यो ।’ नेता बास्कोटाले केही मान्छेले अवैध ढंगले कमाएको अकुत सम्पत्तिलाई वैधानिककरण गर्न विधेयकको प्रतिस्थापन विधेयक ल्याएर आरोप लगाए । उनले सबैसँग चन्दा बटुलेर माओवादीका नेताले अकुत सम्पत्ति कमाएको आरोप समेत लगाए ।


फरक प्रंसगमा नेता बास्कोटाले लोेकतन्त्रको खिल्ली उडाएर र संविधानलाई बलत्कार गरेर वर्तमान सरकार बनेको उल्लेख गरे । उनले सरकार प्रति लक्षित गरी महाकथानक चलचित्रले ६७ दिन मनाएको र दर्शकको भिडले फिल्म चलेको प्रतिक्रिया दिए । उनले सरकारले १ हजार ४ सय १० बाटो घाटो बनाउन नपर्ने निर्णय गरेको बताए । उनले सतीदेवीको अंग पतन भए जस्तो वर्तमान सरकारको हालत हुने टिप्पणी गरे । नेता बास्कोटाले ‘लम्पसार’राष्ट्रवादको उत्कृष्ट नमुनाको रुपमा रहेको वर्तमान सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध सुधार गरेर उधुम काम गरेको उल्लेख गरे । मिलेनियम च्यालेञ्च कर्पोरेशन (एमसीसी)को सम्झौता प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले गरेको उल्लेख गर्दै उनले संसदमा पेश गरेर अनुमोदन गराउने काम सत्ता पक्षको भएको बताए । माओवादी अध्यक्ष प्रचण्डले एमसीसीलाई गिजोलेको र विदेश सितको सम्बन्धलाई मजाकको विषय बनाएको उनले उल्लेख गरे । उनले हरेक कुराको चुक्लीवाला कुटनीतिले सम्बन्ध सुधार नहुने बताए । उनले एमाले कुनै पनि देशसँग पुँजी र प्रविधि सहयोग लिने कुरामा प्रष्ट भएको चर्चा गरे ।

Advertisement


नेता बास्कोटाले पार्टी फुटेको नभएर एमालेले काँचुली फेरेको दाबी गरे । हरेक वसन्त ऋतुमा कोइली कराँउदा नयाँ पात पलाएजस्ता एमालेले काँचुली फेरेको उनले उल्लेख गरे । उनले माधव नेपालको पार्टीको अस्तित्व सितको जस्तो घाम नझुल्कदासम्मको मात्र भएको आरोप लगाए । चुनाव नहँुदासम्म लागि सो पार्टीको अस्तित्व रहने उल्लेख गर्दै उनले चुनावको अगिल्लो दिनसम्म गठबन्धन कायम रहने तर्क गरे । उनले चुनावमा कांग्रेसलाई सिट नपुगेर बागी विद्रोही हालेर जात्रा हुने भएकोले अरु पार्टीलाई छोड्न नसक्ने दाबी गरे ।


उनले न्यायालयले न्याय दिनु पर्नेमा एमाले प्रति पूर्वाग्रह साँधेको आरोप लगाए । सर्वोच्चले सांसद निश्कासन सम्बन्धि एउटै मुद्दामा ३ खालको निर्णय गरेको उल्लेख गर्दै उनले फैसला मानेपनि अदालतको सबै कामको निगरानीमा राख्ने बताए । पूर्व सञ्चार मन्त्री समेत रहेका बास्कोटाले मिडियाको सवलीकरण विना लोकतन्त्र सुदृढ नहुने बताए । उनले प्रेसको आर्थिक सवलीकरण, पत्रकारको वृत्ति विकास र पेशागत सुरक्षा नभए मर्यादा कायम हुन नसक्ने उल्लेख गरे । उनले मिडियाले प्रकासन र प्रशारण गरेको सामाग्री आफै पाठकको कठघरामा उभिएर परिक्षण गर्नु पर्ने बताए । संघीय कानुनसँग बाझिने गरी प्रदेशले कानुन बनाउन नपाउने उल्लेख गर्दै उनले गण्डकी प्रदेशका मिडिया विधेयक सैद्धान्तिक हिसाबले पास नहुने तर्क गरे । कार्यक्रममा प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष अर्जुन गिरी, कार्य समितिका सदस्य कमल सुवेदीले बोलेका थिए ।

श्याम कुँवर

कुँवर समाधान दैनिकका वरिष्ठ उपसम्पादक हुन् । 

तपाईको प्रतिक्रिया