त्रिशूलीमा बेपत्ता भुजेलको दाहसंस्कार

समाधान संवाददाता २०७८ असोज १५ गते २०:२३

पोखरा । निजी कारसहित त्रिशूली नदीमा बेपत्ता व्यवसायी प्रेमबहादुर भुजेलको ८ दिनपछि शुक्रबार कुशको प्रतीकात्मक आकृति बनाएर दाहसंस्कार गरिएको छ । असोज ८ गते काठमाडौंबाट पोखरा आउँदा पोखरा १७ का लेखबहादुर भुजेल र ईश्वरी भुजेल चढेको प्रेमको गाडी त्रिशूलीमा खसेको थियो ।

प्रेमले चलाएको ग२च ४९१८ नम्बरको कार मुग्लिङभन्दा ३ किलोमिटर जति पूर्व नाग्दीखोला भन्ने ठाउँबाट त्रिशूलीमा खसेको थियो । पोखरा चेम्बर अफ कमर्स कास्की अध्यक्ष यमनाथ पौडेलले भुजेलको पोखरा १७ बिरौटा स्थित निजी निवासबाट शवयात्रासहित नयाँबजारको शान्तिवन वाटिकाको सेतीनदीमा दाहसंस्कार गरिएको बताए । छोरा प्रमोद भुजेलले दागबत्ती दिए । असोज १९ गते मंगलबार शुद्धशान्ति गरिने भएको छ ।

अध्यक्ष पौडेलले प्रशासन, स्थानीय अनुभवीहरुको सल्लाह, सुझाव अनुसार अहिलेका लागि परम्परागत, धार्मिक रीतिरिवाज अनुसार दाहसंस्कार गरिएको जानकारी दिए । ‘चेम्बरका वरिष्ठ उपाध्यक्ष भुजेल त्रिशूली नदीमा खसी हराइरहेकोमा सबै उपाय लगाएर व्यापक खोजी गर्दासमेत फेला पार्न नसकेको पीडादायी क्षणमा छौं,’ उनले भने, ‘तत्काल भेटिने सम्भावना अत्यन्त न्यून भए पनि खोजी भने जारी राख्दै अहिलेको लागि मृत्युसंस्कार पूरा गर्नुपर्ने बाध्यता भयो ।’ उनले व्यवसायी भुजेलको परिवारसँगको समन्वयमा मृत्यु संस्कार गरिएको बताए । व्यवसायी प्रेमसँगै बेपत्ता लेखबहादुर र ईश्वरीको भने केही गरिएको छैन ।

Advertisement

गण्डकी प्रदेश चेम्बर अफ कमर्स अध्यक्ष किसान सुनारले दुर्घटना स्थल नाग्दीखोला क्षेत्रमा सडक विभागसँगको समन्वयमा गाडी छेक्नका लागि सिमेन्टको वाल रेलिङ निर्माण गर्ने योजना सुनाए । चेम्बरले कपडा व्यवसायी संघ कास्की, हंसपुर थुम्की समाज पोखरा, बिरौटाका व्यवसायी तथा परिवारको समन्वयमा अत्यधिक दुर्घटना स्थलमा ट्राफिकका चिह्न, दुर्घटनाका संकेत बोर्ड राख्ने जानकारी दिँदै उनले फेरि अर्को दुर्घटना हुन नदिन सतर्कता अपनाउने उल्लेख गरे ।

अध्यक्ष सुनारले निजी क्षेत्रको हक हितमा योगदान पु¥याएका प्रेमको दुर्घटनास्थलमा प्रतिमासमेत राख्ने योजना सुनाए । भुजेल पोखरा चेम्बर अफ कमर्स कास्की वरिष्ठ उपाध्यक्ष हुन् । कपडा व्यवसायी संघ कास्कीका पूर्वअध्यक्ष रहेका उनी पोखरा उद्योग वाणिज्य संघका पूर्व कार्यकारी सदस्य थिए ।

Advertisement

तपाईको प्रतिक्रिया