मुस्ताङको घीलिङ गाउँ सिचाई परियोजनाको काम सुरु

कन्ट्रक्सनले चालु वर्षको श्रावणदेखिनै सिचाई बिस्तारको लागि पाईप लाईनको ट्र्याक सुरु गरेको

सुन्दरकुमार थकाली २०७८ असोज १९ गते ११:०२

जोमसोम—गण्डकी प्रदेश सरकार अन्तर्गत खानेपानी,जलश्रोत तथा सिचाई सव डिभिजन कार्यालय मुस्ताङले लोघेकर दामोदरकुण्ड—३ घीलिङमा बृहत घीलिङ गाउँ सिचाई परियोजनाको काम सुरु गरेको छ । गण्डकी प्रदेशको ५ करोड ४३ लाख लागत स्टमेट मध्ये निर्माण कम्पनीले ४ करोड ३४ लाखमा ठेक्का सम्झौता गरी निर्माणको काम अघि बढाएको हो ।

समुन्द्री सतहदेखि करिव ४३ सय मिटर अग्लो उचाईमा अवस्थित भेना खोलाको मुहानबाट पाईप लाईन बिच्छ्याएर सिचाई बिस्तार गरिने खानेपानी,जलश्रोत तथा सिचाई सव डिभिजन कार्यालय मुस्ताङले जनाएको छ । सो सिचाई परियोजना निर्माणको जिम्मा थोदुङ बुद्ध हिमाली जेभी कन्ट्रक्सनले लिएको हो । भेना खोलादेखि घीलिङसम्मको ५ दशमलव ७ किमी अर्थात ५ हजार ७ सय ३३ मिटर लामो पाईप लाईन बिछ्याएर घीलिङको खेतीयोग्य जमिनमा पानी सप्लाई गरिने निर्माण कन्ट्रक्सनका प्रतिनिधि ओम रोक्काले जानकारी दिए ।उनका अनुसार

भेनाको दुईवटा खोलाको पानी एकै ठाउँमा ल्याउन ३ वटा सिचाई बाँध निर्माण गरिने निर्माण प्रतिनिधि रोक्काले बताए ।
दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कन्ट्रक्सनले परियोजनाको सम्झौता गतवर्षको असार २६ गरेको थियो । योसंगै कन्ट्रक्सनले चालु वर्षको श्रावणदेखिनै सिचाई बिस्तारको लागि पाईप लाईनको ट्र्याक सुरु गरेको कन्ट्रक्सनका प्रतिनिधि रोक्काले जानकारी दिए ।उनका अनुसार अहिलेसम्म ५ दशमलव ७ किमी पाईप लाईन ट्र्याक मध्ये ४ किमी ट्र्याक खोल्ने काम भईरहेको अब १ दशमलव ७ किमी ट्र्याक खोल्न बाँकी रहेको छ ।

Advertisement

यस्तै ,परियोजना अन्तर्गत घीलिङ गाउको खेती गर्ने भुभागको वरिपरी २ सय ८४ मिटर आरसिसी कुलो निर्माण गरिने छ । परियोजना समयमै सम्पन्न गर्ने लक्ष्यका साथ झन्डै ३ दर्जन मजदुर र उपकरण व्यवस्थापन गरिएको निर्माण कन्ट्रक्सनको भनाई छ ।उपल्लो मुस्ताङको घीलिङ गाउँ कृषि र पशुपालनले महत्वपूर्ण मानिएको छ । घीलिङमा सिचाई परियोजना सम्पन्न भएमा त्यहाँका ६८ घरधुरीका किसान प्रत्यक्ष लाभान्वित हुने वडाध्यक्ष सम्तेन धावा गुरुङले जानकारी दिए ।

कृषि क्षेत्रको प्रचुर सम्भावना रहेपनि घीलिङमा भरपर्दो सिचाईको ब्यवस्था नहुँदा स्थानीय किसानले निकै सास्ती भोग्न बाध्य परेको वडाध्यक्ष गुरुङको भनाई छ ।‘केही वर्ष सिचाई नहुँदा किसानको अन्नबाली खेतमा मर्न पुगेको थियो,अहिले ३ वटा पोखरीमा पानी संकलन गरी सिचाई जोहो गरेका छौं,वडाध्यक्ष गुरुङ थपे,‘ प्रदेशले हाम्रो गाउमा सिचाई परियोजना अघि बढाउदा खुसी छौं,परियोजनापछि बिगतको जस्तो दुःख र सास्ती ब्यवहोर्न पर्देन ।’ उनले गण्डकी प्रदेश सरकारले बृहत सिचाई परियोजना अघि बढाएपछि स्थानीय किसान उत्साहित भएको बताए ।

Advertisement

फोटो क्याप्सन ः
घीलिङ गाउँ सिचाई परियोजनाको पानीको मुहान अवलोकन

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया