एमाले महाधिवेशन

आज एमालेको वडा नेतृत्व चुनिँदै

कास्कीका ५ पालिकाका ७२ वडामा सकेसम्म सर्वसम्मत, नभए निर्वाचन गरिने

समाधान संवाददाता २०७८ कार्तिक ६ गते ११:२४


पोखरा
मुलुक संघीय संरचनामा गएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले )कास्की अन्तर्गतका सबै पालिकाको वडा अधिवेशन शनिबार हँुदै छ । कास्कीका ५ पालिकाका ७२ वटै वडामा एकै साथ प्रथम वडा अधिवेशन गर्न लागेको एमाले जिल्ला कमिटी कास्की अध्यक्ष कृष्ण थापाले जानकारी दिए । नेपालको संविधान निर्माण तथा राज्यको पुनर्सरचनापछि एमालेले पार्टीका स्थानीय कमिटीको कात्तिक ६ गते वडा अधिवेशन तथा कात्तिक ९ गते पालिका अधिवेशन देशव्यापी रुपमा एकै पटक गर्न लागेको हो ।


जिल्ला कमिटी कास्कीले पार्टीको स्थानीय कमिटीको वडा तहको अधिवेशनका लागि निर्वाचन प्रतिनिधि तोकेको छ । अध्यक्ष थापाले अहिलेको अधिवेशनलाई एकता अधिवेशन बनाउने सोच अनुसार अधिकांश वडामा सर्वसम्मत रुपमा नेतृत्व चयनको प्रयास भइरहेको जानकारी दिए । यस्तो प्रयास गर्ने जिम्मा सम्बन्धित वडाका इन्चार्ज र सहइन्चार्जलाई दिएको थापाले बताए ।


नेकपा एमाले निर्वाचन कमिटी कास्की अध्यक्ष टीकाराम पंगेनीले स्थानीय कमिटीको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरिने जानकारी दिए । ‘नेतृत्व चयन गर्दा सकेसम्म सर्वसम्मत विधि अपनाइनेछ,’ अध्यक्ष पंगेनीले भने, ‘सर्वसम्मत नभए निर्वाचन विधि अपनाइनेछ ।’ उनले पार्टीको केन्द्रीय निर्वाचन आयोगले तयार पारेको निर्वाचनसम्बन्धी मार्गदर्शन २०७८ अनुसार निर्वाचनका सबै प्रक्रिया गरिने जानकारी दिए ।

Advertisement


उनले वडा इन्चार्जको रुपमा तोकिएका जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यले वडा अधिवेशनमा सहजीकरण गर्ने बताए । निर्वाचन कमिटीका सबै सदस्यलाई वडाको जिम्मेवारी तोकिएको छ । कमिटीका सदस्यले वडा इन्चार्ज र सहइन्चार्जले गर्ने सहजीकरणमा सहयोग गर्ने जानकारी दिँदै उनले कमिटीका सदस्यलाई फाल्तु कुरा गर्ने अधिकार नभएको बताए ।


एमालेको विधानमा वडा कमिटीमा ५ पदाधिकारी रहने व्यवस्था छ । कमिटीमा १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिवसहित २ उपसचिव निर्वाचित हुने व्यवस्था छ । २ मध्ये १ उपसचिव महिला हुनुपर्छ । गाउँपालिकाको वडा कमिटी ३१ सदस्यीय र महानगरपालिकाका वडा कमिटी ५१ सदस्यीय हुने व्यवस्था छ । सबै वडा कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य प्रतिनिधित्व गराउनु पर्छ ।

Advertisement


निर्वाचन आयोगको मार्गदर्शनले कमिटीमा आवद्ध सदस्यको विशेषता अनुरुप सम्बन्धित अधिवेशनले निर्धारण गरे बमोजिम समावेशीकरण गर्नुपर्ने व्यवस्था गरेको छ । श्रमिक, दलित, अल्पसंख्यक, आदिवासी, जनजातिको कमिटीमा प्रतिनिधित्व गराउन समावेशिताको आधार सामान्यतया सम्बन्धित समुदायको पार्टी संख्यालाई बनाइने मार्गदर्शनमा उल्लेख छ ।


निर्वाचन कमिटी कास्की सचिव झपट रानाभाटले अधिवेशनले आगामी ३ वर्षे कार्यकालका लागि नेतृत्व चयन गर्ने बताए । उनले स्थानीय अधिवेशनको सन्दर्भमा केन्द्रीय कार्यालयबाट जारी सर्कुलर अनुसार झण्डा ब्यानरको प्रयोग गरी जनसहभागितालाई व्यापक बनाई अधिवेशन भव्य रुपमा गर्ने जानकारी दिए । अधिवेशनमा वडाका सबै पार्टी सदस्य मतदाता हुन्छन् । उनले सबै वडाका अधिवेशनमा राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरी पारित गरिने बताए ।


रानाभाटले पालिका अधिवेशनका लागि स्थानीय पार्टी कमिटीले विधान बमोजिम प्रतिनिधि छनौटका लागि सर्कुलर गरेको खण्डमा अधिवेशनको क्रममा छनोट गरिने जानकारी दिए । विधानले वडा कमिटीले ५ सदस्य बराबर १ पालिका अधिवेशनका लागि प्रतिनिधिको व्यवस्था गरेको छ । सचिव रानाभाटले पोखरा महानगरको प्रथम अधिवेशन प्रतिनिधिका बारेमा महानगर कमिटीले निर्णय गरे बमोजिम हुने जानकारी दिए ।
नेकपा एमाले जिल्ला कमिटी कास्की सचिवालय सदस्य तथा जिल्ला समन्वय समिति कास्की प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले सबै वडा कमिटी सक्रियतापूर्वक अधिवेशनको तयारीमा लागेको बताए । सबै वडा अधिवेशन उद्घाटन समारोह ११ बजे तय गरिएको छ ।


एमालेको आइटी विभागले वडा अधिवेशन उद्घाटन समारोहलाई अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल सम्बोधन गर्ने व्यवस्था मिलाएको छ । विभागले अध्यक्ष ओलीले केन्द्रीय कार्यालयको ‘वार रुम’बाट सम्बोधन गर्ने र देशैभरका सम्भव भएसम्मका वडा अधिवेशनलाई भर्चुअल माध्यमबाट जोड्ने तयारी गरेको छ । सबै वडा अधिवेशन केन्द्रीय अध्यक्ष ओलीले एकै पटक औपचारिक रुपमा शुभारम्भ गर्ने व्यवस्था मिलाइएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया