गण्डकी मन्त्रिपरिषद

‘रामचन्द्र पौडेलको जोडबलले मन्त्री भएँ’ : डोबाटे

‘म पार्टीको सामान्य कार्यकर्ता हो, जे जिम्मेवारी पाउँछु, त्यो लिन्छु’

सञ्जय रानाभाट २०७८ कार्तिक ६ गते ११:२८

पोखरा ।


गण्डकी प्रदेशका विनाविभागीय मन्त्रीका डोवाटे विश्वकर्माले आफू नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको जोडबलले मन्त्री भएको बताएका छन् । शुक्रबार मुख्यमन्त्री कार्यालयमा पत्रकारसँग पहिलोपटक बोल्दै उनले यस्तो बताएका हुन् ।


‘राष्ट्रिय राजनीतिमा सरकार फेरबदलको समयदेखि नै रामचन्द्र पौडेलले मन्त्री बनाउन चाहे पनि मन्त्री हुन सकेको थिइनँ । प्रदेश सरकारको आलोचना बढी नै हुन थालेपछि मन्त्री भएँ,’ उनले भने । ढिलै भए पनि मन्त्री बनेकोमा उनले खुसी व्यक्त गरे ।

Advertisement


डोवाटे २५ असोजमा मन्त्री नियुक्त भएका थिए । त्यसअघि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले साउन ८ गते मन्त्रिपरिषद विस्तार गर्दा उनलाई समेत मन्त्री बनाउन बोलाए पनि अन्तिम समयमा उनको नाम काटिएको थियो । गण्डकी सरकारमा ११ मन्त्रालय छन् । डोवाटे पनि मन्त्री नियुक्त भएपछि मन्त्रिपरिषद् १२ सदस्यीय भएको छ । प्रदेश सभा सदस्यको संख्याको २० प्रतिशतलाई मन्त्रिपरिषद् सदस्य बनाउन सकिने संवैधानिक प्रावधान छ । गण्डकी प्रदेश सभामा ६० सदस्य छन् । त्यस आधारमा १२ जना मन्त्री बन्न सक्छन् ।


दलित सांसद डोवाटेलाई मन्त्री नबनाएको भन्दै मुख्यमन्त्री पोखरेलको चर्काे आलोचना भएको थियो । अहिले भने मन्त्रिपरिषदमा उनलाई समेटेर पोखरेलले १२ सदस्यीय मन्त्रिमण्डल बनाएका हुन् । यद्यपि उनलाई विभागीय जिम्मेवारी दिएका छैनन् ।

Advertisement


डोवाटेले आफू अहिले मुख्यमन्त्रीको निर्देशानुसार काम गरिरहेको बताए । ‘मन्त्री हुनासाथै दसैं आयो, मन्त्रालय आएका बल्ल २ दिन भएको छ,’ उनले शुक्रबार संवाददाताहरुसित भने । आफूलाई मन्त्री नबनाउँदा मिडियाले आफ्नो पक्षमा आवाज उठाएकोमा उनले धन्यवादसमेत दिए ।
‘त्यो बेला मौका भएन, त्यो पार्टीको आन्तरिक कारण होला,’ उनले ८ साउन सम्झँदै भने, ‘त्यो रेसमा दौडिन सकिनँ होला, पार्टीको आन्तरिक कुरा हो भनेर सामान्य रुपमा लिएँ । म पार्टीको इमान्दार कार्यकर्ता हो, त्यति बेला मेरो नाम हटाउँदा पनि कुनै गुनासो गरेको थिइनँ । चारैतिरबाट मेरो विषयमा आवज उठेपछि पार्टीले अनुभूति गरेर नै अहिले मन्त्री बनायो ।’


संविधानमा अनुसार समानुपातिक समावेशी भएन भन्ने लागेरै अहिले आफूलाई मन्त्री बनाइएको हुनसक्ने उनको भनाइ थियो । ‘म पार्टीको सामान्य कार्यकर्ता हो, पार्टीले जे जिम्मेवारी दिन्छ, त्यो लिन्छु,’ उनले भने, ‘यो जे जति भएको छ, यसमा वरिष्ठ नेता रामचन्द्र पौडेलको विशेष भूमिका छ, उहाँले सुरुदेखि नै मन्त्री बनाउनुपर्छ भन्नुभएको थियो ।’ पौडेलकै जोडबलका कारण गठबन्धनको साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत आफूलाई मन्त्री बनाउन तयार भएको मन्त्री विश्वकर्माले सुनाए ।


२४ असोजमा कांग्रेस पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पोखरा आउँदा उनलाई भेटेर आशीर्वाद मागेको पनि उनले सुनाए । ‘पार्टी सभापतिको पनि भूमिका हुने भइहाल्यो,’ उनले भने, ‘सबैलाई कन्भिन्स गराउने र मलाई यो भूमिकामा ल्याउने वरिष्ठ नेता रामचन्द्र पौडेल हो ।’ तालमेल कुरामा पौडेलको भूमिका रहेको उनको भनाइ थियो ।


आफूलाई मन्त्री बनाएको कुरालाई उनले समानुपातिक समावेशी सिद्धान्तलाई अगाडि बढाएको रुपमा बुझेको पनि मन्त्री विश्वकर्माले सुनाए । मन्त्री नबनाएपछि प्रदेश सभाको विधायन समिति सभापतिको अफर आएको पनि मन्त्री डोवाटेले स्वीकारे । ‘मैले जतिखेर जहाँ पनि हामफाल्नु हुँदैन भनेर सभापति खाइन,’ उनले भने, ‘त्यो छोडेर मन्त्रीलाई बार्गेनिङ गरेको होइन ।’ आसन्न कांग्रेस महाधिवेशनमा पनि उम्मेदवार हुनुहुन्छ कि भन्ने संवाददाताको प्रश्नमा भने उनले यत्ति भने, ‘त्यो त चुनाव आएपछि थाहा हुन्छ ।’

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया