अलपत्र सडक बनाउन पहल गर्ने प्रतिवद्धता

सुन्दरकुमार थकाली २०७८ कार्तिक १३ गते १२:२१

जोमसोम ।
राष्ट्रिय सभाको टोलीले बिहीबार कोरला नाका अनुगमन गरेको छ । राष्ट्रिय सरोकार तथा समन्वय समिति अन्तर्गतको राष्ट्रिय गौरवको आयोजना हेर्ने उपसमितिले उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी जोमसोम कोरला सडक तथा कोरला नाकाको स्थलगत अवलोकन गरेको हो ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अनुगमन गरी मुस्ताङ आएको टोलीले कोरला नाका र जोमसोम कोरला सडक दुबैको जानकारी लिएको हो । राष्ट्रियसभा सदस्य एवं नेकपा माओवादी नेता नारायणकाजी श्रेष्ठ, उपसमिति सभापति अनिता देवकोटा, राष्ट्रिय सभा सदस्य इन्दिरादेवी गौतमसहित सचिवालयका २ कर्मचारी सम्मिलित टोली मुस्ताङ आइपुगेको हो ।


उनीहरुले सडक र नाका अवलोकन गरे । यसअघि उनीहरुले जोमसोम स्थित कालिगण्डकी करिडोर अन्तर्गत बेनी जोमसोम कोरला सडकको कार्यालयमा पुगेर सडकको पछिल्लो अवस्थाका बारेमा जानकारी लिएका थिए । बिहीबार कोरालाबाट फर्किएको टोली शुक्रबार बिहान मुक्तिनाथ पुगेर फर्किएको छ । राष्ट्रिय गौरवको आयोजना हेर्ने उपसमितिको टोलीले उपल्लो मुस्ताङका स्थानीयसँग सडक र नाकाको पछिल्लो अवस्थाबारे जानकारी लिएको छ ।


नाका अवलोकन गरी फर्किएको टोलीले मुस्ताङका पत्रकारलाई भ्रमणका बारेमा जानकारी गरायो । कार्यक्रममा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले अनुमगन भ्रमण उपलब्धिमूलक भएको बताए । श्रेष्ठले जोमसोम कोरला सडकसम्म सवारी साधन पुग्न सक्ने भए पनि सो सडकको स्तरोन्नतिलाई तीव्रता दिनुपर्नेमा जोड दिए । उनले जोमसोम कोरला सडकको छैटौ प्याकेजको २५ किमी सडक लामो समयदेखि ठेकेदारका कारण अलपत्र परेको विषयमा कुरा उठाउने बताए ।

Advertisement


चिनिया पक्षले उत्तरी नाका सञ्चालन गर्न आवश्यक तयारी पूरा गरिसकेको र नेपाल पक्षबाट पनि आवश्यक तयारी गर्नुपर्ने महसुस भएको श्रेष्ठ उल्लेख गरे । ‘हाम्रो पक्षबाट तयारी भएको छैन, तत्कालै तयारी गर्नुपर्ने देखिन्छ,’ श्रेष्ठले भने, ‘चीनले नाकाछेउ सुरक्षाकर्मी परिचालन गरेको छ, हाम्रो पक्षबाट १३ किमी यतामात्र सुरक्षाकर्मी छन् । यो उपयुक्त छैन ।’


उनले यसबारे सरकारसँग आवश्यक छलफल गर्ने र चाडै सरकारले नाका सञ्चालनको प्रक्रियालाई अघि बढाउने विश्वास व्यक्त गरे । श्रेष्ठले नेपाली सुरक्षा पोस्टलाई नाकाछेउ लैजान जरुरी रहेको भएको बताए । उनले व्यक्तिगत रुपमै सरकार, गृह र परराष्ट्र मन्त्रालयमा कुरा राख्ने जानकारी दिए ।

Advertisement


माओवादी नेतासमेत रहेका श्रेष्ठले जनताले राजनीतिक पार्टीबाट गरेका अपेक्षा पूरा हुन नसकेको बताए । यसअघिको ओली सरकारले ऐतिहासिक उपलब्धि अपहरण गर्ने गरी प्रतिगमन गरेको जिकिर गरे । उनले ५ दलीय गठबन्धन चुनावका लागि नभई प्रतिगमनको अवशेष अन्त्य नभएसम्म कायम रहने दाबी गरे ।


नेता श्रेष्ठले प्रतिपक्षकै कारण संसद चल्न नसकेको र त्यो नेपाली जनता र लोकतन्त्रका लागि अत्यन्तै दुखद भएको टिप्पणी गरे । यसमा नेपालका राजनीतिक पार्टीले गम्भीर भएर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको उनको भनाइ छ । ‘अहिलेको गठबन्धन चुनावका लागि भनेर गरिएको होइन, प्रतिगमनबिरुद्ध हो,’ राष्ट्रिय सभा सदस्य श्रेष्ठले भने, ‘संविधान र लोकतन्त्रका लागि हामी एक मत छौं । सम्भव भएमा चुनावी गठबन्धन पनि हुन सक्छ ।’ उनले ओलीको कार्यशैली र प्रतिगामी कदमका कारण पार्टीमा बिभाजन आएको बताए ।


राष्ट्रिय सभामा नेपाली कांग्रेसकी मुख्य सचेचतक अनिता देवकोटाले जामसोम कोरला सडक स्तरोन्नति सन्तोषजनक भए पनि केही समस्या देखिएको सुनाइन् । जोमसोम—कोरला सडकको २५ किमी ठेकेदार कम्पनीका कारण अलपत्र परेको र त्यसलाई कडाइका साथ अघि बढाउने प्रतिवद्धता जनाइन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया