इन्धनको मूल्य बढ्यो, खारेजीको माग

समाधान संवाददाता २०७८ कार्तिक १४ गते ११:२२

सरकारले इन्धनको मूल्य बढाएको छ । आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकाले घाटा कम गर्न निगमले स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ ले तोकेअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ कायम गरेको छ । त्यसैगरी डिजेल÷मट्टितेलको मूल्य प्रतिलिटर तीनले बढेर ११६ रुपैयाँ पुगेको छ ।


आन्तरिक तथा बाह्य हवाई इन्धनमा साविकको बिक्री मूल्यमा प्रतिलिटर १० ले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ९६ पुगेको छ । निगम सञ्चालक समितिको निर्णयअनुसार शुक्रबार रातिदेखि लागू हुने गरी मूल्यवृद्धि गरिएको निगमका सह प्रवक्ता पुस्कर कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Advertisement


एलपी ग्यासमा साविक बिक्री मूल्यमा प्रति सिलिन्डर ५० वृद्धि गरी एक हजार ५०० कायम गरिने भएको छ । पछिल्लोपटक असोज ३० गते इन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगमले मूल्य समायोजन नगर्दा १५ दिनमा दुई अर्ब २२ करोड रुपैयाँ घाटा भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।


पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न विद्यार्थी संगठनहरुले माग गरेका छन् । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी), एकीकृत समाजवादी निकट अनेरास्ववियु, जसपा निकट समाजवादी विद्यार्थी युनियन, राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौँ, विप्लवनिकट अखिल क्रान्तिकारी र क्रान्तिकारी मओवादी निकट अखिल क्रान्तिकारीले पेट्रनेलियम पदार्थमा गरिएको मूल्यवृद्धि नरोकिए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

Advertisement


पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिका कारण नेपाली जनताको जनजीवन प्रभावित भएको उनीहरुको भनाइ छ । उनीहरुले आयल निगममा हुने भ्रष्टाचार, अनियमितता, बेथिति लगायतका समस्या समाधान गर्दै जनतालाई सहुलियत दरमा पेट्रोलियम पदार्थ उपलब्ध गराउनुको साटो अन्तर्राष्ट्रिय बजारको मूल्यका आधारमा गराइएको मूल्य प्रति आपति जनाएका छन् ।

तपाईको प्रतिक्रिया