अन्नपूर्ण क्षेत्रमा नेपाल–अमेरिका सैन्य अभ्यास हुने

समाधान संवाददाता २०७८ कार्तिक १४ गते ११:२८
फाइल तस्बिर

पोखरा ।
नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाकाबीचमा विशेष सैन्य अभ्यास हुने भएको छ । एक महिना अवधिको यो तालिम अभ्यास १५ कात्तिकमा सुरु भएर १४ मंसिरमा समापन हुनेछ ।


नेपाल र अमेरिका सेनाका बीच संयुक्त सैन्य अभ्यास तालिम ‘टिक–नेल’ को २२ औं शृंखला हुने भएको हो । २०७६ माघमा अन्नपूर्ण आधार शिविरमा गएको हिमपहिरो र उद्धारमा देखिएका कठिनाईमा केन्द्रित भएर यसपटकको तालिम अभ्यास हुनेछ ।


सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार हिमाली क्षेत्रमा उद्धारको विषयलाई केन्द्रमा राखेर संयुक्त सैन्य अभ्यास हुनेछ । सैनिक प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौड्यालका अनुसार यो सैन्य तालिम अभ्यास हो । अमेरिकी सेनाका विज्ञ क्याप्टेनको नेतृत्वमा २० जनाको टोली अभ्यासमा सहभागी हुनेछन् । नेपाली सेनाका तर्फबाट ४० देखि ५० जनासम्मको टोली सहभागी हुनेछ ।

Advertisement


नेपाली सेना र अमेरिकी सेनाबीच वर्षेनी हुँदै आएको यो अभ्यास गतवर्ष कोभिड–१९ को महामारीका कारण रोकिएको थियो । यो अभ्यासमा कुनै सैन्य कलाकौशलमा केन्द्रित भएर एकअर्कालाई विज्ञहरुले तालिम दिनुको साथै त्यसको अभ्यास हुन्छ ।


‘काठमाडौं र पोखरामा तालिम अभ्यास हुने तय भएको छ,’ सैन्य प्रवक्ता पौड्यालले भनेका छन्, ‘हिमाल केन्द्रित अभ्यास सम्भवत अन्नपूर्ण क्षेत्रमा हुनेछ ।’ नेपाली सेनाले नेपाल सरकारको अनुमतिमा अमेरिकी सेनासँग नियमित सैन्य अभ्यास गर्दै आएको छ ।

Advertisement






तपाईको प्रतिक्रिया