अथकलाई मित्र मिलन पुरस्कार

समाधान संवाददाता २०७८ कार्तिक १४ गते ११:४०

पोखरा ।
पत्रकार कमल पौडेल ‘अथक’ मित्र मिलन पत्रकारिता पुरस्कार २०७८ बाट पुरस्कृत भएका छन् । पोखराको नयाँबजारमा कार्यालय रहेको मित्र मिलनको आठौं साधारणसभा समापनको अवसरमा शनिबार अथकलाई पुरस्कृत गरिएको हो ।


राष्ट्रिय सहकारी बैंक पोखरा प्रमुख नरेश पाण्डे र संस्थाका अध्यक्ष रमन पौडेलले नगद २५ हजार, सम्मानपत्र र दोसल्लासहित अथकलाई सम्मान गरे । उनी २ दशकदेखि पत्रकारितामा क्रियाशील छन् । नेपालपत्रकार महासंघका राष्ट्रिय परिषद सदस्य उनी रेडियो सराङकोटका समाचार प्रमुख एवं समयदृष्टि अनलाइनका सम्पादकसमेत हुन् ।


कार्यक्रममा राष्ट्रिय सहकारी बैंक पोखरा प्रमुख पाण्डेले सहकारीले वित्तीय साक्षरतालाई जोड दिनुपर्ने बताए । उनले सदस्य र ग्राहकमैत्री कारोबार छुट्याएर काम गर्न आग्रह गरे । उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाले सहकारीले सामाजिक अगुवा एवं श्रमजीवी पत्रकारलाई पुरस्कृत गरेकोमा गर्ब लागेको बताए ।

Advertisement


पुरस्कृत पत्रकार अथकले पुरस्कारले पत्रकारिताको क्षेत्रमा लाग्न हौसला थपेको उल्लेख गरे । सो अवसरमा सस्थाले उत्कृष्ट सेयर सदस्यतर्फ राजकुमार श्रेष्ठ, विष्णुमाया बराल, टंकप्रसाद खनाल र कृष्णराज अधिकारीलाई सम्मान गरेको छ ।
यस्तै, उत्कृष्ट बचतकर्ताका रुपमा सीता अधिकारी, राम बराल र लक्ष्मण बराल सम्मानित भएका छन् । उत्कृष्ट कर्जा सदस्यबाट देवेन्द्र बराल र केशवकुमार बस्नेत सम्मानित भए ।


सक्रिय सदस्यतर्फ माया अधिकारी, उत्कृष्ट कर्मचारीतर्फ अमृता मरासिनी र कसेरी सेवा केन्द्रका सुमित्रा बराल सम्मानित भए ।
सहकारीका अध्यक्ष रमण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष भरत भट्टराई, आइसिएफसी फाइनान्स गण्डकी प्रदेश प्रमुख अनुप केसी, नेपाल पत्रकार महासंघ कास्की सहसचिव श्रीराम सिग्देल, सल्लाहकार संयोजक दीपकबहादुर अधिकारी, सल्लाहकार डण्डपाणि बराल, भोलानाथ अधिकारी, सेयर सदस्य सूर्यराज भण्डारी, सुमन पहारी, प्रमुख कार्यकारी अधिकृत किरण अधिकारी, उपाध्यक्ष विजय लम्साल, सचिव कुशल पौडेल लगायतले बोलेका थिए ।

Advertisement


पोखराको नयाँबजारमा प्रधान कार्यालय र कसेरीमा सेवा कार्यालय सञ्चालन गर्दैै आएको संस्थाले करिब ४० करोडको कारोबार गरिरहेको छ । चाडै सेवा केन्द्र विस्तार गर्ने सहकारीको तयारी छ । संस्थामा हाल १ हजार १ सय सेयर सदस्य छन् ।

तपाईको प्रतिक्रिया