बन गस्तीमा खटिए मुस्ताङका सिडिओ शर्मा
मुस्ताङमा बन गस्ती अप्रेसन सुरु


जोमसोम—मुस्ताङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नेत्र शर्मा आफै बन गस्तीमा खटिएका छन् ।राष्ट्रिय प्रकृति संरक्षण कोष,अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना ,ईलाका संरक्षण कार्यालयको स्वामित्वमा रहेको मुस्ताङको उच्चलेंकको जगलमा बन्यजन्तुको अखेटोपहार चोरी तस्करी गर्ने क्रम बढेपछि प्रजिअ शर्मासहितको टोली मंगलबार बन गस्तीमा खटिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
यसअघि बडा दशै तथा तिहार पर्वको महत्वपूर्ण चाडपर्वको अवसर पारेर मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ लुप्रा गाउँको खम्पा क्याम्प माथि पर्ने उच्चलेंकको जंगलमा बन्यजन्तु तस्करले पाँसो थाप्ने र चोरी शिकारी गर्ने गरेको घटनापछि मुस्ताङका प्रजिअ शर्मा बन्यजन्तु संरक्षण अभियानमा जुटेका हुन् । प्रजिअ शर्मासहित सशस्त्र प्रहरी,जनपथ प्रहरी ,एक्याप र डिभिजन बन कार्यालयका कर्मचारी गरी करिव १४ जनाको टोली बन गस्तीमा खटिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिए ।टोलीले मुस्ताङको घरपझोङ—५ अन्तर्गत पर्ने कैसाङमा रहेको शैनिक उच्चशिखर शिक्षालय क्याम्प माथिको लेकमा बन गस्ती गरेको उनले उल्लेख गरे ।
बन गस्ती गरिएको उक्त स्थान तिब्बती खम्पाहरुको मुख्य सैन्य हेडक्वार रहेको क्षेत्र हो । खम्पा बिद्रोही सो स्थानबाट हटेपछि २०३२ सालदेखि सो स्थानमा नेपाली सेनाको पर्वतीय सैन्य तालिम स्थलमा स्थान्तरण भएको हो । स्वदेश तथा विदेशका सैन्य टोली कैसाङमा पुगेर पर्वतीय तालिम लिने गर्छन् ।
समुन्द्री सतहदेखि ३ हजार मिटर भन्दा माथिको उचाईमा अवस्थित कैसाङ जंगलमा गरिएको संयुक्त बन गस्तीमा बन्यजन्तुको मुमेन्ट देखिएपनि बन्यजन्तु तस्करहरुको कुनै गतिविधि फेला नपरेको प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले समाधानलाई जानकारी दिए ।‘ लुप्रा लेंकको जंगलमा बन्यजन्तु माथि भएको अपराधिक घटनाले हामी एकदमै संवेदनशील भएका छौं ,संरक्षित क्षेत्र भएकाले बन्यजन्तुको सुरक्षा गर्नु हाम्रो दायित्व रहन्छ ,प्रजिअ शर्माले भने,‘ आज देखि बन गस्ती अप्रेसन सुरु गरेका छौं ,यसलाई निरन्तर बन गस्ती फलो गर्दै बन्य जन्तु संरक्षण अभियानमा लाग्नेछौं ।’

प्रजिअ शर्माले लुप्रा माथिको जंगलमा भएको बन्यजन्तु दोहनको घटना जस्तै कैसाङ माथिको जंगलमा पनि हुन सक्छकी भनेर आफुहरुले बन गस्तीलाई तिब्रता दिएको बताए । उनले यसै गरी संरक्षित क्षेत्रका अन्य लेंकका जंगलमा पनि क्रमशः बन गस्ती गर्ने योजना रहेको जनाए । ‘यहाँ बन्यजन्तुको आउजाउ गर्ने गरेको निशानी र सिग्नल देखियो तर पाँसो भने कतै भेटिएन ।उनले भने ।’
तिहार अघि अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना ( एक्याप ),डिभिजन बन कार्यालय र सुरक्षा निकायको संयुक्त बन गस्तीले लुप्रा माथिको जंगलमा १ सय ७९ थान बन्यजन्तुलाई लक्ष्य गरी थापिएको पाँसो फेला परेको थियो । सो क्रममा बन गस्ती टोलीले पासोमा परेको अवस्थामा एक जिउदो कस्तुरी र ५ वटा मृत अवस्थामा रहेको कस्तुरी फेला परेको थियो ।गस्ती टोलीले पासोमा परेको जिउँदो कस्तुरीको उद्दार गरी जंगलमानै छाडिदिएका थिए ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया