पथप्रदर्शक पुष्पा

सञ्जय रानाभाट २०७८ मंसिर ४ गते १२:२४

सञ्जय रानाभाट
पोखरा ।
जीवनको परिभाषा मान्छेपिच्छे फरक छ । किनकि हरेक मान्छेका आआफ्नै भोगाइ छन् । जसले जस्तो भोग्छ, त्यस्तै ठान्छ जिन्दगी । म्याग्दीकी पुष्पा पुनका लागि जिन्दगी संघर्षको मैदान हो । अभावबीच जमेर अगाडि बढ्नुपर्छ । हो, उनले संघर्ष गर्दै जीवन अगाडि बढाइन् र अझै पनि बढाइरहेकी छन् ।


लहरा, पहरा, छहरा र कुना कन्दराहरुसँग मितेरी लगाएजस्तो छ पुनको जिन्दगी । धेरैजसो तिनैसँग हुन्छिन् । पेसा नै त्यस्तै छ, हिँडिरहनुपर्छ, डाँडाकाँडा चहार्नुपर्छ । हिँडाइरहनुपर्छ आफ्नै जिन्दगीलाई र अरुलाई पनि । पथप्रदर्शनको कामै त्यही हो, बाटो देखाउने, गाउँ चिनाउने, ठाउँ चिनाउने, नेपाली संस्कृति बुझाउने, प्रकृति देखाउने ।


पथप्रदर्शक अर्थात टे«किङ गाइड पुष्पा जतिबेला स्कुल पढ्दै थिइन्, त्यतिबेला उनको जिन्दगीको पथ के हुने हो, कता हुने हो के थाहा ? तर कताकता मनमा ट्रेकिङप्रति मोहित थिइन् । गाउँमा केही नयाँ मान्छे घुम्न आउँदा पनि उनलाई घुमाइदिन मन लाग्थ्यो । गाउँमा आएका पाहुनालाई आफ्नै गाउँ, आफ्नै ठाउँ घुमाइदिन्थिन् । नयाँ मान्छेसँग कुरा गर्न रस थियो । घुम्न, फिर्न रहर थियो । जिन्दगीको एउटा घुम्तीमा आइपुग्दा उनी पोखराको थ्री सिस्टर एडभेन्चेर टे«किङसँग जोडिइन् । अनि त्यहीं प्रवेश बिन्दुबाट पसेर उनी कुशल ट्रेकिङ गाइड भइन् ।
मन सानैदेखि थियो ट्रेकिङ गाइड बन्ने ।

Advertisement

तर कसरी थाहा थिए । सन् २००८ का एक दिन रेडियोमा बजेको विज्ञापन त्यही ट्रेकिङ गाइड सम्बन्धी थियो । अनि त उनलाई त्यो विज्ञापनमा भनेको थ्री सिस्टर एडभेन्चर ट्रेकिङ पुगूँ पुगूँ भइहाल्यो । मन चन्चल भयो, खुट्टा उचालिए । थ्री सिस्टर पोखरामा थियो । उनी भने म्याग्दीमा । एक्लैदुक्लै घरबाट पोखरा आउने कुरा भएन । रेडियोको विज्ञापनबारे साथीहरुलाई पनि सुनाइन् । ४ जना साथीलाई राजी गरिन् पोखरा जान ।
फोर सिस्टर आएर अन्तर्वार्ता दिए थ्री सिस्टरमा । पुष्पामात्रै पास भइन् । १ महिना तालिम चल्यो । पर्यटनका कुरा बुझिन् । गाइडका काम कर्तव्य थाहा पाइन् । अनि भइन् ट्रेकिङ गाइड । त्यही छोटो अवधिको तालिमबाटै छोटो दुरीका पर्यटक घुमाउन सक्ने भइन् । ‘सुरुमा भाषा समस्या हुन्थ्यो । विदेशी पर्यटकहरु नेपाली भाषा जान्थेनन्,’ उनी सुरुआती दिन सम्झन्छिन् । बिस्तारै अंग्रेजीमा जीब्रो फड्कारिन थाल्यो । अचेल त फररै हो अंग्रेजी । ‘सुरुका दिन एकदमै गाह्रो भयो । तर दिनदिनै बोल्दै गएपछि बानी प¥यो,’ उनी भन्छिन्, ‘स्कुलमा पढेरभन्दा फिल्डमा गएर सिकिँदो रहेछ ।’


पहिलो पटक पर्यटक लिएर गएको उनी अन्त जानु परेन, आफ्नै जिल्ला म्याग्दी जान पाइन् । घोरेपानी जो अन्नपूर्ण क्षेत्रकै प्रसिद्ध गन्तव्य हो, त्यो म्याग्दीमै त पर्छ । कास्कीको घान्द्रुक हुँदै घोरेपानी फन्को लगाउँदाको त्यो पहिलो अनुभव अझै अमिट छ उनको सम्झनाको एल्बममा ।
उकाली ओराली त गाउँमै गरेकी थिइन् । गाउँ उक्लनु खास नौलो कुरा थिएन । बाटोमा ठेस कमै लाग्थ्यो । खास ठेस त अंग्रेजीको लाग्थ्यो । भन्छिन्, ‘अंग्रेजी बोल्न नसक्दा त ट्रेकिङ गाइड बन्न सक्दिन कि छोडम् कि भन्ने पनि लाग्यो, तर विस्तारै सिकें, धेरै दिन हिँड्दा थकाइ लाग्ने पनि हुन छाड्यो ।’ त्यसपछिका यी १५ वर्षमा उनका पाइलाले धेरै डाँडाकाँडा पहाडको बाटो नापी सक्यो, हजारौं हजार किलोमिटर ।

Advertisement


चाहना भने अंग्रेजी सिक्ने थियो । तर सुरुमा त मरिकाट्टे बोल्न सक्थिनन् । हिँड्दा हिँड्दै र बोल्दा बोल्दै जानिन् अंग्रेजी । पछि त अंग्रेजीमात्रै किन हुन्थ्यो, अलिअलि जापानी पनि जानिन् । कोरियाली भाषाको कखरा पनि सिकिन् । चिनिया भाषासँग पनि धेरथोर चिनजान भयो । हिन्दी त झन् भन्नै परेन ।


‘यात्रामा म धेरै खुसी हुन्छु । ट्रेकिङ यात्रा सकेर फर्किंदा धेरै आनन्द आउँछ । यात्राका क्रममा पाहुनालाई खुसी बनाउन पाउँदा मन शीतल हुन्छ,’ उनले भनिन्, ‘यात्राका क्रममा भएका दुख सबै भुलिन्छ । जब पहुनालाई खुसी बनाउन सकिन्छ । राम्रोराम्रो दृश्य घुमाउन पाउँदा मनै चंगा बन्छ ।’


टे«किङ यात्रामा लागेदेखि उनले सबैभन्दा धेरै ओहोरदोहोर अन्नपूर्ण क्षेत्रमै गरेकी छन् । अन्नपूर्ण गएको उनसँग लेखाजोखा छैन । १३ वर्षदेखि अन्नपूर्ण आधार शिविर महिनाको २÷३ चोटि पुग्ने गरेको उनी बताउँछिन् ।


ट्रेकिङ गाइडमा लागेदेखि उनले आफ्ना आवश्यकताहरु सजिलै पूरा गरिरहेकी छिन् । आम्दानीबाट सन्तुष्ट छिन् । ‘यो पेसामा लागेदेखि घरपरिवारसँग माग्नु परेको छैन । बरु घरपरिवालाई चाहिएको बेला दिन सक्ने भएको छु । आफ्नो घुमन्ते बानी छ । कमाएको पनि रमाउनै हो जस्तो लाग्छ यसैले घुम्न रुचाउँछु,’ पुष्पा भन्छिन्, ‘फुर्सद भएको समय निकालेर अहिलेसम्म भारत, सिंगापुर थाइल्यान्ड, इन्डोनेसिया, इन्डिया, थाइल्यान्ड मलेसिया, सिंगापुर घुमिसकेकी छु ।’ कोरोना कहर नभएको भए अझै अन्य देशहरु घुम्ने रहर थियो उनलाई । तर, कोरोना महामारीले घुम्न पाइनन् ।


कोरोनाले सबैभन्दा निरास पारेको क्षेत्र पर्यटन नै हो । पर्यटक नेपाल आएनन् । पुष्पाले कसलाई घुमाउनु ? घरमै बसिन् । लाहुरे बाबुले पोखरामा घर जो ठड्याएका छन् । त्यही घरका ४ दिवारमा सीमित हुनुप¥यो कोरोनाकालका २ वर्ष । अरु बेला दसैंतिहार लगायत चाडपर्व पनि नभनी उनी ट्रेकिङमा रमाएकी हुन्थिन् । महिला भएकै कारण पहिला यात्राका क्रममा धेरै गाह्रो अनुभव गर्थिन् । अचेल त्यस्तो केही लाग्दैन । भन्छिन्, ‘गर्न सके यही पेसा राम्रो छ । कमाउनभन्दा पनि प्रकृतिलाई नजिकबाट नियाल्न पाइन्छ । वर्षमा ५ महिना राम्रो काम चले वर्षभरि खान पुग्छ । मैले मलाई पुग्ने कमाएको छु । यति नै भन्ने हुँदैैन । काम गर्न सके पैसा कमाइन्छ ।’

ट्रेकिङमा घुमफिरको रमाइलो मात्रै छैन, जोखिम पनि छ । त्यसैले त ट्रेकिङ साहसिक पर्यटन हो । पुष्पा भन्छिन्, ‘यो पेशामा लागेदेखि नराम्रो भएको छैन । तर, हरेक दिन यात्रामा सचेत हुनुपर्छ । यात्राकै क्रममा दुघर्टना भएर ज्यानै जान सक्छ ।’


यात्रामा भूगोल, बाटो, हावापानी र मौसमबारे ख्याल गर्नुपर्छ । नत्र कुन बेला धोका खाइन्छ, खाइन्छ । त्यही भएर प्राथमिक उपचारको तौरतरिकामा पनि सिक्नुपर्छ । ‘विदेशीले धेरै बुझेर यात्रा गर्छन् । नेपालीहरु सकेसम्म धेरै टाढासम्म पुग्नुपर्छ,’ उनले भनिन्, ‘तर यात्रा गर्दा एकदमै ख्याल गरेर यात्रा गर्नुपर्छ । एकैदिन धेरै हिँड्यो भने बिरामी हुने, लेक लाग्ने, खुट्टा सुनिने हुन्छ । धेरै अत्तिए पनि मान्छेको ज्यानै जान सक्छ ।’ उच्च भेगमा जाँदा शरीरलाई विस्तारै वातावरणसँग घुलमिल गराउँदै गए यात्रा सफल हुने उनी बताउँछिन् ।


पुष्पाको परिवारमा आमाबाबु र २ भाइ छन् । भाइहरु लाहुरे हुन् । उनलाई आमाबाबु र भाइहरु भएकै परिवार प्यारो छ । आफ्नो घरबार बसाउने कुनै चाहना छैन । भन्छिन्, ‘प्रेम गर्ने विवाह गर्ने समय नै भुले । सधै काममा ध्यान दिँदादिँदा विवाहबारे सोच्ने फुर्सदै भएन ।’

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया