भिटोफमा उदय सुवेदीको नेतृत्व

समाधान संवाददाता २०७८ मंसिर ६ गते १२:४९


पोखरा ।
भिटोफ गण्डकीको तेस्रो अधिवेशनवाट युवा पर्यटनकर्मी उदय सुवेदीको नेतृत्वमा सर्वसम्मत नयाँ समिति बनेको छ । जसमा निवर्तमान अध्यक्ष नवराज अधिकारी, उपाध्यक्ष शोभाकुमारी अधिकारी, सचिव सुशीला भण्डारी, कोषाध्यक्ष कृष्ण भारती तथा सदस्यहरूमा शिवराज त्रिपाठी, मेघमान श्रेष्ठ, चिन्तामणि पोख्रेल, रेमश अर्याल र विश्व क्षेत्री छन् ।


अधिवेशनस्थल थाम गाउँमा स्थानीयले फूलमाला, लोकल परिकार र नृत्यले सहभागीको स्वागत गरेका थिए । कार्यक्रममा लायन्सका अगुवा विशेश्वर आचार्य, पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराई, भिटोफका सल्लाहकार टीकाराम सापकोटा, प्राध्यापक डा. प्रेम शर्मा, भिटोफ केन्द्रका अध्यक्ष ध्रुव सिंखडा, भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारी, पूर्व अध्यक्ष रवीन्द्र पौडेल र कोषाध्यक्ष सुशीला भण्डारीले ग्रामीण पर्यटनको महत्वमाथि प्रकाश पारेका थिए ।


नवनिर्वाचित अध्यक्ष सुवेदीले भिटोफलाई अझै उचाइमा पुर्‍याउन नयाँनयाँ प्रवर्धनात्मक कार्यक्रम गर्ने प्रतिबद्धता जनाए । उनले गण्डकी प्रदेशका सबै जिल्लाहरूमा घुमेर ग्रामीण पर्यटनकर्मीलाई हौस्याउने र नयाँ ठाउँमा ग्रामीण पर्यटन शुभारम्भ गर्न पहल गर्ने जानकारी दिएका छन् ।

Advertisement

अढाई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील पत्रकार अमृत भादगाउँ सम्मानित भएका छन् । भिटोफ गण्डकीको अधिवेशनका क्रममा उनलाई सम्मान गरिएको हो । उनी ‘ग्रामीण पर्यटन सद्भावना दूत’ हुन् । गाउँगाउँमा डुलेर पर्यटन पत्रकारितामार्फत गाउँलेको मनोबल बढाउन, गाउँको प्रचार गर्न, नीति निर्मातालाई झक्झक्याउन र गाउँ पर्यटनको पैरवी गर्न महत्वपूर्ण योगदान पुर्‍याएस्वरूप उनलाई भिटोफले सद्भावना दूत घोषणा गरेको थियो ।

‘कोभिडका कारण लकडाउन भएका बेला जुम मिटिङबाट पर्यटन दूत घोषणा गरेका थियौं। प्रमाणपत्र दिन पाएका थिएनौं’, कार्यक्रममा भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारीले भने, ‘त्यसैले आज हामीले भौतिक रुपमा उपस्थित भएर उहाँलाई त्यो प्रमाणपत्र हस्तान्तरण गरेका हौं ।’
केही समयअघि भिटोफले गण्डकी प्रदेशका ५० नमुना गाउँको जानकारी समेटेर बनाएको डिजिटल एप्स ‘भिजिट गण्डकी’का कन्टेन्ट राइटर एवं फोटोग्राफर पनि पत्रकार भादगाउँले नै हुन् ।

Advertisement

पत्रकारितामार्फत निरन्तर ग्रामीण पर्यटन प्रवर्धनमा योगदान पुर्‍याउने दुई जना पोखरेली पत्रकारलाई भिटोफ गण्डकीले ग्रामीण पर्यटन पत्रकारिता पुरस्कार प्रदान गरेको छ। नेपाल टेलिभिजनका पत्रकार परशुराम आचार्य र पोखरा टेलिभिजनका समाचार प्रमुख पुष्प दाहाललाई जनही ११ हजार १ सय ११ रूपैयाँ र सम्मानपत्र हस्तान्तरण गरियो ।

तपाईको प्रतिक्रिया