पाेखराका ध्रुव थापा नाडा अध्यक्षमा विजयी

समाधान संवाददाता २०७८ मंसिर २४ गते ११:१६

काठमाडौं।

ठुलाे व्यापारिक घरना चाैधरी ग्रुपका करण चाैधरीलाई पराजित गर्दै पाेखराका व्यवसायी ध्रुव थापा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको अध्यक्षमा निर्वाचित भएका छन्। थापाले १४ सय १३ मत पाएर अध्यक्षमा निर्वाचित भएका हुँदा प्रतिद्वन्द्वी चौधरीले १३ सय ४७ मत पाएका थिए।

नाडाको यो पटकको चुनावमा थापा र चौधरीले प्यानल नै बनाएर मत मागेका थिए। १७ सदस्य र १ अध्यक्षका लागि दुई प्यानल चुनावी मैदानमा थिए । थापा प्यानलका अधिकाँश सदस्य पराजित हुँदा पनि थापाले अध्यक्षमा बाजी मारे ।

Advertisement

थापा प्यानललाई साथ दिएका पाेखराकै व्यवसायिक घराना लक्ष्मी ग्रुपका निराकार श्रेष्ठ नाडाकाे सदस्यमा विजयी बने । निराकारसहित थापा प्यानलबाट निर्वााचन लडेका १७ जना मध्ये ५ जना मात्र विजयी बने । तर पनि थापाले ६६ मतान्तले जित हासिल गरे । चौधरी हारेपनि उनको प्यानलका १२ जना विजयी भएका छन् ।

चौधरी पक्षबाट राजनबाबु श्रेष्ठ, सुनिल रिजाल, सुरेन्द्रकुमार उप्रेती, अनुपकुमार बराल, मिलनबाबु मल्ल, अभिक ज्योति, प्रकाश कपुरी, विक्रम सिंहानिया, वरदान बस्नेत, निलमणि पाठक, पंकज अग्रवाल र गोपाल भट्टराई निर्वाचित भएका छन्। थापा पक्षबाट निराकार श्रेष्ठ, आकाश गोल्छा, कपिल शिवाकोटी, प्रदीपमान प्रधान र यमुना श्रेष्ठ निर्वाचित भएका छन्।

Advertisement

संघीय संरचना अनुसार नाडाको संरचना विस्तार गर्दा यो पटक २२ सय नयाँ सदस्य थपिएका थिए। कतिपयले नाडाको यो पटकको चुनावलाई एफएनसीसीआईको ‘मिनी इलेक्सन’को रूपमा समेत टिप्पणी गरेका थिए।

निर्वाचनमा ठूला व्यवसायिक घराना (जसका कम्पनी नेपालमा सवारी साधन आयातको अधिकृत बिक्रेता छन्) समेत विभाजित भएका थिए।

चौधरीसँग सिप्रदी ट्रेडिङ, महिन्द्रा गाडीको अधिकृत बिक्रेता अग्नि इन्कर्पोरेटेड हिरोको अधिकृत बिक्रेता नेपाल जेनरल मार्केटिङ, आइएमई मोटर्स, मोरङ अटो वर्क्स लगायतका ठूला व्यवसायीको समर्थन थियो। थापा समूहसँग ठूला गाडीका अधिकृत बिक्रेता लक्ष्मी हुण्डाई, गो फोर्ड, शंकर समूहको जगदम्बा मोटर्सको समर्थन थियो।

तपाईको प्रतिक्रिया