भिर मौरीको मह काढ्दै सकियो लान्द्रुकमा महोत्सव

समाधान संवाददाता २०७८ मंसिर २५ गते २१:०६


अभिषेक अधिकारी
लान्द्रुक (कास्की)


अन्नपूर्ण गाउँपालिका लान्द्रुकमा मंसिर २१ देखि २४ सम्म हनी हन्टिङ फेस्टिभल भएको छ । सहभागिता बढेपछि पूर्वनिर्धारित २३ गतेसम्मको महोत्सवलाई एक दिन थपिएको थियो । महोत्सवको मुख्य आकर्षण भिर मौरीको मह काढ्ने थियो । महोत्सवको औपचारिक समापन भएपनि मह काढ्ने काम भने अझ ३÷४ दिनसम्म चल्ने आयोजक कमिटीले जनाएको छ ।


फेस्टिभल संयोजक राम गुरुङले निराशारुप भने, ‘पानीले भोलिको कार्यक्रम बिथोल्ने भो’ । तर लान्द्रुकेहरुको निराशा बिहानको सूर्योदयसंगै खुसीमा बद्लियो । विहान लान्दु्रकबाट देखिएको अन्नपूर्णको सानो टुक्राले मुस्कानका साथ भनिरहेको थियो तिमीहरु डुक्क संगले उत्सव मनाऔं ।

Advertisement


विहान पन्चेबाजाको धुन र मौलिक खाजाका साथ अतिथीहरुलाई स्वागत गरेका लान्द्रुकोले गाउँपालिका अध्यक्ष युवराज कुँवरको प्रमुख आतिथ्यतामा फेस्टिभलको उद्घाटन भएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले लान्द्रुकबासीले कार्यक्रम उत्कृष्ट रुपमा सञ्चालन गरेकोले पहिल्यै गाउँपालिकाले १ लाख सहयोग गरेको भएता पनि पुन ५० हजार गाउँपालिकाले नै सहयोग गर्ने घोषणा गरे ।


विभिन्न सांस्कृतिक प्रस्तुति र उपस्थित अतिथिहरुलाई खाना खुवाइ पन्चे बाजा सहित नाच गान गर्दै मोदीखोला कोटेसाँघ महभीर पुग्ना साथ पुजारी एवंम् भीरैटे समेत रहेका ७५ वर्षीय आनन्द पौड्यालले विधिपूर्वक पूजा गरी प्रसाद र टिका उपस्थित सबैलाई प्रदान गरेका थिए ।
गाउँपालिका अध्यक्ष युवराज कुँवरले मह काढ्ने कामको शुभारम्भ गर्दै भिरौटेहरुलाई पर्‍याङ हस्तान्तरण गरेका थिए । सम्पूर्ण भिरौटे टोलीलाई शुभकामना गर्दै कुँवरले धैर्यका साथ मह काढ्न सुझाए ।

Advertisement


पहिलो दिन पुजारी पैड्यालको नेतृत्वमा भिरमा मह काढ्न उत्रिएको टोलीले २ घार काडेको थियो । जसबाट ८ लिटर मह संकलन भएको थियो । त्यस्तै दोस्रो दिन १६ घार काढ्दा ४ लिटर, तोस्रो दिन ७ घार काढ्दा ६ लिटर, चैथो दिन ७ घार काट्दा ७ लिटर, पाँचै दिनमा ५ घार काट्दा ८ लिटर काडिएको र कुल ३७ घार काट्दासम्म ३३ लिटर मह काढिएको आयोजक टिमका सचिव विष्णु चापागाईले बताए ।


पहिलो दिन जम्मा २ घार काढ्दा पनि ८ लिटर संकलन हुँदा विस्तारै मह घट्दै जानुमा स्थानीयबासी भन्छन्, ‘मौरी निकै चतुर हुन्छन् अब मानिसहरु सिकार गर्न आए भन्ने चालपाउनासाथ मह खान थाल्छन् त्यसैले दिनानुदिन मह संकलन घट्छ ।’


४ दिनको लगातारको सांस्कृतिक कार्यक्रम र पाहुनाको सत्कारपछि शुक्रबार कार्यक्रम समापन गरिएको छ । अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष सगुन गुरुङको प्रमुख आतिथ्यमा आयोजना गरिएको समापन कार्यक्रममा उनले गाउलेहरुलाई आफू र अध्यक्ष युवराज कुँवर फरक राजनीतिक सिधान्त भएपनि सम्पूर्ण गाउँको विकासको एजेन्डा बोकेर हिँडेको बताइन् । उनले भनिन्, ‘हामीले अहिलेसम्म कुनै पनि विकासको काममा अवरोध गरेका छैन तर कुनै जनप्रतिनिधिहरुले सरकारबाट आएको पैसा आफ्नो गोजीबाट पैसा हालेर विकास गरे झै गर्छन्, जुन गलत छ ।’


फेस्टिभलभरिनै गाउँका समाजसेवी र विदेशी तथा आन्तरिक पर्यटकको आर्थिक सहयोगको लर्को नै लाग्यो । उपाध्यक्ष गुरुङले भने समापन कार्यक्रममा नै फेस्टिभलका लागि व्यक्तिगत तर्फबाट १५ हजार सहयोग गरेकी छिन् । अन्य दाताहरुको नामावाली र कार्यक्रमको सम्पूर्ण आर्थिक विवरण भने आइतबार जानकारी गराउने कार्यक्रमका संयोजक राम गुरुङले जनाए ।

तपाईको प्रतिक्रिया