पोखरा महोत्सवलाई समाधानको साथ

समाधान संवाददाता २०७८ पुष ६ गते १९:२५


पोखरा ।


११ औं संस्करणको पोखरा महोत्सवलाई समाधान मिडियाले साथ दिने भएको छ । युनाइटेड क्लबको आयोजनामा पुस २८ गतेदेखि हुने महोत्सवलाई समाधानले अफिसियल मिडियाका रुपमा साथ दिने भएको हो । मिडियाका व्यवस्थापक श्री पोखरेल र महोत्सव प्रचार उपसमिति संयोजक शान्तबहादुर थापाबीच एक सहमतिपत्रमा मंगलबार हस्ताक्षर भएको छ ।


हस्ताक्षरपछि बोल्दै समाधान मिडियाका व्यवस्थापक पोखेलले सामाजिक काममा अग्रणी स्थानमा रहेको युनाइटेड क्लबले प्रत्येक वर्ष आयोजना गर्दै आइरहेको पोखरा महोत्सवमा मिडिया पार्टनर बनी सहकार्य गर्न पाउँदा निकै खुसी लागेको बताए । ‘आगामी दिनमा क्लबसँग भएको सम्झौता अनुसार महोत्सवलाई मिडियाको माध्यमबाट महत्वपूर्ण स्थान दिने प्रतिबद्धता व्यक्त गर्छाैं,’ उनले भने ।

Advertisement


युनाइटेड क्लबका महासचिव तथा महोत्सव प्रचार उससमिति संयोजक शान्तबहादुर थापाले समाधान मिडियाले पोखरा महोत्सवलाई साथ दिएर सामाजिक क्रियाकलापमा सहभागिता जनाएकोमा खुसी व्यक्त गरे । ‘पोखरा महोत्सव युनाइटेड क्लबको मात्र नभई समग्र पोखराको महोत्सव भएकाले सम्पूर्ण पोखराबासीले सहयोग गर्दै आएकोमा हामी खुसी छौं, त्यही सहयोगले महोत्सव यहाँसम्म आइपुगेको छ,’ उनले भने ।


त्यस अवसरमा बोल्दै युनाइटेड क्लबका द्वितीय उपाध्यक्ष गणेश तिमिल्सिनाले पोखरा महोत्सवको तयारी तीव्र रुपमा अगाडि बढिरहेको बताए । अर्थ व्यवस्थापन उपसमिति संयोजक सूर्यबहादुर बानियाँले महोत्सवलाई सफल बनाउन गठित विभिन्न उपसमितिहरुको समन्वयमा महोत्सवलाई भव्य र सभ्य बनाउनका लागि आफूहरु अगाडि बढेको जानकारी दिए ।

Advertisement


महोत्सवको मुख्य प्रायोजन बेटर होम एप्लायन्सेसले गरेको क्लबका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए । देशको कला, संस्कृति, भेष भुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकासबाट देशलाई समृद्धितर्फ अग्रसरता प्रदान गर्ने लगायत महोत्सवका उद्देश्य छन् ।


महोत्सवमा पोखरा र आसपासका पर्यटकीय क्षेत्रको प्रवद्र्धन र यस क्षेत्र उत्पादित वस्तुको बजारीकरण, स्थानीयदेखि राष्ट्रियस्तरका कलाकारको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यसमेत रहेको अध्यक्ष श्रेष्ठले बताए । महोत्सवमा विभिन्न जात जातिका कला संस्कृति प्रदर्शनी, औद्योगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधिहरुको प्रदर्शनी एवं जानकारी रहनेछन् ।

तपाईको प्रतिक्रिया