एनजिओ शाखा कमिटीमा रामचन्द्र

समाधान संवाददाता २०७८ पुष ९ गते १३:०४

पोखरा ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) बुद्विजीवी विशेष इलाका कमिटी कास्की अन्तर्गतको गैर सरकारी संस्था महासंघ (एनजिओ) शाखा कमिटीको ५ औं अधिवेशन बिहीबार भएको छ ।


अधिवेशनबाट अध्यक्ष रामचन्द्र पौडेलसहित सर्वसम्मत २५ सदस्यीय शाखा कमिटी चयन भएको छ । कमिटीका उपाध्यक्षमा भोलानाथ ढकाल, सचिव मधु पन्थी, सहसचिव शारदा शर्मा तथा गणेशकुमार श्रेष्ठ छन् । अधिवेशनले पार्टीको बुद्विजीवी विशेष इलाका कमिटीको अधिवेशनका लागि प्रतिनिधि छनोट गरेको अध्यक्ष पौडेलले जानकारी दिए ।


नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी कास्की कार्यवहाक अध्यक्ष मनबहादुर गुरुङले पार्टीको कामलाई सामाजिक क्षेत्रमा व्यापक रुपमा लैजान सुझाव दिए । उनले सामाजिक संस्था तथा मानव अधिकार क्षेत्र क्रियाशील व्यक्तिलाई पार्टीमा संगठित गर्न आग्रह गरे ।
पार्टीका जिल्ला कमिटी कास्की सदस्य श्रीकान्त खतिवडाले समानता, सामाजिक न्याय तथा मानव अधिकार आन्दोलनलाई पार्टीको निर्णय अनुसार अगाडि बढाउन सुझाव दिए । एनजिओ शाखा कमिटी अध्यक्ष रामचन्द्र पौडेलले नागरिक संगठन आफैंमा बलियो र संगठित भएतापनि पार्टीमा भूमिका कमजोर भएको उल्लेख गरे । उनले संगठन विस्तारको क्रममा सामाजिक संघ, संस्थामा प्रारम्भिक कमिटी गठन गर्ने जानकारी दिए ।

Advertisement


गैर सरकारी संस्था महासंघ गण्डकी प्रदेश उपाध्यक्ष गोपाल खड्काले समयसापेक्ष रुपमा एनजिओ शाखाको नाम नागरिक संगठन या सामाजिक संघ संस्था राख्न माथिल्लो कमिटीमा सिफारिस गर्ने जानकारी दिए । कार्यक्रममा पार्टीका जिल्ला कमिटी कास्की सचिवालय सदस्य तेजनारायण अधिकारी, जिल्ला कमिटी सदस्य गणेश पाख्रिन, गैरसरकारी संस्था महासंघ नेपाल कास्की अध्यक्ष पदमराज पहारी, एनजिओ शाखा कमिटी सचिव मधु पन्थीलगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया