राष्ट्रियसभा निर्वाचनमा १२ दलले भाग लिने

समाधान संवाददाता २०७८ पुष १० गते १८:४५

काडमाडौं ।
आउँदो माघ १२ मा सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा १२ दलले भाग लिने भएका छन् । उक्त प्रयोजनका लागि निर्वाचन आयोगमा १२ वटा दल दर्ता भएका छन् । निर्वाचनमा भाग लिन राजनीतिक दल दर्ताको समयावधि शनिबारसम्म तोकिएको थियो ।

Advertisement


आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार शुक्रबार नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी(जसपा) र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टीले निवेदन दिएका थिए ।


शनिबार नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल परिवार दलले निर्वाचनमा भाग लिन पाऊँ भन्दै दल दर्ता गराएका हुन् । आयोगका अनुसार पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली र दललाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम तय भएको छ । आयोगको बैठक डाकेर ती दलहरुलाई निर्वाचन चिह्न प्रदान गरिने प्रवक्ता शर्माले जानकारी दिए ।

Advertisement


आगामी फागुन २० गते रिक्त हुने १९ सदस्य पदका लागि राष्ट्रिय सभाको निर्वाचन हुन लागेको हो । राष्ट्रियसभाका सदस्यमध्ये फागुन २० गते पदावधि समाप्त हुनेमा नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी) का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली कांग्रेसका तीन सदस्य छन् ।


निर्वाचन आयोगले निर्वाचनका लागि सम्बन्धित जिल्लाका जिल्ला न्यायाधीशहरुलाई सोही जिल्लामा यही पुस १२ गतेदेखि लागु हुने गरी निर्वाचन अधिकृतमा नियुक्ति गरेको छ । निर्वाचनका लागि प्रदेश सभा सदस्यहरु ५ सय ३२ तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरु १ हजार ४ सय ९३ गरी जम्मा २ जार २५ जनालाई आयोगले मतदाता कायम गरेको छ ।

तपाईको प्रतिक्रिया