कास्की महिला उद्यमी संघ पुरस्कृत

समाधान संवाददाता २०७८ पुष १३ गते १८:५६


पोखरा ।


महिला उद्यमी महासंघ नेपालले देशभरका विभिन्न महिला संघलाई पुरस्कृत गरेको छ । महिला उद्यमी संघ कास्कीले ५७ जिल्लामध्येबाट तेस्रो पुरस्कार पाएको छ । तेस्रो भए स्वरुप कास्कीले ७ हजार रुपैयाँ नगद प्राप्त गरेको छ ।


महिला उद्यमी महासंघ नेपालको १८ औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशनको अवसरमा हालै काठमाडौंमा आयोजित कार्यक्रममा महासंघकी पूर्वअध्यक्ष रिता सिंहले महिला उद्यमी संघ कास्कीकी अध्यक्ष पार्वती रेग्मी पौडेललाई नगद र प्रशंसापत्र प्रदान गरिन् ।

Advertisement


जिल्ला उद्यमी संघको तर्फबाट यस वर्षको उत्कृष्ट महिला संघ पुरस्कार बाँके जिल्ला उद्यमी संघले पाएको थियो । बाँके जिल्ला उद्यमी संघले १५ हजार नगदसहित प्रशंसापत्र पाएको छ । द्वितीय पुस्कार चितवन जिल्ला उद्यमी संघले पाएको छ । चितवनले नगद १० हजार रुपैयाँ प्राप्त गरेको छ । यस वर्षको सान्त्वना पुरस्कार भने गोरखा जिल्ला उद्यमी संघले पाएको छ ।


कार्यक्रममा मन्त्री रेग्मीले स्थानीय स्रोत, साधन र जनशक्ति परिचालनबाट महिलाले लघु उद्यमशीलताको विकाससँगै समृद्ध मुलुक निर्माणमा जोड दिनुपर्ने बताइन् । उनले लघु उद्यमले व्यापार व्यवसायमार्फत राज्यको नीतिनिर्माण तथा महिला सशक्तीकरणको क्षेत्रमा मात्र नभई आत्मनिर्भर अर्थतन्त्रमा समेत पु¥याएको योगदानबारे चर्चा गरिन् ।

Advertisement


महासंघकी अध्यक्ष निरु राईमाझी खत्रीले नयाँ नेतृत्वले उद्योगको विकास, व्यावसायिक योजना निर्माण, वित्तीय पहुँच, सहजीकरण तथा परामर्शको विकासका साथै उद्यमशीलता र दिगो विकासमा जोड दिने बताइन् । ५७ जिल्लामा रहेका महिला संघहरूको विकास गर्न सरकार र विकास साझेदारी संस्थासँगको सहकार्यमा उद्योग व्यवसायलाई बजारमुखी बनाउनेमा जोड दिने उनको भनाइ छ । महासंघकी प्रथम उपाध्यक्ष शोभा ज्ञवालीले ‘स्वदेशी खाऔं, स्वदेशी लगाऔं, उद्यमशीलता बढाऔं’ भन्ने नारासहित नयाँ कार्यसमितिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उद्यमशीलताको क्षेत्रबाट योगदान जारी राख्ने विश्वास व्यक्त गरिन् । निवर्तमान अध्यक्ष रिता सिंहले खेर गइरहेको स्रोत र साधनमार्फत महिलालाई आन्मनिर्भर बनाउन आफ्नो कार्यकालमा महासंघले विशेष पहल गरेको स्मरण गराइन् ।


पार्वती केन्द्रीय सदस्य


महिला उद्यमी महासंघ नेपालले नयाँ कार्यसमिति चयन गरेको छ । गण्डकी प्रदेशबाट महिला उद्यमी संघकी अध्यक्ष पार्वती पौडेल रेग्मी केन्द्रीय सदस्य निर्वाचित भएकी छन् । महासंघको १८औं वार्षिक साधारणसभाले निरु रायमाझी खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले खत्री नेतृत्वमा २७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।


नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा शोभा ज्ञवाली निर्वाचित भएकी छिन् । द्वितीय उपाध्यक्षमा दर्शना श्रेष्ठ, तृतीय उपाध्यक्षमा सुनिता वैद्य श्रेष्ठ र चौथो उपाध्यक्षमा बासन्ती प्रधान छन् । त्यसैगरी महासचिवमा लक्ष्मी श्रेष्ठ, सचिवमा सविता सुवेदी र कोषाध्यक्षमा कुन्नम पोखरेल निर्वाचित भएका छन् । महासंघका अनुसार कार्यकारी सदस्यमा नीता प्याकुरेल, श्रद्धा जोशी, दीपा थपलिया, सरिता तुलाधर, सुमित्रा पलाञ्चोके, सोनी जोशी र हिमा विष्ट चयन भएका छन् । प्रदेशतर्फको कार्यकारी सदस्यमा कृति उपाध्याय (प्रदेश १), देवकुमारी पौडेल (प्रदेश २) अर्पना भण्डारी प्रधान (वाग्मती प्रदेश), सरस्वती शर्मा (लुम्बिनी प्रदेश), कविता थापा (कर्णाली प्रदेश) र मीना फुलारा (सुदूरपश्चिम प्रदेश) चयन भएका छन् । आमन्त्रित कार्यकारी सदस्यमा आरती नेपाल र मलिका श्रेष्ठ चयन भएका छन् भने मनोनीत सदस्यमा प्रतिभा पाण्डे र डिकिला लामा चयन भएको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया