नेता कार्यकर्तालाई प्रवचन दिन कांग्रेस महामन्त्री शर्मा पोखरा आउँदै

समाधान संवाददाता २०७८ पुष १५ गते १९:५९

पोखरा ।

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा शुक्रबार पोखरा आउने भएका छन् । ४६औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा कास्की काँग्रेसले आयोजना गरेको प्रवचन कार्यक्रममा सहभागी हुन महामन्त्री शर्मा पोखरा आउने भएका हुन् ।

महामन्त्री शर्माले शुक्रबार बिहान ११ बजेदेखि काँग्रेसका नेता कार्यकर्तालाई प्रवचन दिने कार्यक्रम रहेको छ । उनले आजको सन्दर्भमा राष्ट्रिय मेलमिलाप दिवसबारे प्रवचन दिने कार्यक्रम छ । उक्त अवसरमा कांग्रेसका आग्रजहरुलाई सम्मान गर्ने कार्यक्रम पनि छ । पार्टी सचिव भानुभक्त ढकालका अनुसार कार्यक्रमको सबै तयारी पूरा भएको छ । ढकालका अनुसार कार्यक्रम कांग्रेसको पार्टी कार्यालय चिप्लेढुंगामा हुनेछ । पार्टीका संस्थापक बीपी कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ का रुपमा मनाउँदै आएको छ ।

Advertisement

मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्कालगायत नेताहरु मेलमिलापको नीति लिएर वि.सं २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए । दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक संक्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्किएका कांग्रेस नेता बीपीले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए ।

तत्कालीन अवस्थामा नेपालको सार्वभौमसत्ता नै गुम्ने खतरा देखेपछि स्वदेश फर्किएका नेता बीपी कोइराला, गणेशमान सिंहलगायतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेबित्तिकै पक्राउ गरी सुन्दरीजल जेलमा बन्दी बनाइएको थियो । नेपालमा केही समय जेल जीवन बिताइसकेपछि २०२५ सालमा भारत प्रवासमा गएका नेताहरू राष्ट्रियतामाथि खतरा देखिएको भन्दै आठ वर्षे प्रवास जीवन त्यागेर राष्ट्रिय एकता तथा मेलमिलाप नीति लिएर २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया