बगर भाइ खलक एट ए साइड

समाधान संवाददाता २०७८ पुष २८ गते ११:३१

पोखरा ।
बगर भाइ खलकको आयोजनामा जारी दोस्रो दिनको खेलमा आयोजक बगर भाइ खलक हरियो टिम विजयी भएको छ । बगर भाइ खलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता अन्तर्गत भएको खेलमा आयोजक वगर भाइ खलकको ‘ए’ टिमले काठमाडौको वौद्ध भेट्रान्समाथि ५–२ ले सहज जित दर्ता गरेको हो ।

Advertisement


टुडिँखेल मैदानमा भएको खेलमा बगर भाइ खलकका मनोज गुरुङले ह्याट्रिक पूरा गरे । खेलमा बगर भाइ खलकका लागि राजकुमार लामा र दीपक गर्वुजाले समान १–१ गोलको योगदान दिए । पराजित वौद्धको तर्फबाट रञ्जित लामा र तीर्थ लामाले १–१ गोल गरे । ‘स्वास्थ्यको लागि १ घण्टा व्ययाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने मूल नाराका साथ भएको उक्त प्रतियोगिता अन्तर्गत दोस्रो दिन ७ खेल भएका छन् ।

लिगकम नक आउटका आधारमा सञ्चालन भएको प्रतियोगिता अन्तर्गत सानो गौचरन भेट्रान्स काठमाडौले थापा गाउँ काठमाडौलाई ३–० ले पराजित गरेको छ । पूर्व राष्ट्रिय खेलाडीहरु सागर थापा, छन्नुराम चौधरी, नरोत्तम गौतम र राकेश श्रेष्ठ सम्मिलित टिम सानो गौचरनले लयमा खेल प्रदर्शन गर्दै थापा गाउँमाथि सहज जित हासिल गरेको हो । खेलमा म्यान अफ दि म्याच राष्ट्रिय टिमका पूर्व कप्तानसमेत रहेका सागर थापाले १ गोलसँगै अजव श्रेष्ठ र नितिन गुरुङले समान १ गोल गरेका थिए ।


अर्को एक खेलमा हेटौंडाको नागसोती टिमले सिमरा भेट्रानलाई २–० ले पराजित गरेको छ । खेलमा म्यान अफ दि म्याच निमा लामा र सुलभजंग राणाले समान १ गोल गरेका थिए । अर्को एक खेलमा आयोजक बगर भाइ खलकको ‘बि’ टिम वुटबल भेट्रान्ससँग पराजित भएको छ । बुटवलका भरत काउछाले ह्याट्रिय पूरा गरी म्यान अफ दि म्याचको ट्रफी हात पार्दा चण्डिका चौधरीले टिमका लागि १ गोल गरे । प्रतियोगिता अन्तर्गत नै पशुपति भेट्रान्स काठमाडौंले आफ्नै जिल्लाको किङ कम भेट्रान्सलाई टाइब्रेकरमा २–१ ले पराजित गरेको छ ।


अर्काे खेलमा पोखराको एबिसी भेट्रान्स ‘ए’ टिमले काठमाडौको टुँिडखेल भेट्रान्समाथि ३–० को सहज जित दर्ता गरेको छ । खेलमा म्यान अफ दि म्याच हरि खडका, डम्बर गुरुङ र नरेन्द्र गुरुङले समान १ गोल गरेका थिए । अर्को खेलमा पोखराको लेकसाइड भेट्रान्स पाहुना टोली काठमाडौको फ्रिडम फाइटरसँग टाइब्रेकरमा २–१ ले पराजित हुँदै स्तब्ध बनेको छ । खेलमा फ्रिडमका किपर सहिन श्रेष्ठ म्यान अफ दि म्याच बने ।

Advertisement


४० देखि ६५ वर्षको उमेर समूहका पाका खेलाडीको खेलबाट नयाँ पिढीलाई खेलकूदप्रति अभिरुचि जगाई खेलाडी उत्पादन गर्ने लक्ष्य राखिएको उक्त प्रतियोगितामा २५ टिमको सहभागिता रहेको संस्थाका अध्यक्ष दिलबहादुर गुरुङले जनाएका छन् । उपाधि विजेताले १ लाख ५१ हजार १ सय १ सय ११ सहित रनिङ सिल्ड, पदक र प्रमाणपत्र, उपाविजेताले नगद ७५ हजार ५ सय ५५ सहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने छन् ।


उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई ट्रफीसहित जनही नगद ५ हजार दिइनेछ भने सेमिफाइलन पुग्ने २ टिमले नगद १० हजार पाउने छन् । सर्वोत्कृष्ट खेलाडीलाई ट्रफीसहित नगद १० हजार प्रदान गरिनेछ । प्रतियोगिता गर्न २० लाख खर्च लाग्ने अनुमान गरिएको छ भने २१ लाख ५० हजार आम्दानी हुने अनुमान गरिएको संस्थाका अध्यक्ष रमेश श्रेष्ठले जनाए ।

तपाईको प्रतिक्रिया