कास्कीमा १३८ स्वास्थ्यकर्मीलाई संक्रमण

७० स्वास्थ्यकर्मी संक्रमित रहेको क्षेत्रीय अस्पतालको सेवा प्रभावित

सञ्जय रानाभाट २०७८ माघ ७ गते २०:३५

स‌ञ्जय रानाभाट

पोखरा ।
गण्डकी प्रदेशभर पछिल्लो २४ घण्टामा ९ सय जनामा कोभिड संक्रमण पुष्टि भएको छ । तेस्रो लहर सुरु भएपछि यो पहिलो सबैभन्दा ठूलो आँकडा हो । ती ९ सय संक्रमितमध्ये २६८ जनाचाहिँ चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरु हुन् । कास्कीका मात्रै १३८ स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।


गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अब प्रदेशमा सक्रिय संक्रमितको संख्या ४ हजार १ सय १७ पुगेको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका थुप्रै स्वास्थ्यकर्मीहरु संक्रमित भएका छन् । अस्पतालका निर्देशक डा भरत खत्रीले ७० जना स्वास्थ्यकर्मी संक्रमित भएको जानकारी दिए । प्रदेशकै सबैभन्दा ठूलो पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा धैरै स्वास्थकर्मी संक्रमित हुँदा सेवा प्रभावित भएको निर्देशक खत्रीले बताए । ‘उपचारका लागि खटिने स्वास्थ्यकर्मी नै संक्रमित हुँदा वडाहरुमा ड्युटी गर्ने मान्छे नभएर अप्ठेरोे परेको छ,’ उनले भने, ‘शनिबारबाट त हामीहरुले पहिलका वैकल्पिकहरुलाई पनि बोलाएर काम लगाएका छौं ।’

Advertisement


क्षेत्रीय अस्पतालमा ६ सयजना स्वास्थ्यकर्मी छन् । अस्पतालको रेट्रोफिटिङ भइरहेकाले अस्पतालमा अहिले ५० मात्र कोभिड बेड छन् । जसमा २७ जना कोरोनाका बिरामी उपचारत रहेको खत्रीले बताए । ‘देशमा ठूलाठूला सभा सम्मेलन भए । पोखरामा त ठूलो भिडभाडका साथ न्युइयर भयो । विभिन्न खेलकुद कार्यक्रम भए यसबाट कोरोना स¥यो,’ उनले भने ।


कोरोना संक्रमति दिन प्रतिदिन बढ्दै गएपछि पश्चिमाञ्चल अस्पतालमा अक्सिजनका २ वटा मेसिन चलाउनुपर्ने अवस्थामा आइपुगेको खत्रीले सुनाए । ‘सबैले स्वास्थ्यका मापदण्डहरु अपनाउनुप¥यो । सरकारले एकचोटि फेरि लकडाउन नै गर्नुपर्छ । एकजनाको पहलबाटमात्र कोरोना नियन्त्रण हुन गाह्रो छ,’ उनले भने । क्षेत्रीय अस्पतालमा अर्थाे, गाइने वार्डको सेवा नै प्रभावित हुने गरी जनशक्ति अभाव देखिन थालेको छ । कारण—ती वार्डका स्वास्थ्यकर्मी नै संक्रमित हुनु ।

Advertisement


संक्रमणदर बढ्दै गएपछि प्रदेशमा एम्बुलेन्स सेवा, हेलो डक्टर र चालक लगायत सेवा प्रभावित भएको छ । पोखरा ३० स्थित संक्रामक तथा सरुवा रोग अस्पतालका १२ जनामा संक्रमण देखिएको जानकारी अस्पतालका कार्यकारी निर्देशक डा विकास गौचनले दिए । उनकै भनाइमा अहिले उक्त अस्पतालमा उपचारका लागि कोभिडका १२ बिरामी पनि छन् ।


गण्डकी शिक्षण अस्पताल पृथ्वीचोकका २० स्वास्थ्यकर्मी संक्रमित भएको जानकारी मेडिकल सुपरिटेन्डेन्ट डा टुमाया घलेले दिइन् । उनकै भनाइमा गण्डकी मेडिकल कलेजले विद्यार्थीको पढाइ सुरु अनलाइन गरिसकेको छ । बाटोघाटोमा हिँडडुल गर्दा मास्क नलगाउने, लगाए पनि चिउँडोमा राख्ने, मान्छे भेटिए झन् मास्क खोलेर बोल्ने प्रवृत्ति देखिएको डा घलेले सुनाइन् ।


कोरोनालाई सामान्य रुघाखोकी त हो भन्दै धेरैले हेलचक्र्याइँ गरेको पाइएको घलेले बताइन् । सर्वसाधारण संक्रमित हुने दर बढ्नाले नै चिकित्सक र स्वास्थ्यकर्मी पनि संक्रमित हुन पुगेको उनको भनाइ छ । ‘घरमा पनि भौतिक दुरी कायम गर्नुपर्छ,’ उनले भनिन् । नेपाल मेडिकल एसोसिएसन गण्डकीका पूर्वअध्यक्ष डा निर्मल लामिछाने फ्रन्टलाइनर भएकैले चिकित्सा र स्वास्थ्यकर्मी संक्रमणको जोखिममा रहेको बताए । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्मा संक्रमण दर बढ्नुको कारण स्वास्थ्य मापदण्ड पालनामा भएको हेलचक्र्याइँ मान्छन् । ओमिक्रोन त केही रहेनछ भन्ने ठान्ने, भीडभाडमा जाने सर्वसाधारणदेखि सबैजसोको मनोवृत्ति र प्रवृत्ति देखिएको उनी बताउँछन् ।


संक्रमण हुनेमा सबैभन्दा बढी कास्की जिल्ला छ । शनिबार कास्कीमा ४ सय ८९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनलायले जानकारी दिएको छ । प्रदेशका अन्य जिल्लाहरु नवलपरासीमा ६१, स्याङ्जामा १२३, तनहँुमा, ६९, म्याग्दीमा १९, बागलुङमा ३७, लमजुङमा ४५, मुस्ताङमा १, पर्वतमा १६, गोर्खामा ४० जना संक्रमण पुष्टि स्वास्थ्य निर्देशनालयले जनाएको हो र शनिबार संक्रमित मध्य प्रदेशमा २ सय ६८ जना स्वास्थ्यकर्मी छन् । यसमध्ये पनि कास्कीमा सबैभन्दा बढी स्वास्थयकर्मी संक्रमित देखिएका हुन् ।
कास्कीमा एकैदिन १ सय ३८ जना स्वास्थ्यकर्मी कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको हो । संक्रिमितमध्ये गोरखामा ६ जना, मुस्ताङमा ३, म्याग्दीमा ९, लमजुङमा २०, तनहुँमा ४२, नवलपरासी पूर्वमा १७, स्याङजामा १२, पर्वतमा १० र बागलुङमा ११ जनामा स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ ।


गण्डकीमा २ संक्रमितको मृत्यु
गण्डकी प्रदेशका गोरखा र पर्वतमा कोभिड संक्रमणबाट १÷१ जनाको मृत्यु भएको छ । गएको सातायता संक्रमित मृत्युको रेकर्ड शुक्रबार दर्ज भएको हो । गण्डकीमा कोरोनाबाट मृत्यु हुने १ हजार ४ सय ३२ पुगेका छन् । पर्वतको कुश्मा नगरपालिका–१३ की २३ वर्षीया महिलाको बिहीबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । उनमा बिहीबार नै कोरोना संक्रमणको पुष्टि भएको हो । बिहीबारै संक्रमण पुष्टि भएका गोरखा नगरपालिका–११ का ४० वर्षीय पुरुषको सोही दिन मृत्यु भएको हो । गण्डकी प्रदेशमा बिहीबार ९ सयजनालाई कोभिड संक्रमण भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


कास्कीमा सक्रिय संक्रमित २ हजार १ सय ५६ जना पुगेका छन् । स्याङ्जामा सक्रिय संक्रमितको संख्या ५ सय ८ पुगेको छ । गोरखामा ४०, मुस्ताङमा १, म्याग्दीमा १९, लमजुङमा ४५, तनहुँमा ६९, नवलपरासी पूर्वमा ६१, पर्वतमा १६ र बागलुङमा ३७ जनामा संक्रमण पुष्टि भएको छ ।


ओमिक्रोनबाट कसरी बँच्ने ?
ओमिक्रोन भेरियन्ट देखापरेको मुलुकहरूमा संक्रमण दर ह्वात्तै बढेको छ । तर यो ओमिक्रोन कत्तिको संक्रामक छ भन्ने हालसम्म स्पष्ट भइसकेको छैन र यसबारे थप अध्ययन भइरहेको छ । ओमिक्रोन भेरियन्ट धेरै छिटो फैलिन सक्ने भेरियन्टका रूपमा देखा परेको छ । हाल वितरण भइरहेको कोभिड–१९ विरुद्धका खोपहरू यस भेरियन्टलाई प्रतिरोध गर्न सक्छन् कि सक्दैनन् भन्ने यकीन गर्न वैज्ञानिकहरू अध्ययन गरिरहेका छन् र अहिले सम्म ठोस तथ्य पत्ता लागिसकेको छैन । पहिले कोभिड–१९ संक्रमण भइसकेकालाई समेत फेरी ओमिक्रोन भेरियन्टको संक्रमण हुन सक्छ । कोभिड–१९ का अन्य भेरियन्ट जस्तै ओमिक्रोनको संक्रमणबाट बच्न पनि मास्कको सही प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, बेलाबेलामा साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने, भिडभाड नगर्ने, हावा आवतजावत राम्रो हुने स्थानमा बस्ने लगायतका सबै जनस्वास्थ्यका मापदण्डहरूको कडाइपूर्वक पालना गर्नुपर्छ र कोभिड–१९ विरुद्धको खोप लगाउनुपर्छ ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया