अन्तर्घात विफल पार्दै गठबन्धन उम्मेदवार विजयी

सञ्जय रानाभाट २०७८ माघ १३ गते ११:५६

सञ्जय रानाभाट
पोखरा ।
नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धनका उम्मेदवार अन्तर्घात विफल पार्दै गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यको निर्वाचन जित्न सफल भएका छन् । उनीहरुले गठबन्धनमा सामेल दलका गण्डकी प्रदेश सभाका सबै सांसदको मत पाउन नसके पनि निर्वाचन जित्न आवश्यक मत ल्याउन सफल भएका हुन् ।


राष्ट्रिय सभा सदस्यमा महिलातर्फ नेपाली कांग्रेसकी नेतृ कमला पन्त, दलिततर्फ माओवादीका भुवन सुनार र अन्यबाट माओवादीकै सुरेश आलेमगर निर्वाचित भएका छन् । पन्त मंसिरमा भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महिलातर्फ सहमहामन्त्री पदकी उम्मेदवार थिइन् । त्यसमा पराजित उनलाई पार्टीले यसपालि राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाएको हो ।


बुधबार भएको निर्वाचनमा गठबन्धनका ३ र एमाले ३ उम्मेदवार थिए । पन्तले लीला थनेतलाई पराजित गरिन् । भुवनले अर्जुन सुनामलाई हराए । सुरेश पुण्य पौडेलमाथि विजयी पाउन सफल भए ।

Advertisement


कमला पन्तले ३०४८ मतभार पाइन् । भुवन सुनारले पनि पन्तकै जति मतभार ल्याए । सुरेश आलेमगरलाई ३०९६ मतभार आयो । प्रदेश सभा सदस्यका तर्फबाट पन्त र सुनारले २९÷२९ ल्याउँदा आलेलाई ३० आयो । प्रदेश सभा सदस्यको मतभार ४८ हुन्छ । गण्डकी प्रदेश सभामा कांग्रेस—माओवादी नेतृत्व गठबन्धन्का ३१ सांसद छन् । एमालेका २७ सांसद छन् । तर विजयी ३ उम्मेदवारलाई गठबन्धनका सबै ३१ सांसदको मत परेन । एमाले उम्मेदवारहरुले भने २७ भन्दा बढीको मत पाए ।


एमालेकी लीला र अर्जुनको २७२४÷२७२४ र पुण्यको २६९४ मतभार आएको छ । अन्यतर्फको निर्वाचनमा एकजना प्रदेश सांसदको मत बदर भएको थियो । आलेमगरले भने ३० सांसदको मत पाए । एमालेका पुण्य पौडेललाई प्रदेश सभामा भएका २७ एमाले सांसदभन्दा १ बढी २८ जनाको मत आयो । निर्वाचनमा मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका प्रमुख राजु विष्ट र बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्का अनुपस्थित भएका थिए । विष्ट एमाले र खड्का राप्रपा हुन् ।

Advertisement


यसअघि २०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा गण्डकी प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित माओवादीका दीनानाथ शर्मा र खिमबहादुर विक तथा नेकपा एसकी शान्तिकुमारी अधिकारीको थिए । उनीहरुको राष्ट्रिय सभाको सदस्यको पदावधि सकिँदै छ । उनीहरुसहित राष्ट्रिय सभामा १९ जनाको पदावधि सकिँदै छ ।


माथिल्लो सदनका रूपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभा सदस्यको पदावधि ६ वर्षको हुन्छ । राष्ट्रिय सभामा २०७४ मा निर्वाचन र मनोनयबाट छनोट भएका ५९ जनाबीच गोलाप्रथा गरी २, ४ र ६ वर्ष कार्यकाल निर्धारण गरिएको थियो । पहिलो पटकका लागि त्यसो गरिएकोमा २ वर्ष कार्यकाल पूरा भएकाहरुको ठाउँमा अरु निर्वाचित भइसकेका छन् । यसपालि ४ वर्षे कार्यकाल पूरा भएकाहरुको पदावधि सकिएको हो । उनीहरुको सट्टा बुधबार निर्वाचित भएकाहरुको कार्यकाल भने ६ वर्ष नै हुनेछ ।


विश्वका ७९ मुलुकमा द्विसदनात्मक व्यवस्थापिका छ । माथिल्लो सदनमा सदस्यता पूर्ण रुपले रिक्त नहुने, खास समयमा निश्चित प्रतिशत सदस्यको पदावधि समाप्त भए पनि पुनः निर्वाचित हुने हुनाले यसलाई स्थायी सदनका रुपमा लिने गरिन्छ । नेपालको सन्दर्भमा राष्ट्रिय सभा प्रत्येक २ वर्षमा एक तिहाई सांसदको अवधि समाप्त हुने र पुनः सोही प्रक्रियाबाट सांसद चुनिने संवैधानिक व्यवस्था छ ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया