होचो कदका सागरको सगरमाथा सपना

श्याम कुँवर २०७८ माघ २२ गते १३:४५

श्याम कुँवर

पोखरा ।
होचो कदका कास्कीको मादीका सागर सुनार (विश्वकर्मा) ले आगामी वसन्त ऋृतुमा विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोहण गर्ने योजनामा छन् । ३ फिट ७ इन्च उचाइका सुनारको योजनालाई मादी गाउँपालिकाले साथ दिएको छ । उनको तौल ३५ केजी छ । ५ भाइमध्येका कान्छा सागरका २ दिदिबहिनी छन् ।२८ वर्षीय सुनार मादी गाउँपालिका वडा नम्बर ११ तासेका स्थायी बासिन्दा हुन् ।


पालिकाले शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले सगरमाथाका सफल आरोहण गरी कीर्तिमान कायम गर्ने सपना सुनाए । सगरमाथा आरोहणको पूर्वतयारीस्वरूप उनले गत अक्टुबर ३० मा रोल्वालिङ भ्यालीस्थित ५ हजार ९ सय २५ मिटर अग्लो रामदुङ हिमाल सफल आरोहण गरिसकेका छन् ।‘सगरमाथा आरोहण गर्ने मेरो सानैदेखि सपना थियो,’उनले भने, ‘म सगरमाथा आरोहण गरी अपांगलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न चाहन्छु ।’

Advertisement


विश्व कीर्तिमान राख्ने सपना साकार पार्न उनलाई २१ पटक सगरमाथा शिखर चुमेकापेम्बा दोर्जे शेर्पाको साथ छ। शेर्पाकै साथमा सागर र अधिवक्ता विष्णुप्रसाद भुषालले रामदुङ हिमाल चढेका थिए । शेर्पाको स्वामित्वमा रहेको हिमालय सेफर्डले प्रस्तावित सगरमाथा आरोहणको संयोजन गरेको छ। आरोहणको नेतृत्व पनि शेर्पाले गर्नेछन् ।


कार्यक्रममा सुनारले पेम्बा दोर्जेकी श्रीमती कान्छीमाया तामाङको प्रेरणाले सगरमाथा आरोहण गर्न लागेको जानकारी दिए । उनले रामदुङ हिमाल आरोहण गर्न ७ लाख ५०हजार खर्च लागेको जनाए ।उनको सबै तयारी पूरा गरी वैशाख पहिलो साता सगरमाथाको आरोहण गर्ने योजना सार्वजनि गरे । उनले ५ सहयोगीसहित आरोहण गर्न करिब १करोड खर्च लाग्ने जनाए ।

Advertisement


उनी आरोहणपछि होचा, पुड्कालाई हौसला तथा सहयोग गर्ने संस्था स्थापना गर्ने तयारीमा छन् । सगरमाथा आरोहणको प्राविधिक पक्षबारे जानकारी दिँदै पेम्बादोर्जेले आरोहणमा समावेश सदस्यको फरक परिचय र जलवायु परिवर्तनको सन्देश बोकेको हिसाबले यो आरोहणले छुट्टै महत्व राख्ने बताए । पछिल्ला २० वर्षमा सगरमाथा क्षेत्रमा हिउँ पग्लने क्रममा तीव्रता आएको जानकारी दिँदै उनले जलवायु परिवर्तनका कारण सगरमाथामा हिउँ पग्लेको दाबी गरे ।


सगरमाथामा हिउँ ५० प्रतिशतले घटेको उल्लेख गर्दै उनले यो क्रम नरोकिए आगामी पुस्ताले सगरमाथामा हिउँ देख्न नपाउने दाबी गरे । अधिवक्ता विष्णुप्रसाद भुसालले जलवायु परिवर्तनले नेपालमा हिउँ पग्लने र हिमताल विस्फोट हुने सम्भावना औंल्याए ।उनले आरोहणले जलवायु परिवर्तन र यसले नेपालका हिमालमा पारेको प्रभावबारे विश्वलाई सन्देश दिने धारणा राखे ।


मादी गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा अध्यक्ष वेदबहादुर गुरुङ ‘श्याम’को संयोजकत्वमा पालिका स्तरको सागर सुनार सगरमाथा आरोहण सहयोग समिति गठन गरिएको छ । १सय२१ सदस्यीय समितिमा पालिकाका उपाध्यक्ष विष्णुमाया आचार्य पौडेल, सहित सबै ६३ जनप्रतिनिधि, पोखरामा क्रियाशील मादीका सबै संघ, संस्था समाज, उद्योगी व्यवसायी, पर्यटनकर्मी र शिक्षक सदस्य छन् । अध्यक्ष गुरुङले सचिवालय बनाएर सबै कामलाई व्यवस्थित गर्ने बताए ।


उनले अर्थ संकलन समिति बनाएर पारदर्शी ढंगले काम गर्ने जानकारी दिए । ‘कार्यपालिकाको बैठक बसेर आर्थिक सहयोग गर्ने निर्णय हुने,’उनले भने, ‘सबै एक भएर प्रक्रियालाई अगाडि बढाऔं । हरेक वडामा सर्बदलीय बैठक राखेर आमा समूह, क्रियाशील संघ, संस्थामार्फत् अर्थ संकलन अभियान चलाऔं ।’ उनले पोखरा, काठमाडौं लगायत विदेशमासमेत अभियान चलाउने जनाए ।


राजनीतिक विश्लेषक झलक सुवेदीले स्कुल पढ्ने बेलामा सगरमाथा आरोहण गर्ने तेञ्जिङ शेर्पा र एडमन्ड हिलारीको नाम सुनेको गाउँ ठाउँको व्यक्ति त्यही अभियानमा सामेल भएको उल्लेख गरे ।पालिका उपाध्यक्ष विष्णुमाया आचार्य पौडेलले पालिकाले आवश्यक संयन्त्र बनाएर आरोहण अभियानलाई सफल पार्ने बताइन् । राष्ट्रिय युवा संघ गण्डकी अध्यक्ष महेन्द्र गुरुङले होचो कदका सागर आँट र साहसका साथ पालिकालाई चिनाउने अभियानमा लागेको बताए । उनले युवा संघ गण्डकीको तर्फबाट अभियानलाई ५५ हजार सहयोग गर्ने घोषणा गरे ।
नेकपा एमाले मादी अध्यक्ष बालकृष्ण गुरुङले सिंगो पालिकाको गौरव बढाउने काममा पार्टीको तर्फबाट आर्थिक, भौतिक र नैतिक सहयोग रहने बताए । नेपाली कांग्रेस गाउँपालिका सभापति याम गुरुङले अभियानलाई वडादेखि केन्द्रसम्मबाट सहयोग गर्ने उल्लेख गरे । नेकपा माओवादी केन्द्र मादी अध्यक्ष तोरणबहादुर गुरुङले राजनीतिक हिसाबले अभियानलाई सफल पार्ने बताए ।


पालिकाले सागर सुनार विश्वकर्मा सगरमाथा आरोहण सहयोग सम्बन्धमा आयोजना गरेको कार्यक्रममा मादी गाउँपालिका वडा नम्बर ११का अध्यक्ष मित्रबहादुर गुरुङ, भाचोक गाविसका पूर्वअध्यक्ष आनन्द सुवेदी, संघीय समाजवादी पार्टीका नेता दीपक तामाङ, तमु धिं नेपालका कोषाध्यक्ष गमबहादुर गुरुङ र बराल डाँडा तमु समाजका अध्यक्ष जुमबहादुर गुरुङले सगरमाथा आरोहण अभियानमा आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने प्रतिवद्धता गरे ।

श्याम कुँवर

कुँवर समाधान दैनिकका वरिष्ठ उपसम्पादक हुन् । 

तपाईको प्रतिक्रिया