बेखबर सिंहदरबार

श्याम रानामगर २०७८ फागुन १३ गते १२:०९

पोखरा ।
ठाउँ ठाउँमा बाढी, पहिरोले वितण्डा मच्चाइरहेको थियो । देशभरबाट बाढी, पहिरोले क्षति पु¥याएको खबर रेडियो, टेलिभिजनले एकनाश फुकि रहेका थिए । देखाई रहेका थिए । पत्रपत्रिकामा पनि उस्तै क्षतिका खबरले भरिएका थिए ।


०७७ को साउने झरीले तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर ५ स्थित सिमलतालमा रहेको दन्द्राङबेँसी र भरतपुर महानगरपालिका २९ साबिक कविलास जोड्ने झोलुंगे पुल त्रिशूली नदीमा आएको बाढीले बगायो । पुलका लठ्ठाबाहेक अरु बाँकी रहेन ।


तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर ५ का अधिकांश स्थानीय यही पुल प्रयोग गरी विभिन्न कामका लागि चितवन जान्थे । बाढीले पुल क्षतिग्रस्त बनाएपछि आउजाउमा समस्या प¥यो ।

Advertisement


सिमलतालको यो पुल बाढीले बगाएपछि अर्को बाटो प्रयोग गर्नु प¥यो । जुन डेढ, २ घण्टा बढी त्रिशूलीको तिरैतिर हिडेर जानुपर्छ । चिप्लो चट्टानको बाटो हुँदै हिड्न बर्खामा झन जोखिम हुन्छ । बाटो लामो हिड्नुपर्ने भएपछि तनहुँ ५ दन्द्राङबेँसीका ५८ वर्षीय बलबहादुर आलेमगरले विकल्प खोजे । लामो बाटो जानुभन्दा उनी जोखिम मोलेरै क्षतिग्रस्त पुलबाट त्रिशूली तर्नअघि सरे । दुर्भाग्य, शरीरको सन्तुलन बिग्रिन पुग्दा उनी पुलबाट खस्न पुगे । ०७७ साउन १७ गते पुलबाट खसेका बलबहादरको अहिलेसम्म कुनै अत्तोपत्तो छैन ।


‘इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा निवेदन दियौं । देवघाट पुलिसलाई खबर गरेर खबर गछौं भनेको थियो,’ स्थानीय सन्तोष रानामगरले भने, ‘अहिलेसम्म कुनै अत्तोपत्तो छैन ।’ त्रिशूलीले बगाएका आलेको शव त फेला परेन । तर, ३ सय बढी स्थानीयले प्रयोग गर्दै आएको यो पुलको पुनर्निर्माण पनि अहिलेसम्म पनि हुन सकेको छैन ।

Advertisement


पुल नबन्दा निकै सास्ती व्यहोर्नु परेको रानाले सुनाए । स्कुल पढ्न जाने विद्यार्थीसमेत पुल नबन्दा हैरानीमा छन् । स्थानीय जुना थापामगरले पुल नबन्दा लामो बाटो गरेर बच्चालाई स्कुल छोड्न जानुपरेको पिरालो सुनाइन् ।


‘पुल नबन्दा धेरै दुःख छ । यहाँ पुल भएको भए यहीबाट सजिलै जान सक्थ्यो,’ उनले भनिन् । चितवनका लागि यो पुलको खासै खाँचो नरहे पनि आफूहरुले निकै सास्ती खेप्नुपरेको स्थानीय बताउँछन् । दन्द्राङबेँसीमा सामुदायिक स्कुल पनि छैन । विद्यार्थी पढ्न चितवनमै जानुपर्छ । २ घण्टा लेउ जमेको तिरैतिर जोखिम मोलेर हिड्दै स्कुल जानुपर्ने बाध्यता छ ।


बाढीले पुल बगाएपछि सोधिखोजी गरिदिन र पुलको क्षतिबारे इलाका प्रहरी कार्यालय आँबुखैरेनीको मुलुल्का उठाएर स्थानीयकै सक्रियतामा गाउँपालिकाको सिफारिससहित गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयमा निवेदन दिएको स्थानीय सन्तोष रानाले बताए । मन्त्रालयमा फोन गर्दा प्रहरीको मुचुल्का र पालिकाको सिफारिस लिएर आउनू भनेकाले त्यसै गरेको उनले सुनाए ।

‘पहिला ठीक छ बनाउँछौं भनेर मन्त्रालयबाट आश्वासन पायौं । घटनाको ४÷५ महिनापछि डिपिआरका लागि मन्त्रालयबाट मान्छे पनि आएका थिए । पछि त यो भन्दा बागलुङमा बढी क्षति छ । बजेट पनि पुगेन अर्को वर्ष गरौंला भनेर पन्छाइयो,’ उनले गुनासो गरे ।


त्यसपछि उनीहरु पुल डिभिजन कार्यालय ललितपुरमा पुल निर्माणको लागि गुहार्न पुगे । प्रदेशमा कागजी कामअघि बढिसकेको हुनाले त्यो डकुमेन्ट फेरि मगाइयो । भदौमा टेन्डर निकालेको असोजमा सम्झौता भएको खबर पाए पनि त्यो कामअघि बढ्न नसकेको उनले सुनाए ।


पुल नहुँदा तनहुँ आँबुखैरेनी गाउँपालिका ५ का दन्द्राङबेँसी, दोन्द्राङ, सितान, मजुवा, भोटेस्वरा, लेस्तर, सानो भञ्ज्याङ, भकुण्डी लगायतका गाउँका ३ सय स्थानीय प्रभावित हुन पुग्छन् । यता, आँबुखैरेनी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष पञ्चबहादुर गुरुङ भने पुल निर्माणबारे अन्धाधुन्ध रहेको बताउँछन् । ‘खै अब ठेकेदारको नम्बर पनि छैन । केही सम्पर्क छैन । हामी त अन्धाधुन्ध छौं,’ उनले भने ।


जनप्रतिनिधिको हैसियतले सम्बन्धित निकायमा घचघच्याउनुपर्ने भए पनि कसलाई सम्पर्क गर्ने थाहै नभएको उनले सुनाए । गाउँपालिका अध्यक्ष गिरबहादुर थापाले यो आफूहरुसँग सम्बन्धित विषय नभएको टिप्पणी गरे । कसैले सोधिखोजी गरिदिनुप¥यो भनेर नआएको उनको भनाइ छ ।


टेन्डर भईसक्यो
पुल डिभिजन कार्यालय ललितपुरले पुल निर्माणका लागि ठेक्का भइ सकेको बताएको छ । कार्यालयमा सम्पर्क गर्दा एक कर्मचारीले ठेक्का प्रक्रियाअघि बढिसकेको जानकारी दिए ।

श्याम रानामगर

मगर पोखरामा क्रियाशील पत्रकार हुन्

तपाईको प्रतिक्रिया