युवालाई पोखरा रिसर्च सेन्टरले दियो संसदीय तालिम

समाधान संवाददाता २०७८ फागुन १६ गते १८:५०


पोखरा ।
पोखरा रिसर्च सेन्टरले युवाहरुलाई प्रि प्रोफेसनल्स पार्लियामेन्टएरी सपोर्ट प्रोग्राम(पिपिएसपी)को दोस्रो शिविर सम्पन्न गरेको छ । शिविरमा सहभागीहरुलाई नीति नियमको आरम्भदेखि कार्यान्वयनको चरणसम्मका प्रक्रियाबारे प्रशिक्षण दिइएको थियो । दोस्रो शिविर फागुन १२ देखि १६ सम्म पोखरामा भएको हो ।


६ महिनाअघि सहभागी भएका युवाहरुलाई दोस्रो चरण चरणको प्रशिक्षणका लागि दोस्रो शिविर सञ्चालन गरिएको थियो । तालिमपछि उनीहरुलाई प्रदेशका मन्त्री तथा प्रदेश सभा सदस्यहरुसँग काम गर्न अवसर प्रदान गरिने भएको छ ।


२०२१–२२ सत्रको पहिलो छनोटमा परेका ५० जनामध्येबाट २५ जनालाई दोस्रो शिविरमा समावेश गरिएको आयोजक पोखरा रिसर्च सेन्टरले जनाएको छ । दुवैपटक आवासीय शिविर चलाइएको थियो । नेसनल इन्डोमेन्ट अफ डेमोक्रेसीसँगको सहकार्यमा गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरु स्रोत व्यक्ति थिए ।

Advertisement


पोखरा रिसर्च सेन्टरका कार्यकारी निर्देशक सुजन रेग्मीले फागुन १२ गते संघीयता तथा आर्थिक संघीयता विषयमा प्रकाश पारेका थिए । दोस्रो दिन गण्डकी प्रदेश सभामा अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालासँग प्रादेशिक मुद्दाहरुमा छलफल भएको थियो । प्रादेशिक नीति नियम, गण्डकी प्रदेशको राजस्व र व्ययको स्रोत, तथ्यांक उत्खनन् र विश्लेषण लगायत विषयमा सहभागीलाई प्रशिक्षित गरिएको थियो ।


प्रमाण आधारित नीति, नेतृत्वमा कथा निर्माण, कार्यविधिको नियम–संसदको नक्कल र नेपालको आर्थिक इतिहास, नेपालको विदेश नीति, विश्व मामिला र मिडिया ह्यान्डलिङको सिप लगायत विषयहरु पनि दोस्रो शिविरमा समावेश थिए । प्रदेश सभा सदस्य धनञ्जय दवाडी र राजीव पहारीसँग प्रादेशिक विषय र विधेयक निर्माण प्रक्रियाबारे छलफल चलेको थियो । ५ दिन ४ रातको आवासीय तालिम शिविर फागुन १६ गते समापन भएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया