चैते दसैँमा ४० लाख भेटी

राष्ट्रिय समाचार समिति (रासस) २०८१ वैशाख १७ गते १३:३६

बागलुङ ।
गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठका रूपमा रहेको बागलुङ कालिका मन्दिरमा चैते दसैँको अवसरमा ४० लाख भेटी संकलन भएको छ । कालिका मन्दिरमा बडादसैँ र चैते दसैँमा सबैभन्दा बढी भेटी संकलन हुँदै आएको छ । कालिका मन्दिरमा यस पटकको चैते दसैँ (नवरात्री)को अवसरमा ४० लाख ७२ हजार ५ सय ५८ भेटी संकलन भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।


गत वर्षको चैते दसैँको अवसरमा सङ्कलित भेटीको तुलनामा यस पटक ११ लाख कम भेटी संकलन भएको छ । गत वर्षको चैते दसैँको अवसरमा ५१ लाख भेटी सङ्कलन भएको थियो । नवरात्र सुरु भएपछि चैते दसैँ अवधिभर पाँच लाखभन्दा बढी दर्शनार्थीले कालिका मन्दिर दर्शन गरेका थिए । उनीहरूले चढाएको भेटी, नगद सहयोग, बलि लगायतबाट उक्त रकम भेटी चढाएका छन् ।


चैते दसैँको अवसरमा कालिका भगवती मन्दिरमा यस पटक बलिको सङ्ख्या घटेकाले अघिल्लो चैते दसैँको तुलनामा ११ लाख कम भेटी सङ्कलन भएको खड्काको भनाइ छ । ‘यस पटकको चैते दसैँमा दर्शनार्थी बढेको तर बलि घटेको पाइएको छ, बलि घट्नासाथ भेटीमा कमी आएको हो, तर धार्मिक पर्यटकको सङ्ख्या क्रमशः बढ्दै आएको हामीले पाएका छौँ, चैते दसैँमा ५ लाखभन्दा बढी धार्मिक पर्यटक मन्दिरमा आएका छन्’, खड्काले भने, ‘चैते दसैँको नवरात्र अवधिभरमा सबैभन्दा बढी भेटी चैत्राष्टमी (चैते दसैँ)को दिनमा ९ लाख १८ हजार भेटी संकलन भएको छ ।’

Advertisement


मन्दिर आसपासमा रहेका सटरबाट मन्दिरले मासिक ३ लाख १४ हजार भाडा असुल गर्दै आएको छ । त्यसबाहेक मन्दिरमा चढाइने अक्षता, बोका तथा कुखुराको टाउकोबाट पनि कमाइ हुने गरेको छ । परेवा उडाउनेले तिर्ने शुल्क, विवाह र व्रतबन्ध शुल्क, मन्दिरमा आउने पण्डितले बुझाउने दस्तुर समेतबाट आम्दानी जोडिने गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव निशान खड्काले जानकारी दिए ।

Advertisement

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया