अध्ययन अनुसन्धानमा लाग्न पत्रकारलाई पूर्वमुख्यमन्त्रीको सुझाव

समाधान संवाददाता २०७८ फागुन १९ गते १९:०२


पोखरा ।
नेकपा एमालेका केन्द्रीय उपमहासचिव एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकारहरु अध्ययन र अनुसन्धानमा लाग्नुपर्ने खाँचो ‌औंल्याएका छन् । आफूले पत्रकारिता गर्ने विषयमा ज्ञान राख्न उनले सुझाए ।


‘एमालेको विषयमा लेख्ने पत्रकारलाई एमालेको कार्यदिशा थाहा हुनुपर्छ, विधान थाहा हुनुपर्छ,’ उनले भने, ‘सांगठनिक ढाँचा थाहा हुनुपर्छ ।’ उनले प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशनको उदघाटनपछि बिहीबार उनले राष्ट्रिय पुँजीपतिको पक्षधरता राख्न पनि सुझाव दिए ।


प्रेस चौतारी नेपालका इन्चार्ज, पार्टीको प्रचार विभाग प्रमुखसमेत रहेका उनले अरु पत्रकार संस्थामा आवद्ध पत्रकारहरुले नवउदारवादी र दलाल पुँजीपतिहरुको पक्षपोषण गर्ने भनाइ राखे । नेताको वरिपरि घुम्ने र दादागिरी गर्ने काम पत्रकारले गर्न नहुने उनको सुझाव थियो । ‘प्रेस चौतारी नम्बरी सुन र अरु संगठन पित्तल हुन्,’ उनले भने ।

Advertisement


गण्डकी प्रदेशमा एमाले नेतृत्वको सरकार हुँदा थालेका एक घर एक धारा, घरघरमा बिजुली जस्ता कार्यक्रमको बजेट काटिएको बारे रिपोर्टिङ गर्नुपर्ने खाँचो पनि नेता गुरुङले औंल्याए । ‘हाम्रो सरकारले ९५ प्रतिशत राम्रो गर्दा पनि ५ प्रतिशत नराम्रो कहाँ छ भनेर अरु संगठन पत्रकारले लेख्दै हिँड्थे,’ उनले भने ।


एमालेक सचिव तथा गण्डकी इन्चार्ज पद्मा अर्यालले एमाले अध्यक्ष केपी शर्मा ओली सत्तामा आउने डरले गठबन्धनको सरकारले एमसिसी पास गरेको बताइन् । उनले प्रेस चौतारीका पत्रकारले एमालेप्रतिको भ्रम चिर्नुपर्नेमा पनि जोड दिइन् । एमाले पोलिटब्युरो सदस्य मना केसीले जनवर्गीय संगठनहरु बलियो हुनुपर्ने खाँचो औंल्याइन् ।

Advertisement


प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष गणेश पाण्डेले संगठनलाई बलियो, गतिशील र नेतृत्वदायी बनाउने कुरामा लाग्नुपर्ने आवश्यकता औंल्याए । एमाले प्रदेश कमिटी सदस्य नवराज शर्मा, प्रेस काउन्सिलका सदस्य दुर्गा भण्डारी, प्रेस चौतारी नेपाल गण्डकी प्रदेश इन्चार्ज रामकृष्ण शर्मा, प्रेस चौतारी नेपालका पूर्व वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्मा, प्रेस चौतारी कास्की अध्यक्ष अर्जुन गिरी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम प्रदेश कमिटी अध्यक्ष सुष्मा पौडेलको अध्यक्षतामा भएको थियो । कार्यक्रम सञ्चालन सचिव प्रकाशचन्द्र भट्टराईले गरेका थिए ।

पत्रकारहरुको सम्मान
प्रेस चौतारी र पत्रकारितामा योगदान गरेका पत्रकारहरुलाई अधिवेशन उद्घाटनका अवसरमा सम्मान गरिएको थियो । चौतारीका केन्द्रीय उपाध्यक्ष गणेश पाण्डे, गण्डकी प्रदेश इन्चार्ज रामकृष्ण शर्मा, सह–इन्चार्ज श्यामनाथ कुँवर, केन्द्रीय पूर्ववरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्मा, पूर्वउपाध्यक्ष शान्ति गुरुङ, पूर्व सचिव दुर्गा भण्डारी, कास्कीका संस्थापक अध्यक्ष पुण्य पौडेल, तनहुँका संस्थापक अध्यक्ष तारानाथ शर्मा, बागलुङका संस्थापक अध्यक्ष गोविन्द नेपाली, म्याग्दीका संस्थापक अध्यक्ष तारानाथ उपाध्याय, लमजुङका संस्थापक अध्यक्ष सुवास पौडेल, स्याङ्जाका संस्थापक अध्यक्ष राजेन्द्र डुम्रे, नवलपुरका संस्थापक अध्यक्ष होमनाथ जैसी, पर्वतका संस्थापक अध्यक्ष भोलानाथ शर्मा, गोरखाका संस्थापक कोषाध्यक्ष भीमलाल श्रेष्ठ, मुस्ताङका संस्थापक तिलक विक र मनाङका संस्थापक अध्यक्ष राजनबहादुर गुरुङलाई सम्मान गरिएको हो ।

तपाईको प्रतिक्रिया