समाजशास्त्री प्राडा पराजुलीले लिए स्वेच्छिक अवकास, अब के गर्लान् ?

समाधान संवाददाता २०७८ चैत १ गते १९:३०

पोखरा ।
पृथ्वीनारायण क्याम्पसको समाजशास्त्र विभागका प्रमुख प्राडा विश्वकल्याण पराजुलीले स्वेच्छिक अवकास लिएका छन् । ६३ वर्ष उमेर पुगेपछि अनिवार्य अवकास हुने भए पनि प्राडा पराजुलीले ६० वर्षमै अवकास लिएका हुन् ।

क्याम्पसमा मंगलबार आयोजित कार्यक्रममा विभागीय प्रमुख पराजुलीलाई विदाइ गरिएको थियो । त्यस अवसरमा क्याम्पस प्रमुख डा सरोज कोइरालाले मायाको चिनो हस्तान्तरणसहित विदाइ गरे । विभागका अरु सदस्यहरु, अन्य विभागका प्रमुख र विद्यार्थीहरुले प्राडा पराजुलीलाई उपहार र शुभकामना सहित विदाइ गरेका थिए ।

प्राडा पराजुलीले आफ्नो अवकास समाजशास्त्रबाट टाढा हुनका लागि नभएको बताए । उनले नियमित कक्षामा उपस्थित नहुने भए पनि समाजशास्त्रबाट विदा नहुने सुनाए । ‘६० देखि ८० वर्षको जीवन सक्रिय नै हुन चाहन्छु,’ उनले भने । क्याम्पस प्रमुख कोइरालाले क्याम्पसबाट विदा भई अरु क्षेत्रमा गए पनि पराजुलीको दक्षता र क्षमताबाट कास्की एवं पोखरालाई योगदान पुग्ने विश्वास व्यक्त गरे । पराजुलीले अनिवार्य अवकासको समय आउनुभन्दा धेरै वर्षअघि स्वेच्छिक अवकास लिएपछि भविष्यमा अब उनले कुन क्षेत्रमा आफूलाई सक्रिय बनाउलान् भन्ने प्रश्न उब्जिएको छ ।

Advertisement

उनले पराजुलीको अवकासपछि रिक्त विभागीय प्रमुखमा शिव थापालाई नियुक्त गरेको जानकारी दिए । थापालाई कोइरालाले नियुक्ति पत्रसमेत प्रदान गरे । नवनियुक्त विभागीय प्रमुख थापाले पराजुलीसँग सरसल्लाह गरी विभाग अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

समाजशास्त्र विभागका प्राध्यापक शंकर पौडेलले पराजुलीको विदाइपछि समाजशास्त्र विभागलाई धान्न सक्छौं कि सक्दैनौ भनेर घोत्लिनुपरेको अनुभव राखे । अर्का प्राध्यापक रामचन्द्र बरालले समाजशास्त्रीका रुपमा पहिचान बनाउन सक्नु पराजुलीको सफलता भएको विचार व्यक्त गरे । ‘उहाँले समाजशास्त्रीको परिचय बनाउनु नै यो विषयप्रति न्याय हो,’ उनले भने ।

Advertisement

जो कोहीले उत्तराधिकारी बनाउन नसक्ने भन्दै त्यस मामलामा पनि पराजुली सफल रहेको बरालको भनाइ थियो । ‘मत बझाउनेसँगै पनि काम गर्न र गराउन सक्ने उहाँको खुबी हो,’ बरालले भने । पराजुलीलाई अब स्टेट एजेन्सीले सदुपयोग गर्ने बरालको विश्वास थियो ।

मानवशास्त्र विभाग प्रमुख अर्जुन पोखरेलले ३० वर्ष सहयात्रा गर्ने अवसर पाएको सुनाए । ‘हामीले कमजोरी गर्दा सिधासिधी भन्नुहुन्थ्यो, गाली गरे पनि तत्काल सम्झाउनु हुन्थ्यो,’ उनले भने, ‘काममा अति खट्ने विभागीय प्रमुखमा उहाँ पर्नुहुन्छ ।’ उनले पोखराको विकास र योजनाका क्षेत्रमा पराजुलीको योगदान अतुलनीय रहेको भन्दै फेरि पनि राजनीतिक, सामाजिक क्षेत्रमा नेतृत्व लिने विश्वास व्यक्त गरे । प्राध्यापक शिवजी गुरुङ र विद्यार्थी प्रमिला बरालले पनि प्राडा पराजुलीसँग निकै धेरै ज्ञान हाँसिल गर्न पाउनु आफूहरुका लागि गर्वको कुरा भएको बताएका थिए ।

तपाईको प्रतिक्रिया