पाेखरामा मापदण्ड विपरीतका दुई पानी उद्योग सिल

सञ्जय रानाभाट २०७८ चैत ८ गते १०:१०

सञ्जय रानाभाट

पोखरा ।
मापदण्ड पूरा नगरेका पानी उद्योगमा कास्की प्रशासनले सिल गरिदिएको छ । सुभारु शुद्ध पिउने पानी र हिमालयन वाटर एन्ड आइस उद्योग सोमबार सिल गरिएको हो ।


स्वचालित मेसिनबाट पानीका बोतल बन्द गर्नुपर्नेमा हातैले गर्दै आएको लगायत कैफियत भेटिएप्छि अनुगमन टोलीले ती उद्योग सिल गरेको हो । टोलीले दुई उद्योगमा सिल गरी समय सीमाअघि नै प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका २०७४ पालना गर्न निर्देशन दिएको छ । बजार अनुगमन समितिका सदस्य रहेका उपभोक्ता अधिकारकर्मी कपिलनाथ कोइरालाका अनुसार उक्त निर्देेशिकामा पानीका बोतलको बिर्काे स्वचालित मेसिनबाट लगाउनुपर्ने प्रावधान छ ।

Advertisement


‘पानी बिक्री निर्देशिकामा जे जस्तो व्यवस्था छ । त्यो व्यवस्थाअनुसार उद्योग सञ्चालन गर्नुप¥यो । यी दुई उद्योगले मापदण्ड विपरीत पानी बिक्री गरेको देखिएकाले सिलबन्दी गरिएको हो,’ कोइरालाले भने ।


महतगौंडास्थित सुभारु शुद्ध पिउने पानीले सरसफाइमा ध्यान नदिएको, स्वचालित मेसिन जडान नगरेको, साथै नापतौल सामग्री नराखेको कोइरालाले बताए । कम्पनीले ल्याब टेस्ट नगरे पनि ल्याब टेस्टेड भनेर स्टीकर टाँसेर उपभोक्ता झुक्याएको पनि उनले सुनाए । कोइरालाले भने, ‘कम्पनीले २०७४ मा भएको निर्देशिका पनि पालना गरेको छैन । यसले मूल्य निधारण समितिले तोकेभन्दा पनि बढी मूल्य लिने गरेकाले कारबाही गरेका हौं ।’

Advertisement


सुभारु शुद्ध पिउने पानीलाई २०७५ सालमै स्वचालित मेसिन सञ्चालनमा ल्याउन प्रशासनले निर्देशन गरेको अनुगमनमा खटिएका खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रमुख शिवजी बरालले बताए । ‘टोलीले पटकपटक आएर सुझाव दियौं । तर, बारम्बार आउँदा भन्सारमा आएर अड्केको छ भनेर उपभोक्तालाई भुक्काउने र अनुगमन टोलीलाई इमोसनमा पार्ने गर्दै आएकाले उपभोक्ताको स्वास्थ्यलाई हितमा राखेर कम्पनी सिल गर्ने निर्णय गरेको हौं,’ बरालले भने ।


उद्योगले हातबाट बोतलमा पानी भर्ने, हातले बिर्के लगाउने, हातले नै मूल्य र मिति लेख्ने राख्ने गर्दै आइरहेको थियो । उक्त उद्योगले दैनिक ३ सय कार्टुन पानी बिक्री गर्दै आएको कम्पनीकै एक कर्मचारीले सुनाएका थिए । ‘यो सबै काम हातबाटै हुन्छ अनि ग्राहकको घर–घर दोकानदोकान पुर्‍याउँछौं । साहुले जे गरायो, हामीहरुले त्यही गर्नुपर्छ,’ उनले भने ।


हिमालय वाटर कम्पनीलाई पनि अनुगमन टोलीले कारबाही गरेको छ । मिनी अटोमेटिक मेसिनबाट बोतलमा पानी भर्दै आइरहेकाले कम्पनीलाई टोलीले सिलबन्दी गरेको हो । कम्पनीले केही महिनाबाट बोलतको बेच्ने काम बन्द गर्दै आएको बताएको थियो । पोखरा महानगरपालिका ४ गैरापाटनमा सञ्चालन हुँदै आएको यो पानी उद्योगले पनि निर्देशिका अनुसार काम नगरेको भन्दै सिल गरिएको बरालले बताए । कम्पनीले मूल्य सूची नटाँसेको र खाद्य अनुज्ञापत्र नलिएको साथै निर्देशिका पालना नगरेको उनले सुनाए । ‘सिलबन्दी नाघेर काम गरे थप कारबाही हुन्छ । अटोमेटिक मेसिन ल्याएको दिनमै हामीहरु सिल खोल्छौं,’ उनले भने ।


अनुगमन टोलीमा कोइराला, बराल, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रेमप्रसाद रेग्मी, उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण निर्देशनालयका प्रदीप रेग्मी, नापतौल तथा गुणस्तर कार्यालयका प्रतिनिधि रघु पौडेल लगायत संलग्न थिए ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया