पृथ्वी यातायातले २० प्रतिशत भाडा बढायो

समाधान संवाददाता २०७८ चैत १० गते १३:२६

पोखरा ।
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले सार्वजनिक सवारीमा २० प्रतिशत भाडा बढाउने भएको छ । मंगलबार कास्कीका प्रमुख जिल्ला अधिकारीलाई सार्वजनिक सवारीमामा २० प्रतिशत भाडा बढाएर सवारी सञ्चालन गर्ने भन्दै जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन बुझाएको छ ।


प्रालिका अध्यक्ष योगेन्द्र केसीले इन्धनको मूल्य वद्धि हुँदा पनि भाडा नबढाइएको भन्दै इन्धन वृद्धिको आधारमा २० प्रतिशतसम्म भाडा बढाइने बताए । ‘पेट्रोलको मूल्य वृद्धि हुँदा भाडा बढाउने भने पनि हालसम्म भाडा बढाइएको छैन । भाडा समायोज नहुने बेला चैत १५ सम्म इन्धनमा मूल्य वृद्धिको आधारमा २० प्रतिशत भाडा बढाएर सवारी सञ्चालन गर्ने निर्णय गरेका छौं,’ केसीले भने । अघिल्लो पटक भाडा समायोजनपछि पेट्रोलको मूल्य ३१ रुपैयाँ बढिसकेको उनको भनाइ छ ।


पृथ्वीको ज्ञापन पत्रमा भनिएको छ, ‘सरकारले २०६५ सालमा वैज्ञानिक भाडादर पुनरावलोकन समिति गठन गरेको र उक्त समितिको प्रतिवेदनको आधारमा २ भागमा वर्गीकरण गरी १८ वटा तत्वको आधारमा ६५ प्रतिशत र ३५ प्रतिशत इन्धनलाई आधारमा ६५ प्रतिशतका आधारमा २०६९ सालेदेखि समायोजन हुन नसकेको भाडा झण्डै ९ वर्षको अन्तरालमा मात्र २०७८ असार २९ गते संघीय सरकारको निर्णय बमोजिम अन्तर प्रदेश सञ्चालन हुने सवारी साधनमा लागू हुने गरी २८ प्रतिशतका दरले बसभाडा समायोजन भयो ।’

Advertisement


समायोजन हुँदाको बखतको इन्धनको मूल्य १ सय ७ रुपैयाँ रहेको विज्ञप्तिमा उल्लेख छ । त्यति बेला समितिले इन्धनमा ५ रुपैयाँ वृद्धि हुँदा भाडा वृद्धि गर्ने जनाएको केसीले स्मरण गरे । उनले समयसापेक्ष तथा वैज्ञानिक भाडादरको सिद्धान्त लागू नभएको आरोप लगाए ।


‘सरकार उदासीन रहेकाले हडताल जस्ता अमानवीय तथा अप्रिय क्रियाकलाप गर्नुभन्दा भाडा वृद्धि गरी सेवा सञ्चालन गर्ने निर्णय गरेका छौं,’ ज्ञापनपत्रमा उल्लेख छ ।

Advertisement

तपाईको प्रतिक्रिया